उच्च रक्तचाप (High Blood Pressure)
उच्च रक्तचाप (High Blood Pressure) - जसलाई Hypertension पनि भनिन्छ - यो भनेको रगतले नसाको भित्तामा पार्ने दबाब सामान्यभन्दा बढी हुने अवस्था हो। यो अतिरिक्त दबाबले बिस्तारै मुटु, रगतका नसाहरू, मिर्गौला (kidney) र दिमागलाई नोक्सान पुर्याउन सक्छ - र प्रायः जसो कुनै लक्षण देखिनुअघि नै यो क्षतिहरु भइसकेको हुन्छ। यो विश्वभरिमै सबैभन्दा सामान्य दीर्घकालीन स्वास्थ्य समस्याहरूमध्ये एक हो, र हृदयघात (heart attack), मस्तिष्कघात (stroke) तथा मिर्गौलाको रोगहरुको एउटा प्रमुख कारण पनि हो। सुरुआती अवस्थामा यसले सामान्यतया कुनै स्पष्ट संकेत देखाउँदैन, त्यसैले धेरै मान्छेलाई नियमित जाँचमा नगएसम्म आफूलाई उच्च रक्तचाप छ भन्ने थाहा नै हुँदैन। यसलाई चाँडो पत्ता लगाउने एक्लो भरपर्दो उपाय भनेको नियमित रूपमा रक्तचाप नाप्नु नै हो। सही उपचार र जीवनशैलीमा बदलाव ल्याएमा उच्च रक्तचापलाई सामान्यतया राम्रोसँग नियन्त्रणमा राख्न सकिन्छ।
लक्षणहरू
उच्च रक्तचापलाई प्रायः "मौन रोग" भनिन्छ, किनकि कहिले काही रक्तचाप धेरैनै बढी भएता पनि धेरैजसो मान्छेमा यसको कुनै लक्षण देखिँदैन। यही कारणले नियमित जाँच नगरेमा यो वर्षौंसम्म थाहै नपाइकन रहन सक्छ।
कहिलेकाहीं लक्षणहरू देखिए पनि, ती सामान्यतः अन्य धेरै कारणले पनि हुन सक्ने खालका हुन्छन् - त्यसैले यी लक्षणहरू मात्रै देखेर उच्च रक्तचाप छ भन्न मिल्दैन। केही मान्छेले यस्ता कुराहरू महसुस गर्छन्:
टाउको दुख्ने, प्रायः बिहान उठ्दा र विशेषगरी टाउकोको पछाडि
टाउको घुम्ने वा रिंगटा लाग्ने
आँखा धमिलो हुने वा देख्न गाह्रो हुने
सास फेर्न गाह्रो हुने
नाकबाट रगत आउने
धड्कन छिटो / ढुक्ढुक महसुस हुने (Palpitations)
यी लक्षणहरू सधैं देखिँदैनन्, र यी देखिए पनि रक्तचाप बढेकै छ भन्ने ढुक्क हुन मिल्दैन। आफ्नो रक्तचाप कति छ भनेर जान्ने एक मात्र तरिका भनेको जाँच गराउनु नै हो।
कहिलेकाहीं रक्तचाप अत्यन्त असुरक्षित स्तरसम्म बढ्न सक्छ र गम्भीर लक्षणहरू देखिन सक्छन्, जसमा तुरुन्त चिकित्सा सहायता आवश्यक पर्छ। यस्तो अवस्थामा के-के संकेतहरूमा ध्यान दिने भन्ने कुरा तल खतराका संकेत (red flags) खण्डमा हेर्नुहोस्।
> महत्त्वपूर्ण: लक्षण देखिएपछि मात्र जाँच गराउँछु भन्ने नसोच्नुहोस्। धेरैजसो मान्छे पूरै स्वस्थ महसुस गर्छन्, तर भित्रभित्रै उच्च रक्तचापले शरीरलाई बिस्तारै नोक्सान पुर्याइरहेको हुन सक्छ। नियमित रक्तचाप जाँच नै यो पत्ता लगाउने एक मात्र भरपर्दो तरिका हो।
