समीक्षित मार्गदर्शिका
Migraine

माइग्रेन (Migraine)

माइग्रेन एउटा धेरैमा देखिने स्नायुसंग सम्बन्धीत समस्या हो, जसले पटक-पटक टाउको दुख्ने र अन्य लक्षणहरू निम्त्याउन सक्छ। टाउकोको दुखाइ प्रायजसो टन्कने वा टनटन गर्ने प्रकारको हुन्छ, मध्यमदेखि धेरै कडा हुन सक्छ, र धेरैजसो टाउकोको दुखाई एकातिर बढी महसुस हुन्छ। तर कहिलेकाहीँ दुवैतिर, अनुहारतिर वा घाँटीतिर पनि दुख्न सक्छ। माइग्रेनलाई सामान्य टाउको दुखाइ मात्र ठान्नु हुँदैन। धेरै व्यक्तिमा वाकवाकी लाग्ने, बान्ता हुने, तथा उज्यालो, आवाज, गन्ध वा हिँडडुल खप्नु गाह्रो हुने लक्षण पनि देखिन्छन्।

केही व्यक्तिमा माइग्रेन सुरु हुनुअघि वा माइग्रेन भइरहेका बेला ओरा (aura) भनिने अस्थायी चेतावनी लक्षणहरू देखिन सक्छन्। यसमा आँखाअगाडि चम्किलो बत्ती वा बाङ्गाटिङ्गा रेखा देखिने, दृष्टिको केही भाग नदेखिने, शरीर झमझमाउने, चक्कर लाग्ने, वा बोल्न गाह्रो हुने जस्ता समस्या हुन सक्छ। नयाँ, असामान्य वा लामो समयसम्म रहने लक्षणहरूलाई चिकित्सकको सल्लाह बिना माइग्रेन नै हो भनेर ठान्नु हुँदैन।

लक्षणहरू

माइग्रेनका लक्षण व्यक्तिअनुसार फरक फरक हुन सक्छन्। धेरैजसोमा टाउको टन्कने वा टनटन गरेर दुख्छ। दुखाइ प्रायः एकातिर बढी हुन्छ, तर दुवैतिर पनि हुन सक्छ। हिँड्दा, भर्याङ चढ्दा वा दैनिक काम गर्दा दुखाइ झन् बढ्न सक्छ।

माइग्रेन मुख्यतः दुई प्रकारले देखिन सक्छ:

ओरा नभएको माइग्रेन (Migraine without aura):

यसमा कुनै विशेष चेतावनी लक्षण नदेखिई टाउको दुख्न सुरु हुन्छ। यससँगै:

वाकवाकी लाग्ने वा बान्ता हुने

उज्यालो, ठूलो आवाज वा कडा गन्ध सहन गाह्रो हुने

हिँडडुल गर्दा दुखाइ बढ्ने

अँध्यारो र शान्त ठाउँमा आराम गर्न मन लाग्ने

ध्यान केन्द्रित गर्न गाह्रो हुने वा धेरै थकान महसुस हुने

ओरा भएको माइग्रेन (Migraine with aura):

यसमा टाउको दुख्नुअघि वा दुखाइ सुरु भएको समयमा केही अस्थायी लक्षण देखिन सक्छन्। यी लक्षण प्रायः बिस्तारै सुरु भएर केही मिनेटदेखि एक घण्टाभित्र हराउँछन्। यसमा:

आँखाअगाडि चम्किलो बत्ती, बाङ्गाटिङ्गा रेखा वा टल्किने आकारहरु देखिनु

दृष्टिको केही भाग धमिलो हुनु वा नदेखिनु

अनुहार, हात वा शरीरको एक भाग झमझमाउनु वा लाटो महसुस हुनु

बोल्न वा सही शब्द निकाल्न गाह्रो हुनु

चक्कर लाग्नु वा सन्तुलन असहज हुनु

ओरा भएका केही व्यक्तिमा त्यसपछि टाउको दुख्न सक्छ, तर कहिलेकाहीँ ओरा मात्र भएर टाउको नदुख्न पनि सक्छ।

