
झाडापखाला (Diarrhoea)
पखाला एक सामान्य पाचन समस्या हो जसमा दिनको तीन वा सोभन्दा बढी पटक पातलो वा पानी जस्तो दिसा हुन्छ। यो प्रायः संक्रमण (ब्याक्टेरिया वा भाइरसले शरीरमा रोग लगाउने अवस्था) का कारण हुन्छ - विशेष गरी दूषित खाना खाँदा वा अशुद्ध पानी पिउँदा।
पखालाको सबैभन्दा ठूलो खतरा भनेको शरीरबाट छिट्टै पानी बाहिरिनु हो। धेरै पानी गुमाउँदा शरीरमा पानीको कमी [Dehydration] हुन्छ। यो अवस्था गम्भीर बन्न सक्छ र सानो बच्चाहरू तथा वृद्धहरूलाई यसको जोखिम सबैभन्दा बढी हुन्छ।
सफाइको राम्रो बानी अपनाएर पखालाबाट बच्न सकिन्छ। खाना छुनुअघि र शौचालय प्रयोग गरेपछि साबुन र सफा पानीले हात धुने गर्नुहोस्। साथै, खाना राम्ररी पकाउने र पिउने पानी सुरक्षित छ भनी सुनिश्चित गर्नाले पनि पखालाको जोखिम कम हुन्छ।
खतराका संकेत
तपाईं वा तपाईंले हेरचाह गरिरहनुभएको व्यक्तिमा तलका कुनै पनि खतराका संकेतहरू देखिएमा तुरुन्त चिकित्सकको सहायता लिनुहोस्:
गम्भीर रूपमा पानीको कमी वा निर्जलीकरण (Severe Dehydration) हुनु। यसका संकेतहरूमा अत्यधिक तिर्खा लाग्नु, मुख धेरै सुक्खा हुनु, पिसाब धेरै कम हुनु वा आँखा भित्र धसिएजस्तो देखिनु पर्छ। बच्चाहरूमा रोएको तर आँसु नआएको छ कि भनेर हेर्नुहोस्। यसका साथै अत्यधिक रिंगटा लाग्नु, कमजोरी महसुस हुनु वा व्यक्ति असाधारण रूपमा निदाएको र ब्युँझाउन गाह्रो भएको छ भने ध्यान दिनुहोस्।
शरीरको तापक्रम धेरै बढी हुनु।
पेटमा तीव्र दुखाइ भइरहनु र कम नहुनु।
दिसामा रगत देखिनु वा दिसा कालो देखिनु।
लामो समयसम्म पखाला लागिरहनु, विशेषगरी सानो बच्चा वा वृद्धवृद्धामा।
बारम्बार बान्ता भइरहनु जसले गर्दा व्यक्तिले पानी वा कुनै पनि तरल पदार्थ पिउन वा पेटमा राख्नै नसक्ने हुनु।
यो पृष्ठले के बताउन सक्दैन
यस पृष्ठमा दिइएको जानकारी पखालाबारे सामान्य जानकारीका लागि मात्र हो। यसले डाक्टर वा योग्य स्वास्थ्यकर्मीको व्यक्तिगत सल्लाहको विकल्प हुन सक्दैन।
यस पृष्ठबाट तपाईंका लक्षण पखालाका कारण हुन् वा अन्य कुनै रोगका कारण हुन् भन्ने निश्चित गर्न सकिँदैन। पखाला किन भइरहेको छ भन्ने सही कारण, तपाईंका लागि कुन उपचार वा औषधि उपयुक्त हुन्छ, वा तुरुन्त चिकित्सा सहायता आवश्यक छ कि छैन भन्ने निर्णय पनि यहाँको जानकारीबाट गर्न मिल्दैन।
विशेष गरी शरीरमा पानीको गम्भीर कमी (डिहाइड्रेसन) का लक्षण देखिएमा, लक्षण गम्भीर भएमा, वा अन्य स्वास्थ्य समस्या भएमा ढिलाइ नगरी स्वास्थ्यकर्मीसँग सम्पर्क गर्नुहोस्।
रोगको सही पहिचान, व्यक्तिगत सल्लाह, तथा आफ्नो अवस्थाअनुसार उपचार योजनाका लागि कृपया डाक्टर वा योग्य स्वास्थ्यकर्मीसँग परामर्श गर्नुहोस्।
सामान्य कारणहरू
पखाला लाग्ने सामान्य कारणहरू
पखाला विभिन्न कारणले हुन सक्छ। सबैभन्दा सामान्य कारण पेट वा आन्द्राको संक्रमण हो, जुन दूषित खाना वा पानीबाट हुन सक्छ। अन्य कारणहरूमा:
खाना विषाक्तता
भाइरसको संक्रमण, जस्तै नोरोभाइरस
ब्याक्टेरिया वा परजीवीको संक्रमण
केही खानेकुरा, खानाप्रतिको असहिष्णुता, वा अचानक खानपानमा परिवर्तन
