समीक्षित मार्गदर्शिका
Piles (haemorrhoids)

हेमोरोइड्स / पाइल्स /हर्षा / बाबासीर (haemorrhoids)

सामान्यतया 'पाइल्स' (Piles) भनिने हेमोरोइड्स मलद्वारको भित्र वा वरिपरि रहेका रगतका नसाहरू सुन्निने वा फुल्ने समस्या हो। भित्री पाइल्स मलद्वारको भित्री भागमा हुन्छन् भने बाहिरी पाइल्स मलद्वार वरपरको छालामुनि बन्दछन्। यसले गर्दा दिसा गर्दा रगत बग्ने, चिलाउने, असजिलो हुने वा मासुको डल्ला जस्तो देखिने हुन सक्छ, यद्यपि केही मानिसहरूमा कुनै लक्षण नदेखिन पनि सक्छ।

कब्जियत हुनु, दिसा गर्दा बारम्बार बल गर्न पर्नु, शौचालयमा लामो समय बस्नु, गर्भावस्था र मलद्वार वरपर दबाब बढ्नु पाइल्सका कारणहरू हुन्। मलद्वारबाट रगत आउनेबित्तिकै पाइल्स नै भएको हो भनेर स्वतः ठान्नु हुँदैन, किनकि कहिलेकाहिँ आन्द्राका अन्य समस्याहरूले पनि यस्तै लक्षणहरू गराउन सक्छन्।

लक्षणहरू

Piles (haemorrhoids) - Symptoms

पाइल्स (Haemorrhoids) मा यस्ता लक्षणहरू देखिन सक्छन्:

दिशा गरेपछि, ट्वाइलेट pan मा वा ट्वाइलेट पेपरमा चम्किलो रातो रगत देखिने

मलद्वार वरिपरि चिलाउने, पोल्ने, सुन्निने वा दुख्ने

मलद्वार वरिपरि एउटा वा धेरै कमलो गीर्खाहरू देखिने

दिशा गरेपछि सिंगानजस्तो चिप्लो पदार्थ निस्किने

पेट राम्ररी सफा नभएको वा दिशा पुरै नभएको जस्तो महसुस हुने

दिशा गर्दा मलद्वारबाट गीर्खा बाहिर निस्किने र पछि आफैँ भित्र जाने

असजिलो हुने वा दुख्ने, विशेष गरी बाहिरी पाइल्समा रगतको डल्लो जमेको छ भने

भित्री पाइल्स (Internal haemorrhoids) मा खासै दुखाइ नभई प्रायजसो रगत मात्र बग्ने गर्छ। बाहिरी पाइल्स (External haemorrhoids) ले भने पोल्ने, चिलाउने वा दुखाइ गराउने सम्भावना बढी हुन्छ।

खतराका संकेत

यदि तपाईँमा निम्न लक्षणहरू छन् भने तुरुन्तै आपतकालीन स्वास्थ्य सेवा लिनुहोस्:

मलद्वारबाट धेरै वा लगातार रगत बग्ने

रगतका ठूला डल्ला जाने वा कमोड वा शौचालयको पानी रातो हुने

कालो, अलकत्रा जस्तो दिसा आउने

रगत आउनेसँगै बेहोस हुने, धेरै रिँगटा लाग्ने, अलमल पर्ने, सास फेर्न गाह्रो हुने वा अत्यधिक कमजोरी महसुस हुने

मलद्वारमा कडा दुखाइसँगै जोरो आउने, पीप आउने, रातोपना चाँडै फैलिँदै जाने वा धेरै सुन्निने

पेट निकै दुख्ने, पटक-पटक बान्ता हुने वा दिसा र ग्याँस रोकिने

निम्न अवस्थामा यथाशीघ्र डाक्टरकहाँ जाँच गराउनुहोस्:

मलद्वारबाट रगत आउने समस्या नयाँ हो, पटक-पटक दोहोरिन्छ वा कारण थाहा छैन

रगत दिसाको सतहमा मात्र नभई दिसामा राम्ररी मिसिएको देखिन्छ

बिना कुनै कारण तौल घटिरहेको छ, पेट लगातार दुखिरहन्छ वा अस्वाभाविक थकान महसुस हुन्छ