माइग्रेन केही घण्टादेखि दुई-तीन दिनसम्म रहन सक्छ। टाउको दुख्नुअघि थकान, मनोभाव परिवर्तन, बारम्बार हाइ आउनु वा केही खानेकुराको इच्छा हुनु जस्ता लक्षण देखिन सक्छन्। दुखाइ हटेपछि पनि केही समय थकान, कमजोरी वा ध्यान केन्द्रित गर्न गाह्रो हुन सक्छ।

पहिलोपटक ओरा जस्तो लक्षण देखिएको, सामान्यभन्दा फरक भएको, एक घण्टाभन्दा लामो समयसम्म नहटेको, वा हातखुट्टा कमजोर हुने, अनुहार बाङ्गिने वा बोली बिग्रिने लक्षण भएमा यसलाई माइग्रेन मात्र नठानी तुरुन्त स्वास्थ्यकर्मीको जाँच गराउनुहोस्। किनकि यिनीहरू मस्तिष्कघात (stroke) जस्ता गम्भीर र ज्यान लिने खालका आपतकालीन स्वास्थ्य समस्याका संकेतहरू हुन सक्छन्।

खतराका संकेत

Migraine - Red flags

तलका मध्ये कुनैपनि लक्षण सुरु भएमा तुरुन्त स्वास्थ्यकर्मीको सल्लाह लिनुहोस् वा नजिकको अस्पताल जानुहोस्:

अचानक सुरु भएको, जीवनमै अहिलेसम्म नभएको जस्तो अत्यन्त कडा टाउको दुखाइ

टाउको दुखाइसँगै अनुहार बाङ्गिनु, हातखुट्टा कमजोर वा लाटो हुनु, बोली अस्पष्ट हुनु, अलमलिनु, झट्का/दौरा (seizure) आउनु वा बेहोस हुनु

अचानक दृष्टि हराउनु, दोब्बर देखिनु वा आँखामा धेरै दुखाइ हुनु

ज्वरो, घाँटी कडा हुनु, असामान्य बिबिरा आउनु, बारम्बार बान्ता हुनु वा धेरै निद्रालु हुनु

टाउकोमा चोट लागेपछि नयाँ वा बढ्दै गएको टाउको दुखाइ

गर्भावस्था वा सुत्केरी भएको केही समयभित्र नयाँ वा असामान्य रूपमा हुने टाउको दुखाइ

पहिलेको माइग्रेनभन्दा फरक, लगातार बढ्दै गएको वा असामान्य खालको टाउको को दुखाइ

ओरा सामान्यभन्दा धेरै बेर रहनु वा पूर्ण रूपमा नहट्नु

क्यान्सर, HIV वा रोग प्रतिरोधात्मक क्षमता धेरै कमजोर भएको व्यक्तिमा नयाँ टाउको दुखाइ

बच्चा धेरै अस्वस्थ हुनु, बारम्बार बान्ता गर्नु, अत्यधिक निद्रालु हुनु वा व्यवहार असामान्य देखिनु

लक्षण गम्भीर छन् वा व्यक्ति धेरै अस्वस्थ देखिन्छ भने एम्बुलेन्स सेवा उपलब्ध भएको ठाउँमा १०२ मा फोन गर्नुहोस्।

घरमै गर्न सकिने हेरचाह

माइग्रेन बल्झिएको बेला: (यदि यो माइग्रेन नै हो भन्ने निश्चित भएमा)

सम्भव भए अँध्यारो, शान्त र आरामदायक कोठामा सुत्नुहोस् वा आराम गर्नुहोस्।

बान्ता भएको छ भने थोरै-थोरै गरी पानी वा झोलिलो पदार्थ पिउनुहोस्।

धेरै उज्यालो, ठूलो आवाज, कडा गन्ध, मदिरा र आफूलाई समस्या बढाउने कारणहरुबाट टाढा रहनुहोस्।

खाना नखाँदा माइग्रेन बल्झिने गर्छ भने नियमित समयमा खाना खाने प्रयास गर्नुहोस्।

आफ्नो लागि सुरक्षित भएको औषधि मात्र प्रयोग गर्नुहोस्। औषधिबारे डाक्टरसँग सल्लाह लिनुहोस्।

दुखाइ कम गर्ने औषधि बारम्बार प्रयोग नगर्नुहोस्। धेरै प्रयोग गर्दा औषधिकै कारण टाउको दुखाइ अझै दोहोरिन वा बढ्न सक्छ।

