REVIEWED
Black and white photo of a man clutching his chest, indicating discomfort or pain.
Photo by freestocks.org on Pexels

हृदयघात (Heart attack)

हृदयघात (heart attack) - मुटुमा रगत पुग्न बन्द हुँदा हुने आपतकालीन अवस्था हो, यो त्यतिबेला हुन्छ जब मुटुको मांसपेशीको कुनै भागमा रगत पुर्‍याउने रक्तनली अचानक बन्द हुन्छ। रगतको आपूर्ति नपाएपछि, मुटुको त्यो भाग बिस्तारै नष्ट हुन थाल्छ। यो एउटा गम्भीर आपतकालीन अवस्था हो र तुरुन्तै उपचार गर्नु पर्छ।

यसको सबैभन्दा चिनिएको लक्षण भनेको छातीमा दुखाइ वा भारीपन हो। तर यसबाहेक सास फेर्न गाह्रो हुनु, वाकवाकी लाग्नु, पसिना आउनु, र हात, घाँटी वा बङ्गारातर्फ फैलिने असहजता पनि हृदयघातका लक्षण हुन सक्छन्। लक्षणहरू एकजनादेखि अर्को व्यक्तिमा फरक हुन सक्छन्, र कहिलेकाहीँ यी लक्षणहरू हल्का हुन सक्छन् वा कम गम्भीर कुरो हो जस्तो लाग्न सक्छ।

हार्ट अट्याकको जति छिटो उपचार भयो, मुटुलाई हुने क्षति त्यति नै कम हुने सम्भावना हुन्छ। यदि तपाईंलाई वा तपाईंको वरपर कसैलाई हार्ट अट्याक भएको शंका लाग्यो भने, तुरुन्तै आपतकालीन स्वास्थ्य सहायता लिनुस् र लक्षणहरू आफैँ ठिक हुन्छन् कि भनेर नपर्खनुहोस्।

लक्षणहरू

Heart attack - Symptoms

हृदयघात (heart attack) फरक-फरक मान्छेमा फरक-फरक तरिकाले देखा पर्न सक्छ। सामान्य चेतावनीका संकेतहरूमा यी पर्छन्:

छातीमा दुखाइ वा दबाब महसुस हुनु, जुन निचोरिएजस्तो वा कसिएजस्तो लाग्न सक्छ - यो दुखाइ हात, घाँटी, वा बङ्गारासम्म फैलिन सक्छ

सास फेर्न गाह्रो हुनु वा सास छोटो हुनु

वाकवाकी लाग्नु वा वान्ता हुनु

छातीमा जलन वा भारीपन महसुस हुनु, जुन अपच जस्तो लाग्न सक्छ - कहिलेकाहीँ पेट भरिएजस्तो वा फुलेजस्तो पनि लाग्न सक्छ

पसिना छुटनु

छाला फिक्का, नीलो वा खैरो रङको देखिनु - गाढा रङको छालामा यो परिवर्तन हत्केलामा बढी स्पष्ट देखिन सक्छ

खतराका संकेत

तुरुन्तै नजिकको अस्पतालको आकस्मिक कक्षमा जानुहोस् वा आकस्मिक सहायता लिनुहोस् यदि:

छातीमा कस्सिएको, निचोरिएको वा थिचिएजस्तो दुखाइ भएमा

छातीको दुखाइ बाहु, घाँटी वा बङ्गाराततिर फैलिँदैछ भने

सास फेर्न धेरै गाह्रो भइरहेछ - सास अड्किएको, घुट्किएको वा बोल्नै नसकिने अवस्था भएमा

ओठ, हत्केला वा छाला फिक्का, नीलो वा खैरो रङमा परिवर्तन भएमा

कोही बेहोस भएर कुनै प्रतिक्रिया दिइरहेको छैन भने

आफैं गाडी चलाएर अस्पताल जाने कोसिस नगर्नुहोस्।

तुरुन्त चिकित्सक, स्वास्थ्यकर्मी वा आकस्मिक सल्लाह सेवामा सम्पर्क गर्नुहोस् यदि:

अचानक सामान्यभन्दा धेरै बढी सास फेर्न गाह्रो भएमा

छातीको दुखाइसँगै वाकवाकी वा बान्ता भएमा

छातीमा दुखाइ छ र साथमा मुटु धेरै छिटो वा धेरै ढिलो चल्ने, बेलाबेला रोकिने वा फर्फराएजस्तो महसुस भएमा

