फिस्टुला (Anal Fistula)
एनल फिस्टुला (Anal Fistula) वा फिस्टुला भनेको आन्द्राको भित्री भाग र मलद्वारको वरपरको छालाबीच बन्ने सानो सुरुङजस्तो बाटो हो। यो प्रायः मलद्वारको नजिकको भागमा संक्रमण हुँदा बन्छ - जब संक्रमणका कारण त्यस वरपरको तन्तुमा पिप जम्छ। त्यो पिप निस्किएपछि पछाडि एउटा साँघुरो बाटो रहन जान्छ, र त्यही नै फिस्टुला बन्छ।
एनल फिस्टुलाका कारण मलद्वारको वरपर दुखाइ र चिलाउने जस्ता असहज लक्षणहरू देखिन सक्छन्। उपचार नगरी छोडियो भने यो आफैँ निको हुने सम्भावना कम हुन्छ।
लक्षणहरू
एनल फिस्टुला भएमा धेरै असहज लक्षणहरू देखा पर्न सक्छन्। मलद्वारको वरिपरिको छालामा चिलाउने वा जलन हुने समस्या हुन सक्छ। धेरैजसो मान्छेलाई निरन्तर टनटनाउने दुखाइ हुन्छ, जुन बस्दा, हिँड्दा, दिसा गर्दा वा खोक्दा झन् बढ्छ। मलद्वारको नजिकबाट नराम्रो गन्ध आउने पानी वा पिप बग्नु पनि सामान्य लक्षण हो। दिसा गर्दा पिप वा रगत देखिन सक्छ। यदि त्यहाँ फोका (abscess) पनि भएको छ भने, मलद्वारको वरिपरिको भाग सुन्निएको र रातो देखिन सक्छ र ज्वरो पनि आउन सक्छ। कतिपय मान्छेलाई दिसा रोक्न गाह्रो हुन्छ।
कहिलेकाहीँ फिस्टुलाको मुख मलद्वारको नजिकको छालामा सानो प्वाल जस्तो देखिन्छ, तर आफैँले हेरेर थाहा पाउन गाह्रो हुन सक्छ।
खतराका संकेत

यदि तपाईंलाई एनल फिस्टुलाको लक्षणहरू देखिएमा चिकित्सककहाँ जानुहोस्। चिकित्सकले तपाईंको लक्षणहरूबारे र आन्द्राको समस्याबारे सोध्नुहुनेछ। उहाँले फिस्टुलाको संकेत खोज्न तपाईंको मलद्वारवरपरको छाला हेर्नुहुनेछ। साथै, उहाँले पन्जा लगाएको औंला मलद्वार भित्र हल्का घुसाएर जाँच्न सक्नुहुन्छ। यसलाई रेक्टल एग्जामिनेसन [मलद्वार भित्रको जाँच] भनिन्छ।
यदि चिकित्सकलाई फिस्टुला भएको शंका लागेमा, उहाँले तपाईंलाई सर्जन कहाँ पठाउनुहुनेछ। यो विशेषज्ञले रोगको निश्चित पहिचान गर्न थप परीक्षणहरू गर्नुहुनेछ र तपाईंका लागि सबैभन्दा उपयुक्त उपचार तय गर्नुहुनेछ।
परीक्षणहरूमा यी कुराहरू पर्न सक्छन्:
शारीरिक जाँच र मलद्वार भित्रको जाँच
प्रोक्टोस्कोपी [अगाडि बत्ती भएको पातलो नली मलद्वार भित्र हालेर हेर्ने विधि]
अल्ट्रासाउन्ड स्क्यान, सिटी स्क्यान, वा एमआरआई स्क्यान जस्ता इमेजिङ परीक्षणहरू
घरमै गर्न सकिने हेरचाह
एनल फिस्टुला हुँदा घरमा कसरी हेरचाह गर्ने
