हाइपोथाइराइडिज्म / थाइराइड कम काम गर्ने अवस्था (Hypothyroidism)
हाइपोथाइराइडिज्म भनेको घाँटीको अगाडिपट्टि रहेको थाइराइड ग्रन्थिले शरीरलाई चाहिने मात्रामा थाइराइड हर्मोन बनाउन नसक्ने अवस्था हो। यी हर्मोनले शरीरको ऊर्जा प्रयोग, तापक्रम, मुटुको काम, पाचन प्रक्रिया र अन्य धेरै शारीरिक प्रक्रियालाई नियन्त्रण गर्न मद्दत गर्छन्।
नेपालमा यसलाई प्रायः "थाइराइड भएको" वा "थाइराइड कम भएको" भनिन्छ। तर "थाइराइड" ग्रन्थिको नाम हो, यसले कम काम गर्ने र बढी काम गर्ने दुवै समस्या हुन सक्छ। लक्षणका आधारमा मात्र छुट्याउन नसकिने भएकाले रगत परीक्षण आवश्यक हुन्छ।
लक्षणहरू

थाइराइड कम काम गर्दा देखिन सक्ने लक्षणहरू:
लगातार थकान वा शरीरमा ऊर्जा कम हुनु
सामान्यतया अरूलाई भन्दा बढी चिसो लाग्नु
स्पष्ट कारणबिना तौल बढ्नु
कब्जियत हुनु
छाला सुख्खा वा खस्रो हुनु
कपाल सुख्खा, पातलो हुनु वा कपाल झर्नु
मांसपेशी दुख्नु, बाउँडिनु वा कमजोर हुनु
ध्यान केन्द्रित गर्न वा कुरा सम्झन गाह्रो हुनु
मन उदास हुनु
मुटुको धड्कन असामान्य रूपमा ढिलो हुनु
आवाज धोद्रो हुनु
महिनावारी धेरै हुनु वा नियमित नहुनु
गर्भ रहन गाह्रो हुनु
आँखा, अनुहार, हात वा खुट्टा सुन्निनु
घाँटीको अगाडिपट्टि गाँठो वा सुन्निएको देखिनु
बालबालिकामा शारीरिक वृद्धि ढिलो हुनु, यौवनारम्भ सुरु हुन ढिलाइ हुनु, व्यवहार परिवर्तन हुनु वा पढाइमा असर पर्नु पनि थाइराइड समस्यासँग सम्बन्धित हुन सक्छ।
खतराका संकेत
तलका कुनै लक्षण भएमा तुरुन्त नजिकको अस्पताल जानुहोस्:
धेरै अलमलिनु, असामान्य रूपमा निद्रालु हुनु वा उठाउन गाह्रो हुनु
सास धेरै ढिलो चल्नु वा सास फेर्न गाह्रो हुनु
ढल्नु, झट्का/दौरा (seizure) आउनु वा बेहोस हुनु
शरीर असामान्य रूपमा चिसो हुनु र अत्यधिक कमजोरी हुनु
मुटुको धड्कन धेरै ढिलो हुनुका साथै चक्कर लाग्नु वा धेरै अस्वस्थ हुनु
घाँटी सुन्निएर सास फेर्न वा निल्न गाह्रो हुनु
यी लक्षणहरु थाइराइड अत्यन्त कम भएकोले हुन सक्छ जुन दुर्लभ तर ज्यानलाई नै जोखिम हुने अवस्थाको संकेत हुन सक्छन्।
घरमै गर्न सकिने हेरचाह
डाक्टरले दिएको थाइराइडको औषधि नियमित रूपमा लिनुहोस् र सल्लाहबिना बन्द नगर्नुहोस्।
आफूलाई ठीक महसुस भए पनि निर्धारित समयमा रगत परीक्षण गराउनुहोस्।
आफूले प्रयोग गरिरहेका सबै औषधि, भिटामिन, आइरन, क्याल्सियम, एसिडिटीका औषधि र जडीबुटीबारे स्वास्थ्यकर्मीलाई बताउनुहोस्।
