नङको फंगल संक्रमण (Fungal Nail Infection)
नङको फंगल संक्रमण भनेको फंगस (ढुसी ) का कारण नङमा हुने संक्रमण हो। यो प्रायः खुट्टाको नङमा हुन्छ, तर कहिलेकाही हातको नङमा पनि हुन सक्छ। यसको medical term ओनिकोमाइकोसिस (Onychomycosis) हो।
यसको कारण नङ बिस्तारै बाक्लो हुने, रङ परिवर्तन हुने, नङ सजिलै भाचिने / नाजुक वा बाङ्गोटिङ्गो देखिने जस्तो लक्षणहरु देखिन सक्छन। यो प्रायजसो गम्भीर हुँदैन र यसको उपचार सफल हुनमा धेरै महिना लाग्न सक्छ र सफल ऊपचार पछि पनि नङ पूर्ण रूपमा पहिले जस्तै नदेखिन सक्छ।
लक्षणहरू
नङको फंगल संक्रमणमा तलका लक्षणहरू देखिन सक्छ:
नङ पहेंलो, सेतो, खैरो, कालो, वा हरियो जस्तो रङ परिवर्तन हुनु
नङ बाक्लो, खस्रो, वा बाङ्गोटिङ्गो हुनु
नङ नाजुक भएर टुक्रिनु, वा नङको तलको भागबाट छुट्टिनु
नङमुनि सेतो वा पहेंलो पदार्थ / पीप जम्मा हुनु
जुत्ता लगाउँदा वा हिँड्दा दुख्नु वा दबाब महसुस हुनु
नङ वरिपरिको छाला रातो, सुन्निएको, दुख्ने, वा संवेदनशील हुनु
औँलाबीच चिलाउने, छाला खस्रो हुने, चिरा पर्ने, वा फुट्ने जस्ता एथ्लिट्स फुट (Athlete's foot - खुट्टाको फंगल संक्रमण) का लक्षण हुनु
सबै बाक्लो वा रङ बदलेका नङ फंगल संक्रमणका कारण हुँदैनन्। चोटपटक, सोरायसिस, एक्जिमा, उमेर बढ्नु, रक्तसञ्चारको समस्या, वा अन्य नङसम्बन्धी अवस्थाले पनि यस्तै देखिन सक्छ।
खतराका संकेत
तलका कुनै लक्षण भएमा तुरुन्त स्वास्थ्यकर्मीको सल्लाह लिनुहोस् वा अस्पताल जानुहोस्:
नङ वरिपरि धेरै दुख्ने, रातो, तातो, सुन्निएको, पिप आउने, ज्वरो आउने, वा धेरै अस्वस्थ महसुस हुने
नङबाट खुट्टा, हात, वा खुट्टाको माथिल्लो भागतर्फ रातोपन वा सुन्निने छिट्टै फैलिँदै जानु
नङमा नयाँ कालो वा गाढा धर्का देखिनु, धर्का बढ्दै जानु, वा चोट नलागी यस्तो देखिनु
धेरै दुख्नु, औलामा महसुस कम हुनु, औँला वा खुट्टाको रङ बदलिनु, वा चिसो हुनु
मधुमेह वा रक्तसञ्चारको समस्या भएको व्यक्तिमा दुख्ने नङ, छाला फुटेको, घाउ, वा संक्रमणका लक्षण हुनु
रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको व्यक्तिमा छाला वा नङको संक्रमण बढ्दै जानु
यी लक्षण ब्याक्टेरियाको संक्रमण, रक्तसञ्चारको समस्या, छालाको क्यान्सर, वा अन्य समस्या हुन सक्ने संकेत हुन सक्छन्।
घरमै गर्न सकिने हेरचाह

खुट्टा र हात सफा तथा सुख्खा राख्नुहोस्।
नुहाएपछि औँलाबीचको भाग राम्रोसँग सुकाउनुहोस्।
मोजा दैनिक फेर्नुहोस् र हावा छिर्ने जुत्ता लगाउनुहोस्।
जुत्ता फेरि लगाउनुअघि राम्ररी सुक्न दिनुहोस्।
जुत्ता, मोजा, तौलिया, नेल कटर, वा नेल फाइल अरूसँग शेयर नगर्नुहोस्।
साझा पब्लिक नुहाउने ठाउँ, स्विमिङ पुल, वा चेन्जिङ रुममा चप्पल वा जुत्ता लगाउनुहोस्।
