युरिक एसिड/गाउट (Gout)
नेपालमा धेरैजसो मानिसले यो समस्यालाई �युरिक एसिड� भनेर चिन्ने गर्छन्। वास्तवमा युरिक एसिड भनेको रगतमा हुने एक रसायन हो। जब यसको मात्रा बढेर जोर्नीमा स-साना क्रिस्टल जम्न थाल्छ, त्यसले अचानक धेरै दुख्ने, सुन्निने, रातो हुने, र तातो हुने समस्या गराउँछ। यही अवस्थालाई खासमा गाउट (gout) भनिन्छ।
गाउट प्रायः खुट्टाको बूढी औँलामा देखिन्छ, तर खुट्टाको गोलीगाँठो, घुँडा, हातको नाडी, औँला, वा कुहिनोमा पनि हुन सक्छ।
गाउट भनेको छोटो समयको लागि हुने दुखाइ मात्र होइन। यदि राम्रोसँग व्यवस्थापन नगरेमा युरेट क्रिस्टल समयसँगै जम्मा हुँदै जान सक्छ, एसले बारम्बार सताउन सक्छ, जोर्नी वरिपरि गिर्खा जस्तो डल्ला बन्न सक्छ, र दीर्घकालीन रूपमा जोर्नीमा क्षति पुर्याउन सक्छ।
लक्षणहरू

गाउटको अवस्था अचानक बल्झिदा देखिन सक्ने लक्षणहरू:
एउटा वा धेरै जोर्नीमा अचानक धेरै दुखाइ हुनु
जोर्नी सुन्निनु, रातो हुनु, तातो हुनु, वा छाला चिल्लो देखिनु
हल्का छुँदा वा बिस्तारामा तन्नाले छुदा पनि धेरै दुख्नु
दुखाइ प्रायजसो राति वा बिहान सबेरै सुरु हुनु
प्रभावित जोर्नी चलाउन वा टेकेर हिँड्न गाह्रो हुनु
केही दिनदेखि केही हप्तामा दुखाइ घट्नु, तर पछि फेरि दोहोरिनु वा बल्झिनु
लामो समयदेखि गाउट भएमा जोर्नी नजिक छालामुनि कडा डल्ला बन्नु, जसलाई टोफाइ (tophi)भनिन्छ
कहिलेकाही गाउट अन्य रोग जस्तै पनि देखिन सक्छ जसमा जोर्नीभित्रको संक्रमण, चोटपटक, वा अन्य प्रकारका बाथ पर्छन।
खतराका संकेत
तलका कुनै पनि लक्षण देखिएमा तुरुन्त स्वास्थ्यकर्मीको सल्लाह लिनुहोस् वा नजिकको अस्पताल जानुहोस्:
अचानक जोर्नी दुख्ने र सुन्निने समस्यासँगै ज्वरो, चिसो लाग्ने, वा धेरै अस्वस्थ महसुस हुनु
जोर्नीको दुखाइ छिट्टै बिग्रँदै जानु
वाकवाकी लाग्नु, खान नसक्नु, अलमलिनु, ढल्नु, वा धेरै कमजोरी हुनु
चोट, शल्यक्रिया, जोर्नीमा सुई लगाएको, वा जोर्नी नजिक घाउ भएपछि जोर्नी तातो, रातो, र सुन्निनु
मधुमेह, मिर्गौलाको रोग, प्रतिरक्षा शक्ति कमजोर, वा कृत्रिम जोर्नी भएको व्यक्तिमा नयाँ जोर्नी सुन्निनु
जोर्नी धेरै दुखेर चलाउन वा टेकेर हिँड्न नसक्नु
बच्चामा जोर्नी सुन्निनु
यी लक्षण जोर्नीभित्रको संक्रमण वा अन्य गम्भीर समस्याको संकेत हुन सक्छन्, जसको लागि तुरुन्त जाँच र ऊपचारको आवश्यकता हुन्छ।
घरमै गर्न सकिने हेरचाह
गाउटको अवस्था अचानक बल्झिको शङ्का भएमा:
सम्भव भए प्रभावित जोर्नीलाई आराम दिनुहोस् र अलि माथि राख्नुहोस्।
कपडाले बेरेको आइस प्याक छोटो समयका लागि राख्दा आराम हुन सक्छ।
स्वास्थ्यकर्मीले पानी सीमित गर्न भनेको छैन भने पर्याप्त पानी पिउनुहोस्।
गाउट बल्झिदा मदिराबाट टाढा रहनुस, विशेष गरी बियर र कडा मदिराबाट।
दुखेको जोर्नीमा धेरै दबाब नदिनुहोस्।
तपाईंका लागि कुन दुखाइ कम गर्ने औषधि सुरक्षित हुन्छ भनेर डाक्टरसँग सोध्नुहोस्।
लामो समयका लागि रोकथाम गर्न:
तौल बढी छ भने बिस्तारै तौल कम गर्न्नुहोस, तर crash dieting वा लामो समय भोकै बस्ने काम नगर्नुहोस्।
मदिराले गाउटको अवस्था अचानक बल्झाउछ भने यसलाई कम वा बन्दै गर्नुहोस।
धेरै चिनी भएका पेय पदार्थ र धेरै purine भएको खाना तपाईंमा समस्या बढाउँछ त्यसैले purine भन्ने तत्व खानामा सीमित गर्नुहोस्।
रक्तचाप, मधुमेह, मिर्गौलाको रोग, र कोलेस्ट्रोल छ भने एसको राम्रोसँग व्यवस्थापन/उपचार गराऊनुहोस।
स्वास्थ्यकर्मीले नभनेसम्म गाउटको नियमित खाने औषधि बल्झिको बेलामा पनि बन्द नगर्नुहोस्।
उपचार

गाउटको उपचारका दुई मुख्य उद्देश्य हुन्छन्: बल्झिको बेलामा हुँने दुखाइ र सुन्निने कम गर्नु, र भविष्यमा बल्झिन नदिनु।
गाउट बल्झिको बेलामा डाक्टरले तपाईंको उमेर, मिर्गौलाको अवस्था, पेटसम्बन्धी जोखिम, अन्य रोग, र नियमित औषधि हेरेर anti-inflammatory औषधि, colchicine, वा steroid दिन सक्छन्।
गाउट बारम्बार दोहोरिन्छ, टोफाइ बनेको छ, मिर्गौलामा पत्थरी भएको छ, पुरानो गाउटले जोर्नीमा असर गरेको छ, वा जोखिम बढी छ भने लामो समयका लागि urate-lowering treatment आवश्यक पर्न सक्छ। Allopurinol वा febuxostat जस्ता औषधिले रगतमा युरेटको मात्रा घटाएर समयसँगै क्रिस्टल पगाल्न मद्दत गर्छन्।
स्वास्थ्यकर्मीको सल्लाहबिना गाउटको औषधि सुरु, बन्द, वा मात्रा परिवर्तन नगर्नुहोस्। केही औषधि सुरु गर्दा वा मात्रा मिलाउँदा रगत परीक्षण र नियमित अनुगमन आवश्यक हुन सक्छ।
डाक्टरलाई सोध्न मिल्ने प्रश्नहरू
यो गाउट नै हो कि जोर्नीको संक्रमण वा अन्य बाथ रोग हुन सक्छ?
के मलाई रगतमा uric acid जाँच, जोर्नीको पानीको जाँच, X-ray, ultrasound, वा अन्य कुनै imaging चाहिन्छ?
के मेरो मिर्गौला, पेट, मुटु, र नियमित औषधि हेर्दा यो बेला बल्झिएको बेलामा खाने कुन औषधि सुरक्षित हुन्छ?
के मलाई लामो समयका लागि urate-lowering treatment सुरु गर्नुपर्छ?
मेरो uric acid level कति सम्म झार्ने लक्ष्य छ?
रगत परीक्षण कति-कति समयमा गर्नुपर्छ?
बल्झिएको बेलामा गाउटको नियमित औषधि खान जारी राख्ने कि रोक्ने?
मैले खाइरहेका कुनै औषधिले uric acid बढाइरहेको हुन सक्छ त?
मेरो लागि खाना, मदिरा, तौल, वा जीवनशैलीमा कुन परिवर्तन मेरोलागि सबैभन्दा उपयोगी हुन्छ?
दुख्ने र सुन्निएको जोर्नीमा कुन लक्षण देखिए तुरुन्त अस्पताल जानुपर्छ?
नेपालमा उपचारको बाटो
नेपालमा लक्षण गम्भीर, बढ्दै गएको, चिन्ताजनक वा निको नभएको छ भने नजिकको स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, क्लिनिक वा अस्पतालमा स्वास्थ्यकर्मीसँग सल्लाह लिनुहोस्। अघिल्ला prescription, test report, allergy जानकारी र हाल खाइरहेका औषधि साथमा लैजानुहोस्। खतराका संकेत छन् भने तुरुन्त स्वास्थ्य संस्था वा अस्पताल जानुहोस्।
महत्त्वपूर्ण सूचना
यो जानकारी सामान्य स्वास्थ्य जानकारीका लागि मात्र हो। यसलाई डाक्टरको सल्लाह, जाँच, निदान, उपचार वा आपतकालीन सेवाको विकल्पका रूपमा प्रयोग गर्नु हुँदैन।