खतराका संकेत
तलका लक्षणहरू रक्तचाप अचानक खतरनाक स्तरमा पुगेको वा ज्यान जोखिममा पार्ने गम्भीर समस्याको संकेत हुन सक्छन्। ढिला नगर्नुहोस् - नजिकको अस्पतालको आपतकालीन कक्षमा तुरुन्तै जानुहोस् वा आपतकालीन सवारी साधनको व्यवस्था गर्नुहोस्।
तपाईंलाई वा अरू कसैलाई तलका लक्षण देखिएमा तुरुन्तै आपतकालीन सहायता लिनुहोस्:
अचानक असह्य टाउको दुखाइ - जुन अघि कहिल्यै भएको जस्तो नहोस्, जसलाई प्राय: "बिजुली चम्केजस्तो" वा "जीवनकै सबैभन्दा भयानक टाउको दुखाइ" भनिन्छ
एकातर्फको अनुहार, हात वा खुट्टामा अचानक कमजोरी, सुन्निने वा पक्षाघात हुनु
अचानक बोल्न, सुनेको कुरा बुझ्न वा सही शब्द खोज्न गाह्रो हुने
एक वा दुवै आँखाको दृष्टि अचानक जाने, वा अचानक दोहोरो देखिने
छातीमा तीव्र दुखाइ वा च्यापिएजस्तो महसुस हुने, र दुखाई हात, बङ्गारा वा ढाडतर्फ सर्ने
आराम गरेको बेला पनि अचानक सास फेर्न अत्यन्त गाह्रो हुने
मानसिक अन्योल, अचानक असामान्य खालको निद्रा वा बेहोस हुने
Seizures (शरीर काम्ने र बेहोस हुने अवस्था) - जुन अघि कहिल्यै भएको थिएन
अचानक सन्तुलन वा तालमेल गुम्ने, वा सामान्य रूपमा हिँड्न नसक्ने
यी लक्षणहरू मस्तिष्कघात (स्ट्रोक), हृदयघात वा उच्च रक्तचापको आपतकालीन अवस्थाको संकेत हुन सक्छन् - यस्ता अवस्थामा हरेक मिनेट महत्त्वपूर्ण हुन्छ। सम्भव भएसम्म आफैं गाडी नचलाउनुहोस्। तुरुन्तै आपतकालीन सहायता लिनुहोस्।
घरमै गर्न सकिने हेरचाह

स्वस्थ जीवनशैली अपनाउनु उच्च रक्तचाप नियन्त्रण गर्ने सबैभन्दा प्रभावकारी तरिकाहरूमध्ये एक हो। यी उपायहरू डाक्टरले सलाह दिइएको उपचारसँगै अपनाउने हो - उपचारको सट्टा होइन।
मुटुको लागि स्वस्थकर खाना खानुहोस्
नुन (सोडियम) कम गर्नुहोस्। खाना पकाउँदा नुन कम प्रयोग गर्ने कोशिश गर्नुहोस् र थालमा थप नुन हाल्ने बानी छाड्नुहोस्। नुनिलो खाजा, अचार, प्याकेटका खाना र इन्स्ट्यान्ट नूडल्स कम खानुहोस् - यी खानाहरूमा लुकेको नुन प्रशस्त हुन्छ।
तरकारी, फलफूल र दालभात, खैरो चामल, र गहुँको रोटी जस्ता अन्न भरपूर खानुहोस्।
चिल्लो, भुटेको र फ्याट युक्त खाना कम गर्नुहोस्। स्वस्थकर तेल रोज्नुहोस् र अत्यधिक घिउ वा बोसोयुक्त खाना खानबाट जोगिनुहोस्।
