समीक्षित मार्गदर्शिका
Irritable bowel syndrome (IBS)

इरिटेबल बाउल सिन्ड्रोम (Irritable bowel syndrome - IBS)

इरिटेबल बाउल सिन्ड्रोम (IBS) पेट तथा आन्द्राको कार्यप्रणालीसँग सम्बन्धित एक आम र दीर्घकालीन समस्या हो। यस अन्तर्गत मुख्यतया बारम्बार पेट दुख्ने, बटारिने र दिसाको नियमिततामा परिवर्तन आउने गर्दछ। यसमा कसैलाई झाडापखाला लाग्ने, कसैलाई कब्जियत हुने त कसैलाई पालैपालो दुवै लक्षण देखिने हुन सक्छ। यसका लक्षणहरू समय-समयमा घटबढ भइरहन्छन्। जसका कारण व्यक्तिको कार्यसम्पादन, निद्रा, भ्रमण र दैनिक जीवनमा प्रत्यक्ष असर पर्न सक्छ। बिरामीमा देखिएका लक्षणहरूको प्रकृति र अन्य सम्भावित रोगहरूको अनुपस्थितिलाई पुष्टि गरिसकेपछि मात्र चिकित्सकद्वारा आईबीएसको पहिचान गरिन्छ।

लक्षणहरू

देखिन सक्ने लक्षणहरू:

पेट दुख्नु वा बटारिनु, विशेष गरी खाना खाएपछि बढ्नु र दिसा गरेपछि केही कम हुनु

पेट फुल्नु, कस्सिएको वा सुन्निएको जस्तो हुनु

पखाला लाग्नु, तुरुन्त दिसा जानुपर्ने हुनु वा कहिलेकाही शौचालय पुग्न गाह्रो हुनु

कब्जियत हुनु, दिसा गर्दा धेरै बल लगाउनुपर्ने वा दिसा पूरा ननिस्किएको जस्तो हुनु

कहिले पखाला र कहिले कब्जियत हुनु

धेरै वायु जानु वा दिसामा चिप्लो पदार्थ देखिनु

वाकवाकी, थकान, ढाड दुखाइ वा पिसाबसम्बन्धी समस्या हुनु

केही खानेकुरा, क्याफिनयुक्त पेय पदार्थ, मदिरा, मानसिक तनाव वा चिन्ताले पनि लक्षण बढाउन सक्छ। सबै मानिसहरुमा IBS को कारण एउटै हुँदैन।

खतराका संकेत

Irritable bowel syndrome (IBS) - Red flags

यीमध्ये कुनै समस्या भए छिट्टै स्वास्थ्यकर्मीबाट जाँच गराउनुहोस्:

दिसामा रगत आउनु, रगत मिसिएको पखाला लाग्नु वा दिसा कालो हुनु

कारण नखुलेको तौल घट्नु

लगातार ज्वरो आउनु वा राति धेरै पसिना आउनु

पेटमा कडा गाँठो महसुस हुनु वा पेटको सुन्निने समस्या बढ्दै जानु

लगातार बान्ता हुनु वा शरीरमा पानीको कमीका संकेत देखिनु

असामान्य रूपमा शरीर फिक्का हुनु, सास फेर्न गाह्रो हुनु वा मुटु धेरै ढुकढुक गर्नु

लक्षणका कारण राति बारम्बार निद्राबाट ब्युँझिनु

दिसासम्बन्धी नयाँ समस्या छिटो बिग्रँदै जानु वा पहिलेको भन्दा फरक हुनु

परिवारमा आन्द्राको क्यान्सर, अण्डाशयको क्यान्सर, आन्द्रा सुन्निने रोग वा सिलिएक (coeliac disease) रोगको बलियो इतिहास हुनु

एक्कासि धेरै पेट दुखेमा, बेहोस वा ढल्ने अवस्था आएमा वा धेरै रगत बगेमा तुरुन्त आपत्कालीन उपचार लिनुहोस्।

घरमै गर्न सकिने हेरचाह

सधै नियमित समयमा खाना खानुहोस्, बिस्तारै खानुहोस् र छाक नछोड्नुहोस्।

पर्याप्त पानी पिउनुहोस्, विशेष गरी पखाला लागेको बेला।

खाएको खाना, दिसाको अवस्था, तनाव र लक्षणको विवरण डाइरीमा लेखेर राख्नुहोस्।

नियमित शारीरिक व्यायाम गर्नुहोस् र निद्रा तथा आरामका लागि समय छुट्याउनुहोस्।

आफ्नो लक्षण अनुसार फाइबर (रेशादार खाना) को मात्रा मिलाउनुहोस्। ओट्समा पाइने घुलनशील फाइबरले आराम दिन सक्छ, तर केही मानिसहरूमा गहुँ वा चामल जस्ता अन्नहरूले पेट फुल्ने समस्यालाई अझ बढाउन सक्छ।।