एनल फिस्टुलाको मुख्य उपचार शल्यक्रिया नै हो, तर उपचारको पर्खाइमा हुँदा वा शल्यक्रियापछि निको हुने क्रममा घरमै केही कुराहरू गरेर समस्याकम गर्न र सरसफाइ राख्न सकिन्छ।
सफा राख्नुस्
हरेक पटक दिसा गरिसकेपछि मलद्वारको वरिपरिको छाला नरम तातो पानीले बिस्तारै धुनुस्। रगड्नुको साटो मुलायम कपडा वा टिस्युले थिचेर पुछ्नुस्। कडा साबुन वा सुगन्धित मीसीएको सामानहरू प्रयोग नगर्नुस् - यिनले छालालाई झन् जलन गराउन सक्छ।
आरामदायी र हावा आउने लुगा लगाउनुस्
कपास जस्तो प्राकृतिक कपडाबाट बनेको ठुलो साइजको अन्डरवेयर लगाउँदा बिझाइ कम हुन्छ र हावा आवतजावत गर्न पनि सजिलो हुन्छ।
आवश्यक भए प्याड प्रयोग गर्नुस्
फिस्टुलाबाट पीप वा तरल पदार्थ चुहिने भए अन्डरवेयरभित्र सानो प्याड वा गज राख्दा ठाउँ सफा रहन्छ र लुगा पनि बच्छ।
दुखाइ कम गर्नुस्
प्यारासिटामोल जस्तो डाक्टरको पर्चीबिना पाइने दुखाइको औषधि खाँदा दुखाई केही कम हुन सक्छ। लामो समय बस्नुपर्दा मुलायम सिरानी वा मोडेको तौलियामाथि बस्दा थिचाइ र दुखाइ घट्छ।
राम्रो खाना खानुस् र पर्याप्त पानी पिउनुस्
फलफूल, तरकारी र गहुँको रोटी जस्ता रेसादार खानेकुराहरू (fibre-rich foods ) खाँदा र दिनभर पर्याप्त पानी पिउँदा दिसा नरम रहन्छ। यसले दिसा गर्दा दुख्ने र जोड लगाउनुपर्ने कम हुन्छ।
दिसा नरोक्नुहोस
दिसा लागेपछि रोकेर बस्न नखोज्नुस्। जोड लगाउँदा वा ढिला गर्दा लक्षणहरू झन् बढ्न सक्छन्।
महत्त्वपूर्ण: घरेलु हेरचाहले कठिनाई केही कम गर्न सक्छ, तर यसले एनल फिस्टुला ठीक गर्दैन। सही जाँच र उपचारको लागि डाक्टरकहाँ जानु जरुरी छ।
उपचार

एनल फिस्टुलाको उपचारका लागि सामान्यतः शल्यक्रिया नै गर्नुपर्छ। उपचार नगरी यो आफैं ठिक हुने सम्भावना निकै कम हुन्छ।
शल्यक्रियाका मुख्य विकल्पहरू यस्ता छन्:
फिस्टुलोटोमी - यस विधिमा शल्यचिकित्सकले फिस्टुलालाई पूरा लम्बाइमा काटेर खुला गर्नुहुन्छ, जसले गर्दा त्यो भाग बिस्तारै सुकेर समतल दाग बन्दै निको हुन्छ।
सिटन प्रक्रिया - यस विधिमा सिटन भनिने शल्यक्रियामा प्रयोग हुने धागोको सानो टुक्रा फिस्टुलाभित्रबाट सावधानीपूर्वक राखिन्छ र केही हप्तासम्म त्यहाँ राखेर गरिने उपचार हो। यसले फिस्टुललाई निको हुनका लागि सहयोग गर्छ, त्यसपछि उपचार पूरा गर्न अरु पद्धति हरु पनि गरिन्छ।
प्रत्येक विकल्पका आआफ्नै फाइदा र सम्भावित जोखिमहरू हुन्छन्। शल्यचिकित्सकले यी सबै कुरा बुझाउनुहुनेछ र कुन तरिका बढी उपयुक्त हुन्छ भनेर निर्णय गर्न मद्दत गर्नुहुनेछ।
