टाइफाइड ज्वरो (Typhoid Fever)
टाइफाइड ज्वरो एक गम्भीर ब्याक्टेरियाजन्य संक्रमण हो, जो दूषित खाना र पानीबाट फैलिन्छ। सफा नभएको पानी पिउँदा वा राम्ररी नपकाएको तथा सफा पानीले नधोएको खाना खाँदा यो रोग लाग्न सक्छ। विशेष गरी जहाँ सफा पानी र राम्रो सरसफाइको सुविधा सधैँ उपलब्ध नहुन सक्छ, त्यस्ता ठाउँमा के खाने र के पिउने भन्ने कुरामा सावधान रहनु जरुरी छ। खोप लगाउनु र सरसफाइको राम्रो बानी अपनाउनु आफूलाई र परिवारलाई यो रोगबाट जोगाउनका लागि महत्त्वपूर्ण उपाय हुन्।
लक्षणहरू

टाइफाइड ज्वरो दूषित पानी पिउँदा वा राम्ररी नपकाएको वा सफा पानीले नधोएको खाना खाँदा सर्छ। यो रोग एसिया, अफ्रिका र मध्य तथा दक्षिण अमेरिकाका धेरै भागहरूमा सामान्यतया देखिन्छ।
संक्रमण भएको सामान्यतया ३ हप्ताभित्र लक्षणहरू देखिन थाल्छन्, तर कहिलेकाहीँ ६ हप्तासम्म पनि लाग्न सक्छ।
सामान्य लक्षणहरूमा यी पर्छन्:
धेरै दिनसम्म बिस्तारै बढ्दै जाने खालको उच्च ज्वरो
टाउको दुखाइ
खोकी
जाडो लाग्ने, शरीर दुख्ने र पीडा हुने
थकान महसुस हुने वा अस्वस्थ लाग्ने
कब्जियत वा सामान्यभन्दा कम दिसा हुने
भोक नलाग्ने
पेट दुख्ने र पखाला पनि हुन सक्छ, तर यी लक्षणहरू प्रायः अरू लक्षण देखिइसकेपछि मात्रै आउँछन्।
केही मानिसहरूमा, विशेषगरी माथिल्लो शरीरमा हल्का गुलाबी रंगका दागहरू देखिन सक्छन्। कालो छालामा यस्ता दाग पहिल्याउन गाह्रो हुन सक्छ।
टाइफाइड ज्वरोको समयमा उपचार नगरिएमा यसले गम्भीर जटिलताहरू निम्त्याउन सक्छ, जस्तै शरीर भित्रै रक्तस्राव हुने वा पेरिटोनाइटिस (Peritonitis) - अर्थात् पेटको भित्री झिल्लीमा संक्रमण हुने अवस्था।
खतराका संकेत
नजिकैको अस्पतालको आपतकालीन विभागमा तुरुन्त जानुहोस् वा स्थानीय आपतकालीन सेवामा फोन गर्नुहोस् यदि:
अचानक पेट दुख्न थालेको छ र दुखाइ बढ्दै गइरहेको छ
दिसा कालो वा गाढा रातो रङको छ
रगत वान्ता भइरहेको छ, वा वान्तामा पिँधिएको कफीजस्तो देखिने कुरा आइरहेको छ
आफैँ गाडी चलाएर अस्पताल नजानुहोस्। कसैलाई लगिदिन भन्नुहोस् वा एम्बुलेन्स बोलाउनुहोस्।
आपतकालीन उपचारका लागि जाँदा आफूले खाइरहेका सबै औषधिहरू साथमा लिएर जानुहोस्।
घरमै गर्न सकिने हेरचाह
घरमा आफैं हेरचाह गर्ने तरिका
यदि तपाईंको डाक्टरले टाइफाइड ज्वरो भएको पुष्टि गरेको छ र घरमै निको हुन सकिने बताएको छ भने, तलका उपायहरू अपनाउँदा आराम मिल्छ र छिटो निको हुन सहयोग पुग्छ।
डाक्टरले दिएको एन्टिबायोटिक पूरा खानुहोस्