स्वास्थ्यकर्मीको सल्लाहबिना आयोडिन वा "थाइराइड सपोर्ट" भनेर बेचिने सप्लिमेन्ट नलिनुहोस्।
लक्षण, औषधिमा भएको परिवर्तन र रगत परीक्षणको नतिजा लेखेर राख्नुहोस्।
गर्भवती हुनुहुन्छ, गर्भधारणको योजना बनाउँदै हुनुहुन्छ वा उपचारकै क्रममा गर्भ रहेको थाहा भयो भने चाँडै डाक्टरसँग सम्पर्क गर्नुहोस्। किनकि गर्भावस्थामा औसधिको मात्र थपघट गर्नुपर्ने हुनसक्छ।
उपचार

हाइपोथाइराइडिज्म पत्ता लगाउन प्रायजसो TSH र free T4 जस्ता थाइराइडसम्बन्धी रगतको परीक्षण गरिन्छ। समस्या पुष्टि भएपछि शरीरमा कम भएको थाइराइड हर्मोनको पूर्ति गर्न सामान्यतया लेभोथाइरोक्सिन औषधिको प्रयोग गरिन्छ।
औषधि सुरु गरेपछि वा मात्रा परिवर्तन गरेपछि रगत परीक्षण पुनः दोहोर्याउनुपर्छ। नतिजा स्थिर भएपछि पनि समय-समयमा परीक्षण गर्नु आवश्यक हुन्छ। धेरै व्यक्तिले लामो समय वा जीवनभर औषधि लिनुपर्ने हुन सक्छ, तर यो समस्याको कारणमा निर्भर हुन्छ।
लक्षण सुधार हुन केही समय लाग्न सक्छ। रगतको नतिजा सामान्य भए पनि लक्षण रहिरहेमा आफ्नै हिसाबले औषधिको मात्रा परिवर्तन गर्ने वा अर्को थाइराइड औषधि थप्ने काम नगरी डाक्टरसँग पुनः जचाउनुहोस।
डाक्टरलाई सोध्न मिल्ने प्रश्नहरू
मेरा लक्षणहरु थाइराइडको कमीले भएको हो कि अरु कुनै समस्या हुन सक्छ?
मेरो TSH र free T4 को नतिजाले के देखाउँछ?
थाइराइड कम हुनुको कारण के हुन सक्छ?
के थाइराइड एन्टिबडी परीक्षण आवश्यक छ?
लेभोथाइरोक्सिन औसधि कसरी र कुन समयमा लिनुपर्छ?
के मैले प्रयोग गर्ने अरू औषधि वा भिटामीनले यसलाई असर गर्छ?
रगत परीक्षण कहिले दोहोर्याउनुपर्छ?
रगतको नतिजा सामान्य भए पनि लक्षण रहेमा के गर्ने?
गर्भावस्था वा गर्भधारणको योजनाले उपचारमा के परिवर्तन गर्छ?
कुन लक्षण देखिएमा तुरुन्त अस्पताल जानुपर्छ?
नेपालमा उपचारको बाटो
नेपालमा लक्षण गम्भीर, बढ्दै गएको, चिन्ताजनक वा निको नभएको छ भने नजिकको स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, क्लिनिक वा अस्पतालमा स्वास्थ्यकर्मीसँग सल्लाह लिनुहोस्। अघिल्ला prescription, test report, allergy जानकारी र हाल खाइरहेका औषधि साथमा लैजानुहोस्। खतराका संकेत छन् भने तुरुन्त स्वास्थ्य संस्था वा अस्पताल जानुहोस्।
महत्त्वपूर्ण सूचना
यो जानकारी सामान्य स्वास्थ्य जानकारीका लागि मात्र हो। यसलाई डाक्टरको सल्लाह, जाँच, निदान, उपचार वा आपतकालीन सेवाको विकल्पका रूपमा प्रयोग गर्नु हुँदैन।