रक्सी कम गर्नुहोस्। नियमित रक्सी पिउँदा रक्तचाप बढ्छ। पिउने मात्रा घटाउँदा वा पूर्णरूपमा छाड्दा अजै राम्रो फरक पर्न सक्छ।
शारीरिक रूपमा सक्रिय रहनुहोस्
जस्तै हप्ताको धेरैजसो दिन लगभग ३० मिनेट छिटो हिँड्नु जस्तो नियमित मध्यम व्यायामले समयसँगै रक्तचाप घटाउन मद्दत गर्छ। आफूलाई मन पर्ने र लगातार गर्न सकिने गतिविधि रोज्नुहोस्। यदि अन्य स्वास्थ्य समस्या छ भने कति व्यायाम गर्नु उचित छ भनेर डाक्टरलाई सोध्नुहोस्।
स्वस्थ तौल कायम राख्नुहोस्
अतिरिक्त तौलले मुटु र रक्तनलीमा थप दबाब पार्छ। स्वस्थ खानपान र व्यायामसँगै थोरै तौल घटाउँदा पनि रक्तचाप कम गर्न सहयोग पुग्छ।
धूम्रपान छाड्नुहोस्
धूम्रपान गर्नुहुन्छ भने यो छाड्नु नै मुटु र रक्तनलीको स्वास्थ्यका लागि गर्न सकिने सबैभन्दा महत्त्वपूर्ण कामहरूमध्ये एक हो।
तनाव व्यवस्थापन गर्नुहोस्
लामो समयसम्मको तनावले रक्तचाप बढाउन सक्छ। गहिरो सास लिने, पर्याप्त आराम गर्ने, बाहिर घुम्न जाने वा परिवार र साथीभाइसँग समय बिताउने जस्ता सरल उपायहरूले दैनिक तनाव कम गर्न मद्दत गर्छन्।
नियमित रक्तचाप नाप्नुहोस्
घरमा रक्तचाप नाप्ने मेसिन छ भने नियमित नाप्नुहोस् र त्यसको रेकर्ड राख्नुहोस्। डाक्टरकहाँ जाँदा यो रेकर्ड देखाउनुहोस्। यसरी नियमित अनुगमन गर्दा तपाईं र तपाईंका डाक्टर दुवैलाई उपचार योजना कति प्रभावकारी छ भन्ने बुझ्न सजिलो हुन्छ।
डाक्टरले दिएको औषधि नियमित खानुहोस्
डाक्टरले औषधि दिनुभएको छ भने तोकेअनुसार नियमित रूपमा खानुहोस् - ठीक महसुस भइरहेको बेलामा पनि। डाक्टरको सल्लाह बिना आफ्नो इच्छाले औषधि बन्द नगर्नुहोस् वा मात्रा परिवर्तन नगर्नुहोस्।
> महत्त्वपूर्ण: कुनै पनि अचानक वा गम्भीर लक्षण देखिएमा खतराका संकेत खण्ड हेर्नुहोस् र तुरुन्तै आपतकालीन सहायता लिनुहोस्।
उपचार

यदि तपाईंलाई उच्च रक्तचाप भएको पुष्टि भयो भने, डाक्टरले तपाईंको रक्तचाप कति बढेको छ, कहिलेदेखि छ, र मधुमेह (रगतमा चिनीको मात्रा बढी हुने रोग), मिर्गौलाको रोग, वा मुटुको रोग जस्ता अन्य समस्याहरू छन् कि छैनन् भन्ने कुराहरू हेरेर कुन उपचार सबैभन्दा उपयुक्त हुन्छ भनी निर्णय गर्नुहुन्छ।
नियमित जाँच र अनुगमन
डाक्टरले तपाईंको रक्तचाप नियमित रूपमा जाँच गर्न चाहनुहुन्छ, ताकि उपचार राम्रोसँग काम गरिरहेको छ कि छैन थाहा पाउन सकियोस्। उहाँले उपचार सुरु गर्नुअघि थप पटक रक्तचाप नाप्न बोलाउन सक्नुहुन्छ, वा उपचार थालेपछि बारम्बार जाँचको व्यवस्था मिलाउन सक्नुहुन्छ। यी फलो-अप [follow-up] भेटहरूमा जान नछुटाउनु महत्त्वपूर्ण छ।