डाक्टरले दिएको एन्टिबायोटिक, बीचैमा ठीक लागे पनि ,पूरा कोर्स नसकिदा सम्म बन्द नगर्नुहोस् । बीचमा छोड्यो भने संक्रमण फेरि फर्कन सक्छ र पछि उपचार गर्न झन् गाह्रो हुन सक्छ।
जति सक्यो आराम गर्नुहोस्
शरीरले संक्रमणसँग लड्न ऊर्जा खर्च गर्छ। पूरै निको नभएसम्म आराम गर्नुहोस् र भारी काम वा कठिन शारीरिक गतिविधिबाट टाढा रहनुहोस्।
पानी र तरल पदार्थ पर्याप्त पिउनुहोस्
धेरै ज्वरो आउँदा शरीरबाट छिट्टै पानी घट्छ। दिनभर सफा र सुरक्षित पानी मनग्यै पिइरहनुहोस्। ज्वरो, पसिना वा पखालाले गुमेको पानी र नुन प्रतिस्थापन गर्न जीवनजल (ORS) पिउनुहोस् - यो फार्मेसी र स्वास्थ्य चौकीहरूमा सजिलै पाइन्छ।
ज्वरो कम गर्नुहोस्
ज्वरोले धेरै असहज भएमा, प्याकेटमा लेखिएको तरिका वा डाक्टरको सल्लाह अनुसार प्यारासिटामोल लिन सकिन्छ - यसले ज्वरो घटाउँछ र दुखाइमा पनि आराम दिन्छ। डाक्टरले नभनेसम्म आइबुप्रोफेन वा एस्पिरिन नखानुहोस्।
हल्का र सजिलोसंग पच्ने खाना खानुहोस्
ज्वरोमा भोक कम लाग्छ र पेट पनि नाजुक हुन सक्छ। भात, रोटी वा झोल जस्ता सादा खाना थोरैथोरै गरी पटकपटक खानुहोस्। पूरै निको नभएसम्म पिरो, तेलिलो खाना नखानुहोस्।
घरमा सरसफाइमा विशेष ध्यान दिनुहोस्
टाइफाइड घरका अरू सदस्यहरूमा पनि सर्न सक्छ। शौचालय गएपछि र खाना छुनुभन्दा अगाडि साबुनपानीले राम्ररी हात धुनुहोस्। सकेसम्म आफ्नो छुट्टै तौलिया प्रयोग गर्नुहोस् र शौचालय सधैं सफा राख्नुहोस्।
सुरक्षित पानी मात्र पिउनुहोस्
निको हुँदासम्म उमालेको, फिल्टर गरेको वा उपचार गरेको पानी मात्र पिउनुहोस्। धारो वा सफा नभएको स्रोतको पानी नपिउनुहोस्।
अरूका लागि खाना नपकाउनुहोस्
डाक्टरले संक्रमण सकियो भनेर नभनेसम्म अरूको लागि खाना बनाउन वा छुनबाट टाढा रहनुहोस्। यो कुरा विशेषगरी उनीहरूले ध्यान दिनुपर्छ जो खाना पकाउने काम गर्छन्, स्वास्थ्य सेवामा काम गर्छन् वा साना बच्चाहरूको हेरचाह गर्छन्।
फलोअप जाँचमा नछुटाउनुहोस्
डाक्टरले थप परीक्षण वा जाँचका लागि आउन भन्न सक्छन् - यसमा नछुटाउनुहोस्। किनभने केही मानिसहरूमा ज्वरो निको भइसकेपछि पनि ब्याक्टेरिया शरीरमा रहन सक्छ र अरूमा सर्न सक्छ।
उपचार

यदि टाइफाइड ज्वरोको शंका भएमा, डाक्टरले तपाईंको रगत, दिसा र पिसाबको नमुना परीक्षण गर्ने व्यवस्था मिलाउनुहुनेछ। यी परीक्षणहरू राम्रोसँग गर्नका लागि तपाईंलाई अस्पताल जानु पर्न सक्छ।
टाइफाइड ज्वरोको उपचार एन्टिबायोटिक बाट गरिन्छ। डाक्टरले ज्वरो घटाउनका लागि थप औषधि पनि दिन सक्नुहुन्छ। एन्टिबायोटिक सुरु गरेपछि तपाईंलाई बिस्तारै सुधार हुँदै जान्छ, तर उच्च ज्वरो पूर्ण रूपमा सामान्य हुन झण्डै पाँच दिनसम्म लाग्न सक्छ।
