मधुमेह (Diabetes)
मधुमेह (रगतमा चिनीको मात्रा बढी हुने रोग) एक दीर्घकालीन रोग हो जसमा शरीरले रगतमा चिनी (ग्लुकोज) को मात्रा ठीकसँग नियन्त्रण गर्न सक्दैन। ग्लुकोज शरीरको मुख्य ऊर्जाको स्रोत हो, र प्यान्क्रियाजले बनाउने इन्सुलिन (रगतमा चिनी नियन्त्रण गर्ने हर्मोन) नामक हर्मोनले यो चिनीलाई रगतबाट शरीरका कोशहरूमा पुर्याउन मद्दत गर्छ। मधुमेहमा यो प्रक्रिया ठीकसँग काम गर्दैन - या त शरीरले पर्याप्त इन्सुलिन बनाउँदैन, वा बनाएको इन्सुलिन राम्ररी प्रयोग गर्न सक्दैन, वा दुवै समस्या एकसाथ हुन सक्छ।
मधुमेहका मुख्यतः दुई प्रकार छन्। टाइप १ (Type
- मधुमेह एक स्वप्रतिरक्षा (autoimmune) अवस्था हो जसमा शरीरले इन्सुलिन नै बनाउँदैन वा निकै कम बनाउँछ। यो जुनसुकै उमेरमा हुन सक्छ, तर प्रायः बालबालिका वा युवा अवस्थामा पत्ता लाग्छ, र यसको उपचारका लागि प्रतिदिन इन्सुलिन लिनु पर्छ। टाइप २ (Type
- मधुमेह धेरै सामान्य छ र सामान्यतया बिस्तारै विकास हुन्छ, अधिकतर वयस्कहरूमा हुन्छ। यसमा शरीरले या त पर्याप्त इन्सुलिन बनाउँदैन, या बनाएको इन्सुलिन राम्ररी प्रयोग गर्न सक्दैन। खानपान र शारीरिक गतिविधि जस्ता जीवनशैलीसँग सम्बन्धित कारणहरू यसमा ठूलो भूमिका खेल्छन्, यद्यपि वंशानुगत कारण पनि असर गर्छ। हामि प्रत्येक प्रकारको बारेमा आर्को पेजमा छुट्टाछुट्टै थप वर्णन गर्नेछौ।
मधुमेहको राम्रोसँग व्यवस्थापन नगरिए, रगतमा लामो समयसम्म चिनीको मात्रा बढी रहँदा रक्तनली र नसाहरूमा क्षति पुग्न सक्छ, जसले गर्दा मुटु, मिर्गौला, आँखा र खुट्टामा गम्भीर समस्याहरू आउन सक्छन्। तर सही उपचार, स्वस्थ जीवनशैली र नियमित स्वास्थ्य जाँचको मद्दतले मधुमेह भएका अधिकांश मानिसहरू राम्रो जीवन बिताउन सक्छन् र यी जटिलताहरूको जोखिम धेरै हदसम्म कम गर्न सक्छन्।
लक्षणहरू
धेरै मधुमेह भएका मान्छेहरूमा सुरुमा कुनै लक्षण देखिँदैन। तर रगतमा चिनीको मात्रा धेरै बढ्यो भने यस्ता लक्षणहरू देखा पर्न सक्छन्:
धेरै तिर्खा लाग्ने
सामान्यभन्दा बढी पटक पिसाब लाग्ने, विशेषगरी रातमा
धेरै भोक लाग्ने
तौल घट्दै जाने
धेरै थकान लाग्ने
आँखाले धमिलो देखिने
घाउ ढिलो निको हुने
बारम्बार संक्रमण हुने, जस्तै छाला वा पिसाबको संक्रमण
खतराका संकेत
खतराका संकेत: तुरुन्त चिकित्सा मद्दत लिनुहोस् यदि यी लक्षणहरू देखिए:
पेट धेरै दुख्ने, वाकवाकी लाग्ने, वा पटक-पटक बान्ता हुने।
सास धेरै छिटो वा गहिरो आउने, वा सास फेर्न गाह्रो हुने।
अलमल्याउने, धेरै निदाउन मन लाग्ने, वा आँखा खुला राख्न नसक्ने जस्तो हुने।
बेहोस हुने वा होस गुम्ने।
सासमा गुलियो/fruity खालको गन्ध आउनु।
घरमै गर्न सकिने हेरचाह

मधुमेह राम्रोसँग नियन्त्रणमा राख्नु स्वस्थ रहनका लागि धेरै जरुरी छ। आफ्नो हेरचाह गर्न यी महत्त्वपूर्ण उपायहरू अपनाउनुस्:
स्वस्थ खाना खानुस्: सन्तुलित खानाको छनोट गर्नुस्। फलफूल, तरकारी, अन्न र कम बोसोयुक्त प्रोटिनमा ध्यान दिनुस्। मिठा पेय पदार्थ, प्याकेटका खाना र अस्वस्थ बोसोयुक्त खाना कम खाने कोसिस गर्नुस्।
सक्रिय रहनुस्: नियमित शारीरिक क्रियाकलापले शरीरलाई चिनी प्रयोग गर्न मद्दत गर्छ। हिँड्ने, साइकल चलाउने वा नाच्ने जस्ता आफूलाई मन पर्ने गतिविधिहरू गर्नुस्। कुन किसिमको र कति व्यायाम आफूलाई उपयुक्त छ भनेर आफ्नो डाक्टरसँग सल्लाह लिनुस्।
औषधि निर्देशनअनुसार खानुस्: यदि डाक्टरले मधुमेहको लागि औषधि लेखिदिनुभएको छ भने, ठीक भएको महसुस हुँदा पनि, औषधि डाक्टरको निर्देशनअनुसार नै खानु धेरै जरुरी छ।
