लेक लाग्नु / उचाइका कारण हुने समस्या (Altitude sickness)
सामान्यतया २,५०० मिटरभन्दा माथिको उचाइमा, शरीरलाई कम अक्सिजन स्तरमा समायोजन गर्न पर्याप्त समय नहुँदा र धेरै छिटो उचाइ चढ्दा जोखिम बढ्छ र लेक लाग्न सक्छ। नेपालका हिमाली क्षेत्रहरूमा पदयात्रा वा यात्रा गर्ने व्यक्तिमा यो समस्या देखिन सक्छ। शरीर बलियो वा नियमित व्यायाम गर्ने व्यक्तिमा पनि लेक लाग्न सक्छ।
सुरुको हल्का अवस्थालाई acute mountain sickness भनिन्छ। समयमै सावधानी नअपनाएमा यसले मस्तिष्क सुन्निने वा फोक्सोमा पानी जम्ने र ज्यान नै जोखिममा पार्ने अवस्था सम्म गराउन सक्छ।
लक्षणहरू

अग्लो ठाउँ पुगेको वा पहिलेभन्दा माथिल्लो स्थानमा रात बिताएको केही घण्टापछि लक्षण सुरु हुन सक्छन्। यसमा:
टाउको दुख्नु
चक्कर लाग्नु वा रिङ्गटा लागेजस्तो हुनु
असामान्य थकान वा कमजोरी महसुस हुनु
भोक कम लाग्नु
वाकवाकी लाग्नु वा बान्ता हुनु
निद्रा राम्रो नलाग्नु
हिँड्दा वा काम गर्दा सास फेर्न गाह्रो हुनु
समग्रमा अस्वस्थ महसुस हुनु
यी लक्षणहरु शरीरमा पानीको कमी, अत्यधिक थकान, माइग्रेन वा संक्रमणजस्ता अन्य समस्याहरु सँग पनि मिल्न सक्छन्। लक्षण हुँदा हुदै अझ माथि चढ्नु हुँदैन।
खतराका संकेत
तलका कुनै लक्षण देखिएमा तुरुन्त तल ओर्लनुहोस र आकस्मिक सहायता खोज्नुहोस्:
आराम गरिरहेको अवस्थामा पनि सास फेर्न गाह्रो हुनु
लगातार खोकी लाग्नु, विशेष गरी फिँजजस्तो वा रगत मिसिएको खकार आउनु
छाती कस्सिएको महसुस हुनु वा अत्यधिक कमजोरी हुनु
अलमलिनु, असामान्य व्यवहार गर्नु वा नभएको कुरा देख्नु/सुन्नु (hallucination)
सीधा हिँड्न नसक्नु, सन्तुलन बिग्रिनु वा शरीरको तालमेल गुम्नु
टाउको दुखाइ झन् बढ्दै जानु
अत्यधिक निद्रालु हुनु वा उठाउन गाह्रो हुनु
ओठ, जिब्रो, छाला वा नङ निलो, खैरो वा असामान्य रूपमा फिक्का देखिनु
ढल्नु, झट्का आउनु वा बेहोस हुनु
यी लक्षण मस्तिष्क सुन्निएको वा फोक्सोमा पानी जमेको संकेत हुन सक्छन्। बिहानसम्म पर्खिनु हुँदैन अनि औषधिमा मात्र पनि भर पर्नु हुँदैन। सुरक्षित रूपमा सक्दो छिटो तल ओर्लनुहोस र बिरामीलाई एक्लै नछोड्नुहोस्।
घरमै गर्न सकिने हेरचाह

हल्का लक्षण भएमा:
अझ माथि नचढ्नुहोस् र आफ्नो साथीसँग आफू अस्वस्थ भएको कुरा जानकारी गर्नुहोस।
त्यही उचाइमा आराम गर्नुहोस् र धेरै परिश्रम नगर्नुहोस्।
पर्याप्त पानी वा झोलिलो पदार्थ पिउनुहोस्, तर जबरजस्ती अत्यधिक पानी नपिउनुहोस्।