केही औषधि, विशेष गरी एन्टिबायोटिक वा दिसा खुलाउने औषधि
तनाव वा चिन्ता
लामो समयदेखि रहने आन्द्रासम्बन्धी समस्या, जस्तै इरिटेबल बाउल सिन्ड्रोम (IBS) वा इन्फ्लेमेटरी बाउल डिजिज (IBD)
धेरैजसो अवस्थामा पखाला केही दिनभित्र निको हुन्छ। तर पखाला धेरै गम्भीर भएमा, अपेक्षाभन्दा लामो समयसम्म रहेमा, बारम्बार दोहोरिएमा, वा चिन्ताजनक लक्षणसँगै भएमा स्वास्थ्यकर्मीको जाँच आवश्यक हुन सक्छ।
यो किन महत्त्वपूर्ण छ
पखालाले शरीरबाट पानी र आवश्यक नुन-खनिज छिट्टै बाहिर जान सक्छ। यसले शरीरमा पानीको कमी अर्थात् डिहाइड्रेसन गराउन सक्छ। यो विशेष गरी शिशु, साना बालबालिका, वृद्धवृद्धा, गर्भवती व्यक्ति, तथा दीर्घकालीन रोग भएका व्यक्तिमा बढी जोखिमपूर्ण हुन सक्छ।
धेरैजसो पखाला सामान्य र हल्का हुन्छ। तर कहिलेकाहीँ यो गम्भीर संक्रमण वा अन्य स्वास्थ्य समस्याको संकेत पनि हुन सक्छ। त्यसैले चेतावनीका लक्षण चिन्नु, पर्याप्त तरल पदार्थ पिउनु, र आवश्यक परेमा स्वास्थ्यकर्मीसँग सल्लाह लिनु महत्त्वपूर्ण हुन्छ।

घरमै गर्न सकिने हेरचाह
पखाला लाग्दा शरीरबाट पानी धेरै छिटो बाहिर निस्कन्छ। यस अवस्थामा सबभन्दा जरुरी काम भनेको गुमेको पानी र तरल पदार्थ फिर्ता गरेर डिहाइड्रेसन हुनबाट जोगाउनु हो।
प्रशस्त तरल पदार्थ पिउनुस्: दिनभर नियमित रूपमा तरल पदार्थ पिइरहनुस्। सफा खानेपानी, नरिवलको पानी, र हल्का सुप वा झोल राम्रा विकल्प हुन्। यी पदार्थहरूले शरीरले गुमाएको तरल फिर्ता गर्न मद्दत गर्छन्।
जीवनजल (ORS) प्रयोग गर्नुस्: ORS पखालाको उपचारमा धेरै उपयोगी हुन्छ। यसको हरेक प्याकेटमा पानी, नुन र चिनीको सही मात्रा हुन्छ, जसले शरीरलाई तरल पदार्थ राम्रोसँग सोस्न मद्दत गर्छ। नियमित रूपमा ORS पिउँदा निर्जलीकरण गम्भीर हुनबाट रोक्न सकिन्छ। प्याकेटमा लेखिएको बनाउने तरिका ध्यानपूर्वक पढेर पालना गर्नुस्।
सादा, पचाउन सजिलो र हल्का खाना खानुस्: खान मन लागेपछि थोरै मात्राबाट सुरु गर्नुस् र सादा, हल्का खाना रोज्नुस्। भात, केरा र उसिनेको आलु राम्रो विकल्प हुन्, किनकि यी पेटमा सजिलै पच्छन्। तेलिलो, पिरो र धेरै मीठो खाना नखानुस्। दूध लगायत डेयरी उत्पादनहरू पनि नखानुस्, किनकि यिनले पखाला झन् बढाउन सक्छन्।
आराम गर्नुस्: निको हुन शरीरलाई शक्ति चाहिन्छ। अनि शरीरलाई पर्याप्त आराम दिनुहोस।
हात राम्ररी धुनुस्: शौचालय प्रयोग गरिसकेपछि र खाना छुनु वा खानुअघि साबुन र सफा पानीले राम्ररी हात धुनुस्। यो बानीले घर र समुदायमा पखाला अरूलाई सर्नबाट रोक्ने सबभन्दा प्रभावकारी उपायहरूमध्ये एक हो।
कहिले डाक्टर देखाउने
यदि तलका कुनै पनि कुरा लागू हुन्छ भने डाक्टरकहाँ वा स्वास्थ्य केन्द्रमा जानुस्
घरमा हेरचाह गर्दा पनि दुई-तीन दिनमा पखाला निको भएन।
पखाला लागेको शिशु, सानो बच्चा, वृद्ध व्यक्ति, वा लामो समयदेखि अरू कुनै रोगबाट पीडित व्यक्तिका बारेमा चिन्ता लागेको छ।
शरीरमा पानीको कमी (dehydration) का कुनै पनि लक्षण देखिएका छन्, हल्का नै किन नहोस।
लक्षणहरू सुध्रिनुको साटो झन् बिग्रिँदै गएका छन्।

डाक्टरले के जाँच गर्न सक्छन्