रगतमा चिनीको मात्रा नाप्नुस्: डाक्टरले नियमित रूपमा रगतमा चिनीको मात्रा जाँच गर्न सुझाव दिन सक्नुहुन्छ। यसले तपाईं र तपाईंको डाक्टर दुवैलाई खाना, व्यायाम र औषधिले शरीरमा कस्तो असर पार्छ भनेर बुझ्न मद्दत गर्छ। यो जाँच सही तरिकाले गर्न सिक्नुस्।
नियमित स्वास्थ्य जाँच गराउनुस्: नियमित रूपमा डाक्टरकहाँ जाँच गराउन जानुस्। उहाँले मधुमेह नियन्त्रण गर्न, आवश्यक भएमा उपचार परिवर्तन गर्न र सम्बन्धित अन्य स्वास्थ्य समस्याहरू छन् कि छैनन् भनेर हेर्न मद्दत गर्नुहुन्छ।
खुट्टाको हेरचाह गर्नुस्: खुट्टामा कुनै घाउ, फोका वा पाकेको ठाउँ छ कि छैन भनेर प्रत्येक दिन जाँच गर्नुस्। खुट्टा बिस्तारै धुनुस् र सुक्खा राख्नुस्। खुट्टा जोगाउन राम्रोसँग फिट हुने आरामदायी जुत्ता वा चप्पल लगाउनुस्।
मानसिक तनावको व्यवस्थापन गर्नुस्: मानसिक तनावले रगतमा चिनीको मात्रामा असर पार्न सक्छ। आराम गर्ने तरिकाहरू अपनाउने, मनपर्ने काम गर्ने वा आफ्ना प्रियजनहरूसँग समय बिताउने जस्ता स्वस्थ उपायहरूद्वारा तनाव कम गर्ने कोसिस गर्नुस्।
उपचार

मधुमेह को उपचारको मुख्य उद्देश्य भनेको रगतमा चिनीको मात्रा सामान्य राख्नु हो, जसले दीर्घकालीन समस्याहरूबाट बच्न मद्दत गर्छ। तपाईंको डाक्टरले तपाईंको अवस्था अनुसार उपयुक्त उपचार योजना बनाउनेछन्।
जीवनशैलीमा परिवर्तन: स्वस्थ खानपान र नियमित शारीरिक गतिविधि मधुमेह व्यवस्थापनका महत्त्वपूर्ण हिस्सा हुन्। यी परिवर्तनहरूले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न निकै सहयोग गर्छन् र प्रायः यो नै पहिलो कदम हुन्छ, वा अन्य उपचारसँगै अपनाइन्छ।
औषधि: मधुमेह भएका धेरै मानिसहरूलाई औषधि आवश्यक पर्छ। यसमा शरीरलाई बढी इन्सुलिन बनाउन वा राम्रोसँग प्रयोग गर्न सघाउने चक्की समावेश हुन सक्छ। केही मानिसहरूलाई शरीरले इन्सुलिन पर्याप्त नबनाउने भएकाले इन्सुलिनको सुई लगाउनु पनि पर्न सक्छ।
नियमित निगरानी र जाँच: तपाईंको डाक्टरले नियमित रूपमा तपाईंको रगतमा चिनीको मात्रा र समग्र स्वास्थ्य जाँच गर्नेछन्। यसले उपचार योजना सही काम गरिरहेको छ कि छैन भनी थाहा पाउन र आवश्यकता अनुसार परिवर्तन गर्न सजिलो हुन्छ।
डाक्टरलाई सोध्न मिल्ने प्रश्नहरू
- मलाई कुन प्रकारको मधुमेह छ?
- मेरो उपचारका के-के विकल्पहरू छन्, र ती प्रत्येकका फाइदा र जोखिम के-के हुन्?
- मैले औषधि कसरी खाने, र कुन-कुन साइड इफेक्टहरूमा ध्यान दिनु पर्छ?
- मेरो लागि खानपान र शारीरिक गतिविधिमा कस्ता परिवर्तन गर्नु उचित हुन्छ?
- मैले कति पटक रगतमा चिनीको मात्रा जाँच गर्नु पर्छ, र सामान्य स्तर कति हुनु पर्छ?
- रगतमा चिनी धेरै बढ्यो वा घट्यो भने मैले के गर्नु पर्छ?
- कुन-कुन लक्षण देखिए गम्भीर समस्याको संकेत हुन सक्छ, र त्यसमा ध्यान दिनु पर्छ?
- मेरो अर्को जाँच कहिले गर्नु पर्छ?
नेपालमा उपचारको बाटो
नेपालमा लक्षण गम्भीर, बढ्दै गएको, चिन्ताजनक वा निको नभएको छ भने नजिकको स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, क्लिनिक वा अस्पतालमा स्वास्थ्यकर्मीसँग सल्लाह लिनुहोस्। अघिल्ला prescription, test report, allergy जानकारी र हाल खाइरहेका औषधि साथमा लैजानुहोस्। खतराका संकेत छन् भने तुरुन्त स्वास्थ्य संस्था वा अस्पताल जानुहोस्।
महत्त्वपूर्ण सूचना
यो जानकारी सामान्य स्वास्थ्य जानकारीका लागि मात्र हो। यसलाई डाक्टरको सल्लाह, जाँच, निदान, उपचार वा आपतकालीन सेवाको विकल्पका रूपमा प्रयोग गर्नु हुँदैन।