डन्डीफोर ( Acne )
डन्डीफोर एउटा सामान्य छालाको समस्या हो जुन धेरै मान्छेलाई हुन्छ - खासगरी किशोरावस्थामा, तर यो जुनसुकै उमेरमा पनि देखा पर्न सक्छ। हाम्रो छालामा साना-साना प्वाल हुन्छन् जसलाई रौंको जरा (hair follicle) भनिन्छ। यही जरासँग जोडिएका हुन्छन् सिबेसियस ग्रन्थि (sebaceous glands) भनिने साना ग्रन्थिहरू। यी ग्रन्थिहरूले सिबम (sebum) नामको प्राकृतिक तेलिलो पदार्थ बनाउँछन्, जसले सामान्यतः छाला र रौंलाई नम र स्वस्थ राख्छ।
डन्डीफोर सुरु हुँदा यी ग्रन्थिहरूले छालालाई आवश्यकभन्दा बढी सिबम उत्पादन गर्न थाल्छन्। यो अतिरिक्त सिबम मरेका छालाका कोशहरूसँग मिसिन्छ र रौंको जरामा अड्किएर बन्द गरिदिन्छ। यही अवरोधका कारण छालामा दाग र डन्डीफोर देखिन्छन्। यो प्रक्रिया बुझ्दा डन्डीफोर किन हुन्छ र यसलाई कसरी सामान्य गर्न सकिन्छ भन्ने कुरा थाहा पाउन सजिलो हुन्छ।
लक्षणहरू
डन्डीफोर छालामा विभिन्न रूपमा देखिन सक्छ। सामान्य लक्षणहरूमा यी पर्छन्:
ब्ल्याकहेड्स: छालाको सतहमा खुला रूपमा देखिने साना कालो थोप्लाहरू।
ह्वाइटहेड्स: छालामुनि बन्द रूपमा रहने साना सेता वा छालाको रङसँग मिल्दोजुल्दो दानाहरू।
पिम्पल्स: राता र दुख्ने दानाहरू, जसको बीचमा कहिलेकाहीँ सेतो टुप्पो हुन्छ।
नोड्युल्स र सिस्ट्स: छालामुनि गहिरो र दुख्ने गाँठाहरू। नोड्युल्स कडा र ठोस हुन्छन्। सिस्ट्स अलि नरम हुन्छन् र भित्र पिप भरिएको हुन्छ।
रातोपन र सूजन: दानाको वरिपरिको छाला राता देखिन सक्छ र छुँदा दुख्ने वा संवेदनशील महसुस हुन सक्छ।
खतराका संकेत

डन्डीफोर सामान्यतया आपतकालीन अवस्था होइन, तर केही लक्षण देखिएमा चाँडै डाक्टरकहाँ जानु जरुरी हुन्छ।
यदि एकैपटक धेरै ठूला, गहिरा र पीडादायी गाँठाहरू वा पिपभरिएका दानाहरू निस्किन थाले भने, वा पिम्पल अचानक धेरै गम्भीर रूपमा बढ्यो भने, चाँडै डाक्टरलाई देखाउनुस्। त्यस्तै, पिम्पल छिटोछिटो फैलिँदै वा बढ्दै गएमा, धेरै दुखाइ भएमा, वा सामान्य स्वास्थ्य नै बिग्रिएको जस्तो महसुस भएमा पनि चिकित्सकको सहायता लिनुस्।
घरमै गर्न सकिने हेरचाह
दैनिक जीवनमा केही सानासाना बानी अपनाएर पिम्पलको समस्यालाई राम्रोसँग नियन्त्रण गर्न सकिन्छ। दिनमा दुई पटक मुख धुनुहोस् - मृदु (gentle) क्लिन्जर र मनतातो पानी प्रयोग गर्नुहोस्। छाला घोट्ने वा कडा रगड्ने काम नगर्नुहोस्, किनकि यसले छाला झनै जिरजिराउँछ र पिम्पल बढ्न सक्छ।
पिम्पल कहिल्यै नथिच्नुहोस्, निचोर्नुहोस् वा फोड्नुहोस्। यसो गर्दा ब्याक्टेरिया (संक्रमण गराउने जीवाणु) छालाभित्र झन् गहिरो पस्छ, सुन्निन्छ, र स्थायी दाग रहन सक्छ।