माइग्रेनको अभिलेख/डयेरी राख्नुहोस्। लक्षण सुरु भएको मिति र समय, सम्भावित कारण, महिनावारी, प्रयोग गरेको औषधि र कति समयसम्म रह्यो भन्ने लेख्नुहोस्। यसले तपाईंलाई आफ्नो समस्या बुझ्न र सहि उपचार खोज्न मद्दत गर्दछ।"

उपचार

माइग्रेन उपचार यो कति कडा छ, कति पटक बल्झिन्छ, दैनिक जीवनमा कति असर गर्छ, उमेर, गर्भावस्था, अन्य स्वास्थ्य समस्या र प्रयोग भइरहेका औषधिमा निर्भर हुन्छ।

माइग्रेन बल्झिएको बेला डाक्टरले उपयुक्त दुखाइ कम गर्ने औषधि, वाकवाकी वा बान्ता कम गर्ने औषधि, वा माइग्रेनका लागि प्रयोग गरिने विशेष औषधि सिफारिस गर्न सक्छन्। सबै औषधि सबै व्यक्तिका लागि सुरक्षित हुँदैनन्, त्यसैले स्वास्थ्यकर्मीको सल्लाहबिना नयाँ औषधि सुरु वा परिवर्तन नगर्नुहोस्।

माइग्रेन बारम्बार बल्झिन्छ, धेरै कडा हुन्छ वा काम, पढाइ, निद्रा र दैनिक गतिविधिमा असर पार्छ भने रोकथाम गर्ने उपचार आवश्यक पर्न सक्छ। यसमा नियमित निद्रा, समयमा खाना, पर्याप्त पानी, सम्भावित कारण पहिचान गर्ने र आवश्यक परे दैनिक प्रयोग गर्ने रोकथामको औषधि प्रयोग गर्न सकिन्छ।

लक्षण असामान्य छन्, निदान स्पष्ट छैन वा उपचारले पर्याप्त काम गरेको छैन भने विशेषज्ञको सल्लाह आवश्यक पर्न सक्छ।

डाक्टरलाई सोध्न मिल्ने प्रश्नहरू

Migraine - Questions to ask doctor

यो माइग्रेन नै हो कि टाउको दुख्ने अन्य कुनै कारण हुन सक्छ?

मेरो माइग्रेन ओरासहित हो कि ओराविना?

मेरा लक्षण मध्ये कुनै गम्भीर समस्याका चेतावनीको संकेत छ कि छैन?

माइग्रेन बल्झिएको बेला कुन औषधि सुरक्षित हुन्छ?

वाकवाकी वा बान्ता कम गर्ने औषधि आवश्यक छ कि छैन?

मैले दुखाइ कम गर्ने औषधि धेरै प्रयोग गरिरहेको छु कि छैन?

माइग्रेन रोकथाम गर्ने नियमित उपचार सुरु गर्नुपर्छ कि पर्दैन?

के मेरो तनाव, निद्राको कमी, महिनावारी, खाना, पानीको कमी वा कुनै औषधिले माइग्रेन बल्झाइरहेको हुन सक्छ?

के मलाई आँखा जाँच, रगत परीक्षण, स्क्यान वा विशेषज्ञको सल्लाह आवश्यक छ?

अर्को पटक लक्षण पहिलेभन्दा फरक भएमा मैले के के गर्नुपर्छ?

नेपालमा उपचारको बाटो

नेपालमा लक्षण गम्भीर, बढ्दै गएको, चिन्ताजनक वा निको नभएको छ भने नजिकको स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, क्लिनिक वा अस्पतालमा स्वास्थ्यकर्मीसँग सल्लाह लिनुहोस्। अघिल्ला prescription, test report, allergy जानकारी र हाल खाइरहेका औषधि साथमा लैजानुहोस्। खतराका संकेत छन् भने तुरुन्त स्वास्थ्य संस्था वा अस्पताल जानुहोस्।

महत्त्वपूर्ण सूचना

यो जानकारी सामान्य स्वास्थ्य जानकारीका लागि मात्र हो। यसलाई डाक्टरको सल्लाह, जाँच, निदान, उपचार वा आपतकालीन सेवाको विकल्पका रूपमा प्रयोग गर्नु हुँदैन।