कानको संक्रमण (Ear infections)
कानको संक्रमण कानका फरक भागमा हुन सक्छ। यसले बाहिरी कानको नलीमा संक्रमण हुन सक्छ, वा कानको पर्दाभित्र रहेको मध्य कानमा संक्रमण हुन सक्छ।।मध्य कानको संक्रमण प्रायगरी रुघाखोकीपछि, अनि विशेष गरी बालबालिकाहरुमा देखिन्छ भने बाहिरी कानको संक्रमण, कानको बाहिरी नलीमा चोट, जलन, वा पानीले भिजेको कारणले हुन सक्छ। धेरैजसो सामान्य कानका संक्रमण केही दिनमा आफैं सुधार हुन सक्छन्, तर केही अवस्थामा स्वास्थ्यकर्मीको जाँच र उपचार आवश्यक पर्न सक्छ।
लक्षणहरू
कान दुख्नु
ज्वरो आउनु
कान कम सुन्नु वा कान बन्द भएको जस्तो लाग्नु
कानबाट पानी, पिप, वा तरल पदार्थ बग्नु
कानभित्र दबाब (pressure) वा भरिएको (fullness) जस्तो महसुस हुनु
कानको बाहिरी नली वरिपरि चिलाउनु, जलन हुनु, वा छाला खस्रो हुनु
कान बज्नु (ringing) वा चक्कर लाग्नु
सानो बच्चाहरुले कान समात्नु, तान्नु, वा रगड्नु
साना बच्चाहरुले दूध/खाना कम खानु, धेरै रुनु, निद्रा बिग्रिनु, वा चिडचिडापन बढ्नु
यी लक्षणहरु कानेगुजी (earwax) धेरै हुदा, दाँतको समस्या, घाँटीको संक्रमण, बङ्गाराको समस्या, चोट, वा कानभित्र केही वस्तु अड्किएको बेलामा हुने लक्षणसँग पनि मिल्न सक्छ।
खतराका संकेत

तलका कुनैपनि लक्षणहरु भएमा तुरुन्त नजिकको अस्पताल जानुहोस्
कानको पछाडि सुन्निनु, रातो हुनु, वा धेरै दुख्नु
उच्च ज्वरोसँगै धेरै वा बढ्दै गएको कान दुखाइ
धेरै टाउको दुख्नु, घाँटी कडा हुनु, अलमलिनु, धेरै निद्रालु हुनु, वा बान्ता हुनु
अनुहारको एक भाग कमजोर हुनु
अचानक धेरै चक्कर लाग्नु, सन्तुलन बिग्रिनु, वा आचानक रूपमा कान कम सुन्नु
चोटपटकपछि कानबाट रगत वा पिप आउनु
३ महिनाभन्दा कम उमेरको बच्चालाई ज्वरो आउनु वा धेरै अस्वस्थ देखिनु
मधुमेह, प्रतिरक्षा शक्ति कमजोर, वा रक्तसञ्चारको समस्या भएको व्यक्तिमा धेरै कान दुख्नु वा कानबाट पिप आउनु
कानको पछाडि सुन्निने वा दुख्ने समस्या मास्टोइडाइटिस (mastoiditis) को संकेत हुन सक्छ, जुन गम्भीर समस्या हो र तुरुन्त उपचार चाहिन्छ।
घरमै गर्न सकिने हेरचाह
पर्याप्त रूपमा आराम गर्नुहोस् र झोलिलो पदार्थ प्रसस्त पिउनुहोस्।
तपाईं वा बच्चाका लागि सुरक्षित भएमा प्यारासिटामोल वा आइबुप्रोफेन प्रयोग गर्न सकिन्छ। जहिले पनि प्याकेटको निर्देशन पालना गर्नुहोस् वा डाक्टर/फार्मासिस्टसँग सोध्नुहोस्।
कानमा न्यानो कपडा हल्का राख्दा दुखाइ कम हुन सक्छ।
कानबाट पानी वा पिप आइरहेको छ, वा बाहिरी कानको संक्रमणको शङ्का छ भने कान सुख्खा राख्नुहोस्।
