समीक्षित मार्गदर्शिका
Atopic eczema

एटोपिक एक्जिमा/डर्माटाइटिस (Atopic eczema/dermatitis)

एटोपिक एक्जिमा वा एटोपिक डर्माटाइटिस (Atopic eczema/dermatitis) वातावरणीय र वंशाणुगत कारणहरूले हुने एउटा दीर्घकालीन छालाको समस्या हो। यसले छालालाई सुख्खा बनाउने, चिलाउने, सुन्निने र कहिलेकाहीँ छालामा फोका उठाउने गर्छ। यो प्रायजसो बाल्यावस्थामा सुरु हुने भएता पनि जुनसुकै उमेरमा सुरु हुन सक्छ र पटक पटक बल्झिने गर्छ।

नेपालमा छालाको चिलाउने कुनै पनि समस्या लाई सामान्यतया "एलर्जी" भन्ने गरिन्छ, तर यो समस्या सधैं खानेकुरा वा अन्य एलर्जीका कारणले मात्र हुँदैन। अनि यो कुनै सरुवा रोग पनि होइन, त्यसैले छोएर एक व्यक्तिबाट अर्को व्यक्तिमा यो रोग सर्दैन।

यसको कुनै निश्चित र पूर्ण उपचार नभए पनि यसलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिन्छ। रोग बल्झाउने कारणहरू पहिचान गरेर त्यसबाट बच्ने, छालामा नियमित बाक्लो मोइस्चराइजर (moisturizer) प्रयोग गर्ने र चिकित्सकको सल्लाह लिएर यसको राम्रोसँग व्यवस्थापन गर्न सकिन्छ।

मोइस्चराइजर (moisturizer) भनेको छालाको सुख्खापन हटाएर यसलाई भित्रैदेखि नरम, चिप्लो र ओसिलो बनाइराख्न प्रयोग गरिने क्रिम, लोसन वा मलम हो।

लक्षणहरू

Atopic eczema - Symptoms

यसको लक्षणहरु व्यक्तिको उमेर, छालाको रङ र समस्याको गम्भीरता अनुसार फरक देखिन सक्छन्। जसमा:

छाला सुख्खा, संवेदनशील वा धेरै चिलाउने

छालामा रातो, सुन्निएको वा पोल्ने खालको दाग देखिनु

गाढा छालामा दाग बैजनी, खैरो, फिक्का वा वरिपरिको छालाभन्दा गाढा देखिन सक्छ

छाला फुट्ने/चिरा पर्ने, रगत आउने, पानी बग्नु वा पाप्रा बस्नु

स-साना उठेका दाना वा फोका आउनु

बारम्बार कोट्याउँदा छाला बाक्लो र खस्रो हुनु

चिलाइका कारण निद्रा बिग्रिनु

समय-समयमा लक्षण अचानक बढ्नु वा एक्जिमा बल्झिनु

शिशुमा प्रायः अनुहार र हातखुट्टाको बाहिरी भाग प्रभावित हुन्छ। ठूला बालबालिका र वयस्कमा कुहिनाको भित्री भाग, घुँडापछाडि, हात, अनुहार वा घाँटीमा बढी देखिन सक्छ।

खतराका संकेत

तलका मध्ये कुनै पनि लक्षण भएमा तुरुन्त स्वास्थ्यकर्मीको जाँच गराउनुहोस्:

एक्जिमा अचानक दुख्न थाल्नु वा छिट्टै धेरै बिग्रिनु

स-साना तर धेरै एक्कै ठाउँमा दुख्ने खालको फोका आउनु वा गोलाकार घाउ (अल्सर) आउनु

एक्जिमा बिग्रनुसँगै ज्वरो, धेरै थकान वा अस्वस्थता हुनु

रातोपन, तातोपन वा सुन्निने समस्या वरिपरि फैलिँदै जानु

पिप आउनु, पानी बढ्नु, पहेँलो पाप्रा बस्नु वा दुर्गन्ध आउनु

आँखा रातो वा दुख्ने, उज्यालो सहन नसक्ने, वा आँखानजिक छालामा फोका आउनु

अनुहार, ओठ, जिब्रो वा घाँटी अचानक सुन्निनु, वा सास फेर्न गाह्रो हुनु

शिशुले दूध नखानु, असामान्य रूपमा निद्रालु हुनु वा धेरै अस्वस्थ देखिनु

दुख्ने फोकाहरु आउँदै छ, एक्जिमा छिट्टै फैलिएको छ भने यो एक्जिमा हर्पेटिकम (eczema herpeticum) भनिने गम्भीर भाइरल संक्रमण हुन सक्छ, जसको तुरुन्त उपचार आवश्यक हुन्छ।

घरमै गर्न सकिने हेरचाह

Atopic eczema - Self-care

छाला सफा र स्वस्थ देखिएको बेलामा पनि नियमित रूपमा सुगन्ध नभएको (unperfumed) मोइस्चराइजर लगाउनुहोस्।