क्याफिन (चिया/कफी), अल्कोहल, ग्याँस भएका पेय पदार्थ (कोक/फेन्टा आदि) र धेरै चिल्लो, पिरो वा बट्टामा राखिएका प्रशोधित खानाहरू कम गर्नुहोस्।

केही सुगर-फ्री मिठाई र पेय पदार्थहरूमा पाइने 'सोर्टबिटोल' (Sorbitol) को अत्यधिक प्रयोगबाट बच्नुहोस्।

आफ्नो खानपानमा परिवर्तन गर्दा एक पटकमा एउटा मात्र कुरा फेर्नुहोस्। विशेषज्ञको सल्लाह बिना एकैचोटि धेरैथरी खानाहरू बार्ने वा छोड्ने नगर्नुहोस्।

'लो-फोडम्याप' (Low-FODMAP) डाइट सुरु गर्नुअघि डाइटिसियन (dietitian - पोषणविद्) वा यसबारे तालिमप्राप्त विशेषज्ञको परामर्श लिनु आवश्यक हुन्छ।

उपचार

Irritable bowel syndrome (IBS) - Treatment

मुख्य लक्षणका अनुसार उपचारहरु फरक हुन सक्छ। पेट बटारिने समस्याका लागि स्वास्थ्यकर्मीले आन्द्राको बाउँडिन कम गर्ने औषधि वा पेपरमिन्ट तेल, कब्जियतका लागि उपयुक्त दिसा खुलाउने औषधि, वा पखालाका लागि लोपेरामाइड सुझाब गर्न सक्छन्। ल्याक्टुलोजले आईबीएस भएका केही मानिसमा वायु र पेट फुल्ने समस्या बढाउन सक्छ।

लक्षण कम नभएमा डाक्टरले आन्द्राको चाल वा पेट दुखाइमा असर गर्ने अन्य औषधि विचार गर्न सक्छन्। लामो समयसम्म पेट दुखिरहेमा डिप्रेसन नभएको व्यक्तिलाई पनि कहिलेकाहीँ कम मात्रामा एन्टिडिप्रेसेन्ट औषधि प्रयोग गरिन्छ।

जाँचमा रगतको मात्रा, शरीरमा सूजन अवस्थाका सूचक (inflammatory markers), सिलिएक (coeliac disease) रोगको परीक्षण र कहिलेकाहीँ दिसामा आन्द्राको सुन्निने संकेत खोज्ने परीक्षण समावेश हुन सक्छ। सामान्य आईबीएसका लक्षण भएका सबैलाई कोलोनोस्कोपी आवश्यक पर्दैन।

डाक्टरलाई सोध्न मिल्ने प्रश्नहरू

मेरा लक्षण आईबीएससँग मिल्छन् कि अर्को रोगको सम्भावना छ?

के मलाई रगत वा दिसाको जाँच आवश्यक छ?

मेरो मुख्य समस्या पखाला, कब्जियत वा पेट दुखाइमध्ये कुन हो?

खानामा सबैभन्दा पहिले के परिवर्तन गरूँ?

के डाइटिसियनसँग सल्लाह लिनु उपयोगी हुन्छ?

कुन औषधि उपयुक्त हुन्छ र के-कस्ता साइड इफेक्ट वास्ता गर्नु पर्छ?

कुन परिवर्तन देखिए फेरि जाँच गराउनुपर्छ?

नेपालमा उपचारको बाटो

नेपालमा लक्षण गम्भीर, बढ्दै गएको, चिन्ताजनक वा निको नभएको छ भने नजिकको स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, क्लिनिक वा अस्पतालमा स्वास्थ्यकर्मीसँग सल्लाह लिनुहोस्। अघिल्ला prescription, test report, allergy जानकारी र हाल खाइरहेका औषधि साथमा लैजानुहोस्। खतराका संकेत छन् भने तुरुन्त स्वास्थ्य संस्था वा अस्पताल जानुहोस्।

महत्त्वपूर्ण सूचना

यो जानकारी सामान्य स्वास्थ्य जानकारीका लागि मात्र हो। यसलाई डाक्टरको सल्लाह, जाँच, निदान, उपचार वा आपतकालीन सेवाको विकल्पका रूपमा प्रयोग गर्नु हुँदैन।