अधिकांश बिरामीहरू शल्यक्रिया भएकै दिन घर फर्कन सक्छन्। तर कसरी प्रक्रिया भयो भन्नेमा भर पर्दै केही बिरामीहरूलाई थोरै समय अस्पतालमा बस्नु पर्न सक्छ।
डाक्टरलाई सोध्न मिल्ने प्रश्नहरू
डाक्टरसँग जाँदा सोध्न सकिने प्रश्नहरू
डाक्टरको अपोइन्टमेन्टमा जाँदा कहिलेकाहीँ के सोध्ने भनेर बिर्सिन सकिन्छ। आफूसँग प्रश्नहरूको सूची तयार राख्नुभयो भने जाँचबाट बढी फाइदा लिन सकिन्छ। तलका प्रश्नहरू सोध्ने बारे सोच्न सकिन्छ:
रोगको पहिचानबारे
मलाई एनल फिस्टुला नै हो भनेर कसरी थाहा भयो?
अरू कुनै कारणले पनि यस्तो लक्षण आउन सक्छ कि?
रोग पक्का गर्न कुनै स्क्यान वा परीक्षण गर्नुपर्छ?
उपचारबारे
मेरो लागि कुन उपचार ठीक हुन्छ र किन?
कस्तो किसिमको शल्यक्रिया गर्नुपर्छ र त्यो कसरी गरिन्छ?
शल्यक्रियामा के-के जोखिम वा समस्या आउन सक्छन्?
शल्यक्रिया नगरेमा के हुन्छ?
प्रक्रिया पछि निको हुन कति समय लाग्छ?
त्यही दिन घर जान मिल्छ कि अस्पतालमा बस्नुपर्छ?
दिसा नियन्त्रणबारे
शल्यक्रियाले दिसा रोक्ने क्षमतामा असर गर्न सक्छ?
यदि असर गर्छ भने त्यो केही समयका लागि हो कि सधैंका लागि?
उपचारपछि र निको हुने क्रमबारे
निको हुँदै जाँदा के अपेक्षा गर्ने, र घरमा त्यो ठाउँको हेरचाह कसरी गर्ने?
उपचारपछि कति दिनमा फेरि देखाउन आउने?
कुन लक्षण देखिएमा तुरुन्त सहायता खोज्नुपर्छ?
समग्र स्वास्थ्यबारे
मेरो स्वास्थ्य वा जीवनशैलीले उपचार वा निको हुनमा असर पार्न सक्छ?
उपचारपछि फेरि फिस्टुला फर्किन सक्छ?
डाक्टरले भनेको कुनै कुरा नबुझिएमा फेरि बुझाइदिन भन्न नहिचकिचाउनुस्। आफ्नो स्वास्थ्यबारे जान्नु तपाईंको अधिकार हो।
नेपालमा उपचारको बाटो
नेपालमा लक्षण गम्भीर, बढ्दै गएको, चिन्ताजनक वा निको नभएको छ भने नजिकको स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, क्लिनिक वा अस्पतालमा स्वास्थ्यकर्मीसँग सल्लाह लिनुहोस्। अघिल्ला prescription, test report, allergy जानकारी र हाल खाइरहेका औषधि साथमा लैजानुहोस्। खतराका संकेत छन् भने तुरुन्त स्वास्थ्य संस्था वा अस्पताल जानुहोस्।
महत्त्वपूर्ण सूचना
यो जानकारी सामान्य स्वास्थ्य जानकारीका लागि मात्र हो। यसलाई डाक्टरको सल्लाह, जाँच, निदान, उपचार वा आपतकालीन सेवाको विकल्पका रूपमा प्रयोग गर्नु हुँदैन।