सुगन्धित साबुन र सावर जेलको सट्टा मोइस्चराइजर वा छालालाई असर नगर्ने साबुनको विकल्प (gentle soap substitute) प्रयोग गर्नुहोस्।

धेरै तातो पानीको सट्टा मनतातो पानीको प्रयोग गरी छोटो समयमा नुहाउनुहोस्।

नुहाएपछि तौलियाले बिस्तारै थपथपाएर छाला ओभाउन दिनुहोस् र त्यसको लगत्तै मोइस्चराइजर लगाउनुहोस्।

नङ छोटो राख्नुहोस् र सकेसम्म छाला कन्याउनबाट बच्नुहोस्।

नरम र हावा छिर्ने कपडाहरू लगाउनुहोस्। यदि ऊन वा खस्रो कपडाले छालालाई चिढ्याउँछ भने त्यस्ता कपडाहरू नलगाउनुहोस्।

गर्मी, पसिना, सुगन्धित उत्पादनहरू, धुलो वा तनाव जस्ता आफ्नो समस्या बल्झाउने कारणहरू (triggers) पहिचान गर्नुहोस्।

दक्ष स्वास्थ्यकर्मीको सल्लाह बिना बच्चाको खानाबाट धेरै प्रकारका खानेकुराहरू एकैपटक नहटाउनुहोस्।

ध्यान दिनुहोस्:

मोइस्चराइजरहरू कपडा र ओछ्यानमा सोसिँदा त्यसमा सजिलै आगो लाग्न सक्ने खतरा हुन्छ। त्यसैले, उपचार गरिएको (मोइस्चराइजर लगाएको) छाला र कपडाहरूलाई चुरोट, खाना पकाउने आगो, हिटर र अन्य खुल्ला आगोबाट सधैं टाढा राख्नुहोस्।

उपचार

मोइस्चराइजर नै एटोपिक एक्जिमाको मुख्य उपचार हो। छाला राम्रो भएको र समस्या बल्झिएको दुवै समयमा यसको प्रयोग जारी राखिन्छ।

छाला रातो, चिलाउने वा सुन्निएको अवस्थामा डाक्टरले उमेर, शरीरको प्रभावित भाग र समस्याको गम्भीरताअनुसार छालामा लगाउने स्टेरोइड औषधि सिफारिस गर्न सक्छन्। सही ठाउँमा, सही तरिकाले र सल्लाह दिइएको अवधिसम्म प्रयोग गर्दा यसले छालाको सुन्निने समस्या नियन्त्रण गर्न मद्दत गर्छ।

आवश्यकताअनुसार स्टेरोइड नभएका सुन्निने कम गर्ने क्रिम, औषधियुक्त पट्टी वा wet-wrap उपचार प्रयोग गर्न सकिन्छ। ब्याक्टेरियाको संक्रमण भएको अवस्थामा मात्र एन्टिबायोटिक आवश्यक पर्न सक्छ। एक्जिमा धेरै गम्भीर, बारम्बार बल्झिने वा सामान्य उपचारले नियन्त्रण नभएमा छाला रोग विशेषज्ञको जाँच, light therapy वा शरीरभरि असर गर्ने खालको औषधि को आवश्यकता हुन सक्छ।

डाक्टरलाई सोध्न मिल्ने प्रश्नहरू

यो एटोपिक एक्जिमा हो कि छालाको अर्को कुनै समस्या हुन सक्छ?

मेरो वा बच्चाको एक्जिमा के कारणले बल्झिरहेको छ?

कुन मोइस्चराइजर र साबुनको विकल्प हरु मेरो लागि उपयुक्त हुन्छ?

शरीरको कुन भागमा कुन स्टेरोइड क्रिम प्रयोग गर्ने?

कति मात्रामा र कति दिनसम्म लगाउने?

के मलाई ब्याक्टेरिया वा भाइरसको संक्रमण भएको संकेत छ?

के एलर्जी परीक्षण वा खानामा परिवर्तन गर्न वास्तवमै आवश्यक छ?

छाला रोग विशेषज्ञलाई कहिले देखाउनुपर्छ?

कुन लक्षण देखिएमा तुरुन्त अस्पताल जानुपर्छ?

नेपालमा उपचारको बाटो

नेपालमा लक्षण गम्भीर, बढ्दै गएको, चिन्ताजनक वा निको नभएको छ भने नजिकको स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, क्लिनिक वा अस्पतालमा स्वास्थ्यकर्मीसँग सल्लाह लिनुहोस्। अघिल्ला prescription, test report, allergy जानकारी र हाल खाइरहेका औषधि साथमा लैजानुहोस्। खतराका संकेत छन् भने तुरुन्त स्वास्थ्य संस्था वा अस्पताल जानुहोस्।

महत्त्वपूर्ण सूचना

यो जानकारी सामान्य स्वास्थ्य जानकारीका लागि मात्र हो। यसलाई डाक्टरको सल्लाह, जाँच, निदान, उपचार वा आपतकालीन सेवाको विकल्पका रूपमा प्रयोग गर्नु हुँदैन।