घरमै गर्न सकिने हेरचाह

आपतकालीन सहायता आउने प्रतीक्षा गर्दा, तपाईंले तुरुन्तै यी कदमहरू चाल्न सक्नुहुन्छ।

१. आरामदायी स्थितिमा बस्नुस् र आराम गर्नुस् - सकेसम्म भुइँमा घुँडा मोडेर र ढाड भित्तामा टेकाएर बस्नुस्। यो सम्भव नभए कुर्सीमा बस्दा पनि हुन्छ।

२. यदि aspirin (एस्पिरिन - ३०० मिलिग्राम) उपलब्ध छ भने, खानुस् - तर जसलाई एस्पिरिनबाट एलर्जी छ, उसलाई नदिनुस्।

३. यदि तपाईंलाई एन्जाइना (मुटुमा रगत कम पुग्दा हुने छाती दुखाइ) भएको निदान भइसकेको छ र तपाईंसँग ग्लिसेरिल ट्राइनाइट्रेट (GTN) स्प्रे छ भने, निर्देशनअनुसार प्रयोग गर्नुस्।

४. यदि अर्को कसैलाई हृदयघात परेको हुन सक्छ भने, उनको छेउमै बस्नुस् र उनी होश र सामान्य सास फेरिरहेका छन् कि छैनन् भनी नियमित जाँच गरिरहनुस्।

५. यदि त्यो व्यक्ति बेहोस भए र सास फेर्न छोडे भने, तुरुन्तै CPR (मुटु र सासको क्रिया बन्द हुँदा छाती थिचेर र मुखबाट सास दिएर गरिने आपतकालीन उपचार) सुरु गर्नुस् र मद्दत नआउञ्जेल जारी राख्नुस्।

उपचार

Heart attack - Treatment

जब तपाईंलाई हृदयघात (heart attack) को शंका भएर अस्पताल लगिन्छ, त्यहाँ डाक्टरहरूले ECG (मुटुको विद्युतीय गतिविधि नाप्ने परीक्षण) र रगत परीक्षण गरेर के भइरहेको छ भनी पक्का गर्छन्। ती परीक्षणका नतिजाहरूको आधारमा थप जाँचहरू पनि गर्नुपर्न पक्ने हुन सक्छ। जस्तै, मुटुको मांसपेशी प्रभावित भएको छ कि छैन भनेर हेर्न इकोकार्डियोग्राम (echocardiogram - मुटुको अल्ट्रासाउण्ड परीक्षण) गर्न सकिन्छ, वा मुटुमा रगत पुर्याउने नसाहरूमा ठ्याक्कै कहाँ अवरोध छ भनी थाहा पाउन कोरोनरी एन्जियोग्राम (coronary angiogram - मुटुका नसाहरू जाँच्ने विशेष परीक्षण) गर्न सकिन्छ। कहिलेकाहीं एन्जियोग्राम गर्दाकै बेला भेटिएको अवरोधलाई त्यही प्रक्रियामै उपचार पनि गर्न सकिन्छ। प्रत्येक परीक्षणको नतिजाले तपाईंको अवस्थाका लागि के अर्थ राख्छ भनेर डाक्टरले समझाउनुहुनेछ।

हृदयघातमा सधैं अस्पतालमै उपचार गर्नुपर्छ, र कस्तो उपचार गर्ने भन्ने कुरा तपाईंको अवस्था कति गम्भीर छ भन्नेमा भर पर्छ। सामान्यतया गरिने उपचारहरूमा नसामा भएको अवरोध हटाएर मुटुमा रगतको प्रवाह पुनः सुचारु गर्न औषधिहरू दिइन्छ। यसका साथै कोरोनरी एन्जियोप्लास्टी (coronary angioplasty) नामक प्रक्रिया पनि गरिन्छ, जसमा बन्द भएको नसा खोल्न स्टेन्ट (stent - सानो नली) प्रयोग गरिन्छ। बढी जटिल अवस्थामा भने कोरोनरी आर्टरी बाइपास शल्यक्रिया (coronary artery bypass surgery गर्नुपर्ने हुन सक्छ, जसमा शरीरको अर्को भागबाट रगतनली लिएर बन्द भाग छलेर रगत पठाइन्छ।

यो बुझ्नु जरुरी छ कि हृदयघात जीवनका लागि गम्भीर जोखिम हुने आपतकालीन अवस्था हो। राम्रोभन्दा राम्रो उपचार र हेरचाह हुँदाहुँदै पनि कहिलेकाहीँ सबै बिरामीलाई बचाउन सम्भव नहुन सक्छ।