दिसा गर्ने बानीमा परिवर्तन आएको छ र यो उस्तै रहिरहेको छ

लक्षणहरू दोहोरिइरहन्छन् वा घरमै गरिने हेरचाहले पनि निको हुँदैनन्

तपाईँ रगत पातलो बनाउने औषधि खाइरहनुभएको छ वा रगत बग्ने वा नजम्ने समस्या छ

उचित स्वास्थ्य परीक्षण नगरी रगत आउनुलाई "पाइल्स मात्र हो" भनेर नसोच्नुहोस्, विशेष गरी जब यो समस्या नयाँ छ वा अरू लक्षणहरूसँगै देखिएको छ। यसका अन्य सम्भावित कारणहरूमा Anal Fissure (मलद्वार चिरिने समस्या), आन्द्राको सुन्निने समस्या, Polyps (आन्द्राभित्र मासुका साना डल्ला पलाउने अवस्था) र आन्द्राको क्यान्सर पनि हुनसक्छन्।

घरमै गर्न सकिने हेरचाह

कब्जियत कम गर्दा र दिसा गर्दा बल गर्नु नपर्दा पाइल्सका सामान्य लक्षणहरू प्रायः आफैं सुधार भएर जान्छन्।

सागसब्जी, फलफूल, दाल, गेडागुडी, चना, बदाम र अरु फाइबरयुक्त खाना धेरै खानुहोस्।

पेट फुल्ने र असजिलो हुने समस्याबाट बच्न फाइबरको मात्रा बिस्तारै-विस्तारै बढाउनुहोस्।

स्वास्थ्यकर्मीले पानी वा तरल पदार्थ कम पिउन सल्लाह दिएका छैनन् भने प्रशस्त पानी र अन्य झोल कुराहरू पिउनुहोस्।

दिसा आएको महसुस हुनेबित्तिकै शौचालय जानुहोस्, रोकेर नराख्नुहोस्।

दिसा गर्दा बल नगर्नुहोस् र शौचालयमा धेरै बेर बसिरहने बानी हटाउनुहोस्।

मलद्वार वरिपरिको भाग सफा राख्नुहोस् र पुछ्दा रगड्नुको सट्टा बिस्तारै थिचेर सुकाउनुहोस्।

मनतातो पानीमा बस्नाले वा कपडामा बेरेको बरफले सेक्नाले असजिलोपन कम हुन सक्छ।

सम्भव भएसम्म शारीरिक रूपमा सक्रिय रहनुहोस्।

छोटो समयका लागि उपयुक्त दुखाइ कम गर्ने औषधि, क्रिम वा सपोजिटरी (suppositories) को बारेमा स्वास्थ्यकर्मीसँग सल्लाह लिनुहोस्।

कोडिन (codeine) युक्त दुखाइ कम गर्ने औषधिले कब्जियत बढाउँछ भने तिनको प्रयोग नगर्नुहोस्।

स्टेरोइड (steroid) युक्त पाइल्सका क्रिमहरू सल्लाह दिएभन्दा बढी समयसम्म पटक-पटक प्रयोग नगर्नुहोस्।

मलद्वारमा आएको डल्लालाई आफैं काट्ने, निचोर्ने, घोच्ने वा भित्रको तरल पदार्थ निकाल्ने प्रयास नगर्नुहोस्।

फाइबर र तरल पदार्थले दिसालाई नरम र खुकुलो बनाउन मद्दत गर्छन्, जसले गर्दा दिसा गर्दा बल गर्नु पर्दैन र दबाब पनि कम हुन्छ।

उपचार

Piles (haemorrhoids) - Treatment

स्वास्थ्यकर्मीले प्रभावित क्षेत्रको जाँच गर्न सक्नुहुन्छ र कहिलेकाहीँ मलद्वारभित्र औंला राखेर बिस्तारै जाँच गर्न वा सानो औजारको प्रयोग गरेर भित्री भाग हेर्न सक्नुहुन्छ। रगत बग्नुको कारण थाहा नभएमा वा अन्य कुनै कारणको शंका लागेमा आन्द्राको थप जाँच गर्नुपर्ने हुन सक्छ।

उपचारको छनोट पाइल्सको प्रकार, आकार र गम्भीरतामा भर पर्छ:

सुरुमा सामान्यतया जीवनशैलीमा परिवर्तन र कब्जियतको उपचार गर्ने प्रयास गरिन्छ।

क्रिम, मलम वा सपोजिटरी (मलद्वारमा राखिने औषधि) ले दुखाइ, सुन्निने वा चिलाउने समस्याबाट केही समयका लागि राहत दिन सक्छन्, तर यिनले पाइल्सलाई स्थायी रूपमा हटाउँदैनन्।

कब्जियतका कारण समस्या भएको हो भने दिसा खुकुलो वा नरम बनाउने औषधिको प्रयोग गर्न सल्लाह दिइन सक्छ।

रबर-ब्यान्ड लाईगेशन (Rubber-band ligation) विधिमा भित्री पाइल्समा सानो रबरको ब्यान्ड लगाइन्छ, जसले गर्दा त्यहाँ रगतको प्रवाह कम हुन्छ।

भित्री पाइल्सलाई सुकाउन वा सानो बनाउन इन्जेक्सन, इन्फ्रारेड प्रविधि, इलेक्ट्रोथेरापी वा अन्य उपायहरू प्रयोग गर्न सकिन्छ।

पाइल्स धेरै ठूलो भएमा, बारम्बार बाहिर निस्कने भएमा, धेरै गम्भीर लक्षणहरू देखिएमा वा अन्य उपचारबाट निको नभएमा शल्यक्रिया गर्न सकिन्छ।

पाइल्स भएका हरेक व्यक्तिलाई कुनै प्रविधि वा शल्यक्रिया नै चाहिन्छ भन्ने छैन। रोगको सही पहिचान गरेपछि र रगत बग्ने अन्य गम्भीर कारणहरू छैनन् भन्ने पक्का भएपछि मात्र उपयुक्त उपचार रोज्नुपर्छ।

डाक्टरलाई सोध्न मिल्ने प्रश्नहरू

के मेरा लक्षणहरू पाइल्सले गर्दा हुन् कि आन्द्रासम्बन्धी अर्कै समस्याले?

मलाई भित्री पाइल्स छ, बाहिरी पाइल्स छ कि दुवै छ?

दिसा गर्दा रगत आउने समस्याको थप जाँच गराउनुपर्छ कि?

के कब्जियत वा अन्य कुनै औषधिले गर्दा यो समस्या बढेको हुन सक्छ?

मेरो लागि कुन क्रिम, suppository (मलद्वारमा राख्ने औषधि) वा कब्जियतको उपचार उपयुक्त हुन्छ?

मैले यो उपचार कति समयसम्म प्रयोग गर्नुपर्छ?

के rubber-band treatment (रबर-ब्यान्ड प्रविधि) वा अन्य कुनै उपचार विधिले सहयोग पुर्याउँछ?

कस्ता लक्षणहरू देखिएमा म तुरुन्तै डाक्टरकहाँ आउनुपर्छ?

पाइल्स फेरि दोहोरिने सम्भावनालाई कसरी कम गर्न सकिन्छ?

नेपालमा उपचारको बाटो

नेपालमा लक्षण गम्भीर, बढ्दै गएको, चिन्ताजनक वा निको नभएको छ भने नजिकको स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, क्लिनिक वा अस्पतालमा स्वास्थ्यकर्मीसँग सल्लाह लिनुहोस्। अघिल्ला prescription, test report, allergy जानकारी र हाल खाइरहेका औषधि साथमा लैजानुहोस्। खतराका संकेत छन् भने तुरुन्त स्वास्थ्य संस्था वा अस्पताल जानुहोस्।

महत्त्वपूर्ण सूचना

यो जानकारी सामान्य स्वास्थ्य जानकारीका लागि मात्र हो। यसलाई डाक्टरको सल्लाह, जाँच, निदान, उपचार वा आपतकालीन सेवाको विकल्पका रूपमा प्रयोग गर्नु हुँदैन।

यो निर्देशिका सुधार्न सहयोग गर्नुहोस्

के तपाईंले यस निर्देशिकामा कुनै त्रुटि देख्नुभयो वा यसबारे हामीलाई कुनै सुझाव दिन चाहनुहुन्छ? HamroSwasthya टोलीलाई सन्देश पठाउनुहोस्।