डाक्टर वा योग्य स्वास्थ्यकर्मीले तपाईंलाई यी कुराबारे सोध्न सक्छन्:
पखाला कहिलेदेखि सुरु भयो र दिनमा कति पटक भइरहेको छ।
दिसामा रगत वा सिगान जस्तो लेदो छ कि छैन, बान्ता, ज्वरो, वा पेट धेरै दुखेको छ कि छैन।
शरीरमा पानीको कमीका लक्षण छन् कि छैनन्, जस्तै धेरै तिर्खा लाग्नु, चक्कर लाग्नु, पिसाब कम हुनु, वा असामान्य थकान हुनु।
हालै खाएको खाना वा पिउने पानी, यात्रा, बिरामी व्यक्तिसँग सम्पर्क, वा एन्टिबायोटिक सेवन गरेको इतिहास।
तपाईंका अन्य स्वास्थ्य समस्या, नियमित औषधि, तथा गर्भवती हुने सम्भावना।
उहाँहरूले तापक्रम, नाडी, रक्तचाप, शरीरमा पानीको मात्रा, तथा पेटको जाँच गर्न सक्छन्। तपाईंका लक्षण र अवस्था अनुसार दिसा परीक्षण, रगत परीक्षण, वा पिसाब परीक्षण पनि गर्न सुझाव दिन सकिन्छ।
नेपालको सन्दर्भ
पखाला एक सामान्य स्वास्थ्य समस्या भएतापनि सानो उमेरका बच्चाहरूमा यसले गम्भीर निर्जलीकरण (Dehydration - शरीरमा पानीको कमी) हुने जोखिम बढाउछ। देशका केही भागहरूमा सफा पिउने पानी र सरसफाइको उचित व्यवस्था सधैं उपलब्ध हुँदैन, जसले गर्दा पखाला लाग्ने सम्भावना बढ्न सक्छ। राम्रो सरसफाइको बानी अपनाउनु र खानेकुरा तथा पानीको सुरक्षामा ध्यान दिनु नै यो रोगबाट बच्ने मुख्य उपाय हो।
राख्न उपयोगी रेकर्डहरू
डाक्टरकहाँ जानुअघि केही सरल कुराहरू नोट गरेर लैजानुभयो भने डाक्टरले तपाईंको अवस्था चाँडै बुझ्न सक्नुहुन्छ।
लक्षणहरू नोट गर्नुहोस्
पखाला कहिलेदेखि सुरु भयो र कति दिनदेखि भइरहेको छ
दिनमा कति पटक पातलो वा पानी जस्तो दिसा भइरहेको छ
दिसामा रगत वा सेतो लेसदार पदार्थ देखिएको छ कि छैन
अरू कुनै लक्षण छ कि - जस्तै बान्ता, ज्वरो, पेट मर्कने, वा टाउको घुम्ने
खानपानको कुरा नोट गर्नुहोस्
पखाला सुरु हुनुभन्दा अघिल्ला २४ देखि ४८ घण्टामा के के खानुभयो वा पिउनुभयो
अपरिचित ठाउँको वा सफा नगरिएको पानी पिउनुभएको थियो कि थिएन
उही खाना खाएका अरू कोही पनि बिरामी परेका छन् कि छैनन्
पानी र तरल पदार्थ कति पिउनुभयो
बिरामी व्यक्तिले दिनभरमा कति पानी वा तरल पदार्थ पिउन सक्नुभयो
ORS (नुन-चिनी-पानीको घोल) प्रयोग गर्नुभयो भने, कति पटक र कति मात्रामा दिनुभयो
कुन औषधि खानुभयो
हाल नियमित खाइरहेका सबै औषधिहरू - अन्य रोगका लागि भए पनि
पखाला निको गर्न लिनुभएका औषधिहरू र ती औषधिले फाइदा गर्यो कि गरेन
सानो बच्चा वा ज्येष्ठ नागरिकको हकमा
बच्चाले कति पटक पिसाब गर्यो वा ज्येष्ठ व्यक्तिले कति पटक पिसाब गर्नुभयो भनेर नोट गर्नुहोस् - यसले शरीरमा पानीको कमी भएको छ कि छैन थाहा पाउन मद्दत गर्छ
होस-हवास, थकान, वा स्वभावमा कुनै फरक आएको छ कि छैन
महत्त्वपूर्ण सूचना
यो जानकारी सामान्य स्वास्थ्य जानकारीका लागि मात्र हो। यसलाई डाक्टरको सल्लाह, जाँच, निदान, उपचार वा आपतकालीन सेवाको विकल्पका रूपमा प्रयोग गर्नु हुँदैन।
यो निर्देशिका सुधार्न सहयोग गर्नुहोस्
के तपाईंले यस निर्देशिकामा कुनै त्रुटि देख्नुभयो वा यसबारे हामीलाई कुनै सुझाव दिन चाहनुहुन्छ? HamroSwasthya टोलीलाई सन्देश पठाउनुहोस्।