अस्पतालबाट घर फर्कन सक्ने भएपछि, डाक्टरले तपाईंलाई नियमित रूपमा खानका लागि केही औषधिहरू लेखिदिनुहुनेछ। यी औषधिहरू हृदयघातका मूल कारणहरूको ऊपचार गर्न र फेरि यस्तै समस्या नआओस् भनी जोखिम कम गर्न दिइन्छन्। यसमा नसाहरू फेरि बन्द नहोस् भनेर एन्टिप्लेटलेट (antiplatelet - रगत जम्न नदिने/रगत पातलो बनाउने) औषधिहरू, कोलेस्ट्रोल घटाउन स्टाटिन (statin - कोलेस्ट्रोल कम गर्ने औषधि), र रक्तचाप (Blood pressure) नियन्त्रण गर्न ACE इन्हिबिटर (ACE inhibitor) वा बिटा-ब्लकर (beta-blocker) जस्ता औषधिहरू पर्न सक्छन्।

डाक्टरलाई सोध्न मिल्ने प्रश्नहरू

हृदयघात (heart attack) पछि मनमा धेरै प्रश्नहरू आउनु र अलमलिनु स्वाभाविक हो। आफ्नो डाक्टरसँग खुलेर कुरा गर्नु निको हुने प्रक्रियाको एउटा महत्त्वपूर्ण हिस्सा हो। तल केही प्रश्नहरू दिइएका छन् जसले त्यो कुराकानीमा मद्दत गर्न सक्छन्।

रोगको निदान र मुटुको स्वास्थ्यबारे

मलाई कस्तो किसिमको हृदयघात आयो, र यो कति गम्भीर थियो?

मेरो मुटुमा कुनै क्षति भएको छ, र भएको छ भने कति हदसम्म?

कुन-कुन परीक्षणहरू गरिनेछन्, र ती परीक्षणहरूले के जानकारी दिनेछन्?

उपचारबारे

मेरो लागि कस्तो उपचार योजना सिफारिस गरिन्छ, र यो किन सबभन्दा उपयुक्त छ?

मलाई कुनै प्रक्रिया वा शल्यक्रिया चाहिन्छ, कि औषधिले मात्रै काम गर्छ?

म कति दिनसम्म अस्पतालमा बस्नु पर्ला?

औषधिबारे

मैले कुन-कुन औषधिहरू खानु पर्छ, र कतिसम्म खानु पर्छ?

कुन-कुन साइड इफेक्टहरूबारे मलाई थाहा हुनुपर्छ?

गल्तीले एक डोज छुट भयो भने के गर्नु पर्छ?

निको हुने प्रक्रिया र जीवनशैलीबारे

काममा फर्कने वा गाडी चलाउने जस्ता दैनिक काम गर्न मलाई कहिलेदेखि हुन्छ?

कुनै खानेकुरा नखाएको राम्रो हुन्छ, वा समग्र खानपानमा केही बदलाव गर्नु पर्छ?

यो अवस्थामा शारीरिक व्यायाम गर्न मिल्छ, र मिल्छ भने कस्तो व्यायाम उपयुक्त हुन्छ?

धूम्रपान छाड्नु पर्छ, र छाड्न मद्दत पाइन्छ?

निरन्तर उपचार र स्याहारबारे

मलाई कति-कति समयमा फलो-अप जाँचका लागि आउनु पर्छ?

कुन लक्षण वा संकेतहरू देखिए तुरुन्तै आपतकालीन चिकित्सा सहायता लिनु पर्छ?

फेरि हृदयघात नआओस् भनी दैनिक जीवनमा के-के कुरामा ध्यान दिनु पर्छ?

नेपालमा उपचारको बाटो

नेपालमा लक्षण गम्भीर, बढ्दै गएको, चिन्ताजनक वा निको नभएको छ भने नजिकको स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, क्लिनिक वा अस्पतालमा स्वास्थ्यकर्मीसँग सल्लाह लिनुहोस्। अघिल्ला prescription, test report, allergy जानकारी र हाल खाइरहेका औषधि साथमा लैजानुहोस्। खतराका संकेत छन् भने तुरुन्त स्वास्थ्य संस्था वा अस्पताल जानुहोस्।

महत्त्वपूर्ण सूचना

यो जानकारी सामान्य स्वास्थ्य जानकारीका लागि मात्र हो। यसलाई डाक्टरको सल्लाह, जाँच, निदान, उपचार वा आपतकालीन सेवाको विकल्पका रूपमा प्रयोग गर्नु हुँदैन।