नङ सिधा काट्नुहोस् र बाक्लो नङलाई असहज नहुने गरी हल्का फाइल गर्न सक्नुहुन्छ।
नेल कटर वा फाइल प्रयोगपछि सफा गर्नुहोस्।
एथ्लिट्स फुट भए समयमै उपचार गर्नुहोस्, ताकि फंगस नङमा नफैलियोस्।
नङमुनि खोतल्ने, छालाभित्र गहिरो काट्ने, वा नङ तथा वरिपरिको छाला बिगार्न सक्ने कडा रसायन प्रयोग नगर्नुहोस्।
उपचार

हल्का फंगल नङ संक्रमणमा फार्मेसीबाट पाइने एन्टिफंगल - बाहिर लगाउने औषधि प्रयोग गर्न सकिन्छ। यी औषधि धेरै महिनासम्म नियमित प्रयोग गर्नुपर्ने हुन सक्छ, प्रायजसो नयाँ स्वस्थ नङ उम्रिँदासम्म। संक्रमण नङको धेरै भागमा वा नङको जरासम्म फैलिएको छ भने यी औषधि कम प्रभावकारी हुन सक्छन्।
संक्रमण धेरै फैलिएको, दुखाइ भएको, वा उपचारपछि पनि सुधार नभएको अवस्थामा डाक्टरले नङको सानो टुक्रा वा नमुना परीक्षणका लागि पठाउन सक्छन्। संक्रमणको प्रकार र अवस्थाअनुसार कहिलेकाहीँ खाने एन्टिफंगल औषधि बाहिर लगाउने औषधिभन्दा बढी प्रभावकारी हुन सक्छ। तर यस्तो औषधि सबैका लागि सुरक्षित हुँदैन। यसले अन्य औषधिसँग प्रतिक्रिया गर्न सक्छ, गर्भावस्थामा उपयुक्त नहुन सक्छ, र कलेजोमा असर गर्ने जोखिम पनि हुन सक्छ। त्यसैले खाने एन्टिफंगल औषधि सुरु गर्नु अघि स्वास्थ्यकर्मीको जाँच र सल्लाह आवश्यक हुन्छ। जथाभाबी किनिएका एन्टिफंगल ट्याब्लेट, अरूको औषधि, वा स्वास्थ्यकर्मीको सल्लाहबिना लामो समयको उपचार सुरु नगर्नुहोस्।
डाक्टरलाई सोध्न मिल्ने प्रश्नहरू
के यो वास्तवमै फंगल संक्रमण हो कि सोरायसिस, चोटपटक, वा अन्य नङसम्बन्धी समस्या पनि हुनसक्छ?
उपचारअघि नङको टुक्रा वा प्रयोगशाला परीक्षण आवश्यक छ?
के क्रिम / नङ मा लगाउने liquid प्रयोग उपयुक्त हुन्छ, वा मलाई ट्याब्लेट नै चाहिन्छ?
स्वस्थ नङ फेरि उम्रिन कति समय लाग्न सक्छ?
एन्टिफंगल ट्याब्लेट मैले नियमित खाने औषधिहरुसँग सुरक्षित छन्?
के उपचारअघि वा उपचारका क्रममा कलेजोको रगत परीक्षण आवश्यक छ?
म गर्भवती, स्तनपान गराइरहेको, वा गर्भधारणको योजना बनाइरहेको छु भने यो उपचार सुरक्षित छ?
संक्रमण फेरि नहोस् भनेर के गर्न सकिन्छ?
के एथ्लिट्स फुट वा अन्य फंगल छाला संक्रमणको पनि उपचार गर्नुपर्छ?
नेपालमा उपचारको बाटो
नेपालमा लक्षण गम्भीर, बढ्दै गएको, चिन्ताजनक वा निको नभएको छ भने नजिकको स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, क्लिनिक वा अस्पतालमा स्वास्थ्यकर्मीसँग सल्लाह लिनुहोस्। अघिल्ला prescription, test report, allergy जानकारी र हाल खाइरहेका औषधि साथमा लैजानुहोस्। खतराका संकेत छन् भने तुरुन्त स्वास्थ्य संस्था वा अस्पताल जानुहोस्।
महत्त्वपूर्ण सूचना
यो जानकारी सामान्य स्वास्थ्य जानकारीका लागि मात्र हो। यसलाई डाक्टरको सल्लाह, जाँच, निदान, उपचार वा आपतकालीन सेवाको विकल्पका रूपमा प्रयोग गर्नु हुँदैन।