मेकअप, सनस्क्रिन वा मोइस्चराइजर किन्दा "non-comedogenic" लेखिएको उत्पादन रोज्नुहोस्। यस्ता उत्पादनहरू छालाका छिद्र (pores) बन्द नगर्ने गरी बनाइएका हुन्छन्।
कपाल तेलिलो हुने गर्छ भने नियमित रूपमा धुनुहोस् र विशेषगरी सुत्दा चिल्लोपना अनुहारमा पर्न नदिनुहोस।
घामको बढी सम्पर्कबाट छाला जोगाउनुहोस्। धेरै घामले पिम्पल झन् बढाउन सक्छ र दाना निको भइसकेपछि कालो दाग छोड्न सक्छ। दैनिक प्रयोगका लागि non-comedogenic सनस्क्रिन रोज्नुहोस्।
पर्याप्त पानी पिउनुहोस् र सन्तुलित खाना खानुहोस्। खानपिनले सीधै पिम्पल ल्याउँछ भन्न नसकिए पनि, राम्रो पोषण र शरीरमा पर्याप्त पानी रहँदा छाला स्वस्थ रहन्छ।
आफ्नो दैनिक जीवनमा तनाव कम गर्ने कोसिस गर्नुहोस्। तनावले केही मान्छेमा पिम्पल सुरु हुन वा बढ्न सक्छ। नियमित व्यायाम, मनपर्ने सौख वा आराम दिने अन्य बानीहरूले तनाव कम राख्न मद्दत गर्छन्।
उपचार
उपचार - यो जानकारी सामान्य स्वास्थ्य जानकारीका लागि मात्र हो। यसलाई डाक्टरको सल्लाह, जाँच, निदान, उपचार वा आपतकालीन सेवाको विकल्पका रूपमा प्रयोग गर्नु हुँदैन।
याद राख्नुपर्ने महत्वपूर्ण कुराहरू
धेरैजसो उपचारले फरक देखाउन छ देखि आठ हप्ता लाग्छ। धेरै चाँडैनै ऊपचार बन्द नगर्नुहोस्।
चिकित्सकले लेखिदिएको औषधि अरू कसैलाई कहिल्यै नदिनुहोस्।
कुनै पनि उपचार कति दिन गर्ने भन्ने चिकित्सकको निर्देशन सधैं पालना गर्नुहोस्।
छाला सुध्रिएन वा झन् बिग्रिँदै गयो भने धेरैथरिका कस्मेटिक क्रिमहरु आफैँ प्रयोग गर्नुभन्दा पनि चिकित्सककहाँ गएर देखाउनुहोस।
धेरैजसो डन्डीफोरका अवस्थाहरू राम्रोसँग नियन्त्रण गर्न सकिन्छ, र डन्डीफोर हल्का छ वा गम्भीर - त्यसअनुसार उपचारका विभिन्न तरिकाहरू उपलब्ध छन्।
हल्का डन्डीफोर
ब्ल्याकहेड्स, ह्वाइटहेड्स वा थोरै दानाहरूको लागि, सुरुमा पसलमा पाइने skincare उत्पादनहरू प्रयोग गर्न सकिन्छ। Benzoyl peroxide वा salicylic acid भएका उत्पादनहरू खोज्नुहोस्। यी तत्वहरूले छालाका रोमछिद्रहरू खुला गर्न, छालामा ब्याक्टेरिया कम गर्न र सूजन घटाउन मद्दत गर्छन्। यी wash, gel र cream का रूपमा पाइन्छन्। नतिजा देखिन सामान्यतया केही हप्ता लाग्छ, त्यसैले धैर्य राखेर नियमित रूपमा प्रयोग गर्नुहोस्।
मध्यम डन्डीफोर
यदि पसलमा पाइने उत्पादनहरूले काम नगरेमा, चिकित्सकले थप शक्तिशाली उपचार लेखिदिन सक्नुहुन्छ। यसमा समावेश हुन सक्छन्:
छालामा सिधै लगाउने उपचार (topical treatments), जस्तै retinoids वा एन्टिबायोटिक क्रिम - जसले बन्द भएका रोमछिद्रहरू सफा गर्न र संक्रमण कम गर्न मद्दत गर्छन्।
एन्टिबायोटिक चक्की , जुन एक निश्चित अवधिसम्म खाँदा छालाभरि ब्याक्टेरिया र सूजन कम गर्न सहयोग गर्छ।