मदिरा र निद्रा लगाउने औषधिबाट बच्नुहोस्।
आफूलाई सुरक्षित हुने दुखाइ वा वाकवाकी कम गर्ने औषधि मात्र प्रयोग गर्नुहोस्।
सबै लक्षण पूर्ण रूपमा निको नभएसम्म माथि नचढ्नुहोस्।
लक्षण बढेमा वा करिब एक दिनसम्म पनि सुधार नभएमा सामान्यतया ३०० देखि १,००० मिटर तल ओर्लनुहोस।
बिच बिचमा आराम गर्ने दिनहरू सहित बिस्तारै उकालो चढेर र एक दिनमा सुत्ने ठाउँको उचाइमा ठूलो वृद्धि नगर्नुहोस एसले जोखिम कम हुन्छ। पहिले लेक लागेको, वा मुटु, फोक्सो वा अन्य गम्भीर स्वास्थ्य समस्या भएको व्यक्तिले हिमाली भेग यात्रा गर्नुअघि स्वास्थ्यकर्मीसँग सल्लाह लिनु उपुक्त हुन्छ।
उपचार
लक्षणहरु बढ्दै गएको वा गम्भीर लेक लागेको अवस्थामा सबैभन्दा महत्वपूर्ण उपचार सकेसम्म चाँडो तल्लो उचाइमा ओर्लनु हो। उपलब्ध भएमा अक्सिजनपनि दिन सकिन्छ। मस्तिष्क वा फोक्सोमा असर परेको छ कि छैन भन्ने आधारमा तालिमप्राप्त स्वास्थ्यकर्मीले acetazolamide, dexamethasone वा अन्य औषधि प्रयोग गर्न सक्छन्।
दुर्गम क्षेत्रमा उद्धार, बोक्ने व्यवस्था, पोर्टेबल अक्सिजन वा विशेष pressure bag आवश्यक पर्न सक्छ। औषधि खाएर लक्षणलाई दबाउँदै अझ माथि चढ्नु आफ्नो ज्यानको लागि खतरनाक हुन्छ।
डाक्टरलाई सोध्न मिल्ने प्रश्नहरू
मैले जाने स्थान र बाटोमा लेक लाग्ने जोखिम कतिको छ?
के पहिले लेक लागेको कारण यसपटक जोखिम बढी हुन्छ?
मेरो मुटु, फोक्सो वा अन्य स्वास्थ्य समस्या लिएर अग्लो ठाउँ जान सुरक्षित छ?
रोकथाम वा आकस्मिक प्रयोगका लागि औषधि बोक्नुपर्छ?
अग्लो ठाउँमा कुन औषधि प्रयोग नगर्नु राम्रो हुन्छ?
कुन लक्षण देखिएपछि यात्रा रोक्ने वा तुरुन्त तल झर्ने?
आकस्मिक उपचार र उद्धारको योजना कसरी बनाउने?
नेपालमा उपचारको बाटो
नेपालमा लक्षण गम्भीर, बढ्दै गएको, चिन्ताजनक वा निको नभएको छ भने नजिकको स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, क्लिनिक वा अस्पतालमा स्वास्थ्यकर्मीसँग सल्लाह लिनुहोस्। अघिल्ला prescription, test report, allergy जानकारी र हाल खाइरहेका औषधि साथमा लैजानुहोस्। खतराका संकेत छन् भने तुरुन्त स्वास्थ्य संस्था वा अस्पताल जानुहोस्।
महत्त्वपूर्ण सूचना
यो जानकारी सामान्य स्वास्थ्य जानकारीका लागि मात्र हो। यसलाई डाक्टरको सल्लाह, जाँच, निदान, उपचार वा आपतकालीन सेवाको विकल्पका रूपमा प्रयोग गर्नु हुँदैन।