बीचमै ठिक भएजस्तो लागेपनि एन्टिबायोटिकको पूरै कोर्स सकाउनु अत्यन्त जरुरी छ। बीचैमा छोड्यो भने संक्रमण फेरि फर्किन सक्छ वा उपचार गर्न झनै कठिन हुन सक्छ।
यदि तपाईंको काम खाना बनाउने वा बेच्ने, बिरामीको हेरचाह गर्ने, वा साना बालबालिकासँग नजिकबाट काम गर्नेसँग जोडिएको छ भने, दिसा परीक्षणले संक्रमण हटेको पुष्टि नगरेसम्म काममा नजानु पर्न सक्छ। पाँच वर्षमुनिका बालबालिकालाई पनि परीक्षणको नतिजाले संक्रमण नभएको देखाएसम्म विद्यालय वा डे-केयरमा नपठाउनु राम्रो हुन्छ।
डाक्टरलाई सोध्न मिल्ने प्रश्नहरू
अपोइन्टमेन्टमा जानुअघि केही प्रश्नहरू तयार गरेर जानुभयो भने डाक्टरसँगको भेट अझ उपयोगी हुन्छ। तलका प्रश्नहरू सोध्न सक्नुहुन्छ:
रोगको बारेमा
मलाई टाइफाइड ज्वरो नै हो भन्ने निश्चित छ, वा अरू केही पनि हुन सक्छ?
कुन-कुन परीक्षण गर्नुपर्छ, र रिपोर्ट कहिले आउँछ?
अहिले मेरो संक्रमण कति गम्भीर छ?
उपचारको बारेमा
मलाई कुन एन्टिबायोटिक दिनुभएको छ, र किन?
कति दिनसम्म खानुपर्छ, र एक पटक खान बिर्सिएँ भने के गर्ने?
यो औषधिका कुनै साइड इफेक्ट छन् जसमा ध्यान दिनुपर्छ?
एन्टिबायोटिकसँगै ज्वरो वा दुखाइका लागि अरू औषधि पनि खान मिल्छ?
निको हुनेको बारेमा
म घरमै निको हुन सक्छु, वा अस्पतालमा भर्ना हुनुपर्छ?
कुन लक्षणहरू देखिए फेरि अस्पताल आउनुपर्छ?
निको हुन कति समय लाग्ला?
काम, स्कुल वा दैनिक जीवनमा कहिलेदेखि फर्कन मिल्छ?
अरूलाई सुरक्षित राख्नेको बारेमा
मेरोबाट घरका अरुलाई टाइफाइड सर्न सक्छ? सर्छ भने के-के सावधानी अपनाउने?
घरका कुनै सदस्यले डाक्टर देखाउनु वा परीक्षण गर्नुपर्छ?
भविष्यमा बच्नेको बारेमा
पछि टाइफाइड विरुद्धको खोप लगाउनु राम्रो हुन्छ?
टाइफाइड फेरि नलागोस् भनेर के गर्नु सबैभन्दा राम्रो उपाय हो?
नेपालमा उपचारको बाटो
नेपालमा लक्षण गम्भीर, बढ्दै गएको, चिन्ताजनक वा निको नभएको छ भने नजिकको स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, क्लिनिक वा अस्पतालमा स्वास्थ्यकर्मीसँग सल्लाह लिनुहोस्। अघिल्ला prescription, test report, allergy जानकारी र हाल खाइरहेका औषधि साथमा लैजानुहोस्। खतराका संकेत छन् भने तुरुन्त स्वास्थ्य संस्था वा अस्पताल जानुहोस्।
महत्त्वपूर्ण सूचना
यो जानकारी सामान्य स्वास्थ्य जानकारीका लागि मात्र हो। यसलाई डाक्टरको सल्लाह, जाँच, निदान, उपचार वा आपतकालीन सेवाको विकल्पका रूपमा प्रयोग गर्नु हुँदैन।