गम्भीर वा लामो समयसम्म रहने डन्डीफोर
गहिरा र दुखाइ दिने गाँठाहरू (cysts वा nodules) जुन अरू उपचारले ठीक नभएमा, चिकित्सकले छालाका विशेषज्ञकहाँ जान सक्नुहुन्छ। गम्भीर अवस्थामा कहिलेकाहीं isotretinoin नामक औषधि दिइन्छ। यो औषधि निकै प्रभावकारी छ, तर सम्भावित साइड इफेक्टका कारण यसलाई चिकित्सकको नजिकी निगरानीमा मात्र प्रयोग गर्नुपर्छ।
हर्मोन सम्बन्धी उपचार
केही मान्छेमा, विशेष गरी महिलाहरूमा, डन्डीफोर हर्मोनको उतारचढावसँग जोडिएको हुन्छ। त्यस्तो अवस्थामा चिकित्सकले हर्मोन सन्तुलन गर्न मद्दत गर्ने विकल्पहरूबारे कुरा गर्न सक्नुहुन्छ।
डाक्टरलाई सोध्न मिल्ने प्रश्नहरू

डन्डीफोर बारे डाक्टरलाई सोध्न सकिने प्रश्नहरू
अपोइन्टमेन्टमा जानुअघि केही प्रश्नहरू तयार गरेर लैजानुभयो भने डाक्टरसँगको भेट अझ उपयोगी हुन्छ। तल दिइएका प्रश्नहरू सोध्न सक्नुहुन्छ:
डन्डीफोर बारे
मलाई कस्तो किसिमको डन्डीफोर छ, र यो कति गम्भीर छ?
मेरो डन्डीफोर किन भएको हो - के यो हर्मोनको कारणले हो, छालाको प्रकृतिले हो, वा अरू कुनै कारण छ?
मैले खाइरहेका कुनै औषधिले डन्डीफोर झन् बढाउन सक्छ?
उपचारबारे
मेरो लागि कस्ता उपचारका विकल्पहरू छन्?
सुधार देखिन कति समय लाग्छ?
तपाईंले गर्नुभएको उपचारका कुनै साइड इफेक्ट छन् जसबारे मैले ध्यान दिनुपर्छ?
उपचारले काम नगरेजस्तो लागेमा के गर्नुपर्छ?
दैनिक बानी-व्यवहारबारे
मेरो छालाको प्रकृतिअनुसार कुन स्किनकेयर उत्पादनहरू प्रयोग गर्नु उचित हुन्छ?
मेरो खानपान वा जीवनशैलीमा कुनै कुरा छ जसले डन्डीफोर लाई असर गरिरहेको छ?
दाग पर्ने जोखिम कम गर्न के गर्न सकिन्छ?
फलो-अपबारे
कति दिनमा फेरि जाँच गराउन आउनुपर्छ?
कुनै लक्षण देखिएमा छिट्टै आउनुपर्छ वा तुरुन्त उपचार लिनुपर्छ - त्यस्तो अवस्था कुन हो?
डन्डीफोर ले तपाईंको आत्मविश्वास वा मानसिक स्वास्थ्यमा असर पारिरहेको छ भने डाक्टरलाई खुलेर भन्न नहिचकिचाउनुहोस् - यस विषयमा पनि उहाँले सहयोग गर्न सक्नुहुन्छ।
नेपालमा उपचारको बाटो
नेपालमा लक्षण गम्भीर, बढ्दै गएको, चिन्ताजनक वा निको नभएको छ भने नजिकको स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, क्लिनिक वा अस्पतालमा स्वास्थ्यकर्मीसँग सल्लाह लिनुहोस्। अघिल्ला prescription, test report, allergy जानकारी र हाल खाइरहेका औषधि साथमा लैजानुहोस्। खतराका संकेत छन् भने तुरुन्त स्वास्थ्य संस्था वा अस्पताल जानुहोस्।
महत्त्वपूर्ण सूचना
यो जानकारी सामान्य स्वास्थ्य जानकारीका लागि मात्र हो। यसलाई डाक्टरको सल्लाह, जाँच, निदान, उपचार वा आपतकालीन सेवाको विकल्पका रूपमा प्रयोग गर्नु हुँदैन।