कटन बड, हेयरपिन, तेल, जडीबुटीको थोपा, वा अन्य कुनै वस्तु कानभित्र नहाल्नुहोस्। यसले कानको नलीमा चोट पार्न सक्छ, कानेगुजीलाई झन् भित्र धकेल्न सक्छ, संक्रमण बढाउन सक्छ, वा कानको पर्दामा क्षति पुर्याउन सक्छ। कुनै पनि कानको थोपा डाक्टरको सल्लाहमा मात्र प्रयोग गर्नुहोस्।
पहिलेको बाँकी रहेको एन्टिबायोटिक औसधि वा अरूले प्रयोग गरेको कानको थोपा प्रयोग नगर्नुहोस्।
लक्षण २-३ दिनमा सुधार नभए, झन् बढे, वा कानबाट पिप/पानी आएमा तुरुन्त स्वास्थ्यकर्मीको सल्लाह लिनुहोस्।
उपचार
यसको उपचार जहिलेपनि संक्रमणको प्रकार, बिरामी उमेर, लक्षण, र के के जोखिमहरु छ त्यसमा निर्भर हुन्छ।
धेरै मध्य कानका संक्रमण भाइरसका कारण हुन्छन् र एन्टिबायोटिकबिना नै सुधार हुन सक्छन्। लक्षणको गम्भीरता, उमेर, कानबाट पिप आएको छ कि छैन, के दुवै कान प्रभावित छन्, र जटिलता वा जोखिम हेरेर डाक्टरले एन्टिबायोटिक दिने नदिने निर्णय गर्न सक्छन्।
बाहिरी कानको संक्रमणमा कानको थोपा र कान सुख्खा राख्ने सल्लाह आवश्यक पर्न सक्छ। कानको नली धेरै सुन्निएको वा बन्द भएको छ भने स्वास्थ्यकर्मीले सुरक्षित रूपमा कान जाँच वा सफा गर्न सक्छन्। उपयुक्त उपचार सुरु भएपछि केही दिनमा सुधार हुन सुरु हुन्छ।
बारम्बार कानको संक्रमण, लामो समयसम्म पिप बगिरहनु, कान कम सुन्नु, वा जटिलताको कुनै पनि शङ्का भएमा नाक-कान-घाँटी (ENT) को विशेषज्ञलाई देखाउनुपर्ने हुन सक्छ।
डाक्टरलाई सोध्न मिल्ने प्रश्नहरू

यो मध्य कानको संक्रमण हो कि बाहिरी कानको संक्रमण?
यो भाइरसका कारण हो कि ब्याक्टेरियाका कारण हुन सक्छ?
के मलाई वा मेरो बच्चालाई एन्टिबायोटिक वा कानको थोपा चाहिन्छ?
के मेरो कानको पर्दा ठीक छ कि फुटेको छ?
दुखाइ कम गर्न मलाई कुन औषधि खादा ठिक हुन्छ जुन मेरो लागि सुरक्षित पनि हुन्छ?
लक्षण कति दिनमा सुधार हुन सुरु हुनुपर्छ?
संक्रमणपछि कान सुन्ने क्षमता जाँच गर्नुपर्छ कि नाई?
बारम्बार कान संक्रमण नहोस् भनेर के के गर्न सकिन्छ?
के के लक्षण देखिएमा म तुरुन्त अस्पताल जानुपर्छ?
नेपालमा उपचारको बाटो
नेपालमा लक्षण गम्भीर, बढ्दै गएको, चिन्ताजनक वा निको नभएको छ भने नजिकको स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, क्लिनिक वा अस्पतालमा स्वास्थ्यकर्मीसँग सल्लाह लिनुहोस्। अघिल्ला prescription, test report, allergy जानकारी र हाल खाइरहेका औषधि साथमा लैजानुहोस्। खतराका संकेत छन् भने तुरुन्त स्वास्थ्य संस्था वा अस्पताल जानुहोस्।
महत्त्वपूर्ण सूचना
यो जानकारी सामान्य स्वास्थ्य जानकारीका लागि मात्र हो। यसलाई डाक्टरको सल्लाह, जाँच, निदान, उपचार वा आपतकालीन सेवाको विकल्पका रूपमा प्रयोग गर्नु हुँदैन।