रक्तचाप नियन्त्रण गर्ने औषधिहरू
जीवनशैलीमा परिवर्तन मात्रले पुग्दैन वा रक्तचाप धेरै नै बढेको छ भने, डाक्टरले औषधि लेखिदिन सक्नुहुन्छ। रक्तचाप नियन्त्रण गर्ने औषधिहरू कयौं प्रकारका हुन्छन्। सामान्यतया प्रयोग हुने औषधिहरूमा यी पर्छन्:
ACE inhibitors वा ARBs - यसले रक्तनलीहरू फराकिलो बनाउन र मिर्गौलालाई जोगाउन मद्दत गर्छ।
Calcium channel blockers - यसले पनि रक्तनलीहरू फराकिलो बनाउँछ।
Diuretics (पिसाब बढाउने औषधि) - यसले शरीरमा भएको बढी पानी र नुन पिसाबमार्फत निकाल्न मद्दत गर्छ, जसले रक्तचाप कम हुन्छ।
Beta-blockers - यसले मुटुको धड्कन ढिलो बनाउँछ र मुटुले धड्किँदा लगाउने बल कम गर्छ।
डाक्टरले तपाईंलाई सबैभन्दा उपयुक्त औषधि छनौट गरिदिनुहुन्छ। केहीलाई एउटा मात्र औषधिले काम गर्छ भने, कसैलाई सुरक्षित रक्तचाप कायम राख्न दुई वा दुईभन्दा बढी औषधिहरू सँगै खानुपर्छ। यो सामान्य कुरा हो, यसको मतलब रोग असाधारण गम्भीर छ भन्ने होइन।
उपचार सुरु गर्दा र मिलाउँदा
सही औषधि र सही मात्रा पत्ता लगाउन केही समय लाग्न सक्छ। जाँचका क्रममा डाक्टरले तपाईंको रक्तचापको अवस्था र साइड इफेक्ट [side effects] छ कि छैन हेरेर औषधिमा फेरबदल गर्न सक्नुहुन्छ। डाक्टरसँग नसोधी आफैं रक्तचापको औषधि बन्द नगर्नुहोस् वा मात्रा नफेर्नुहोस् - अचानक औषधि छोड्नाले हानि हुन सक्छ।
मूल कारणको उपचार
कहिलेकाहीं उच्च रक्तचापको पछाडि मिर्गौलाको समस्या वा हर्मोन सम्बन्धी कुनै रोग जस्तो स्पष्ट कारण हुन्छ। यस्तो अवस्थामा डाक्टरले रगत परीक्षण, पिसाब परीक्षण, वा अन्य जाँचहरूको व्यवस्था गर्न सक्नुहुन्छ। मूल कारणको उपचार गरेमा कहिलेकाहीं रक्तचाप पनि नियन्त्रणमा आउन सक्छ।
दीर्घकालीन व्यवस्थापन
उच्च रक्तचाप प्रायः लामो समयसम्म रहने समस्या हो। रक्तचाप सामान्य देखिन थाले पनि धेरै मानिसले औषधि र नियमित जाँच लामो समयसम्म जारी राख्नुपर्छ।
रक्तचाप राम्रोसँग नियन्त्रणमा राख्दा स्ट्रोक, हृदयघात र मिर्गौला बिग्रिने जस्ता गम्भीर समस्याको जोखिम धेरै कम हुन्छ।
डाक्टरलाई सोध्न मिल्ने प्रश्नहरू
डाक्टर भेट्नुअघि केही प्रश्न तयार गरेर जानुभयो भने भेटघाटबाट बढी फाइदा लिन सक्नुहुन्छ। तलका प्रश्नहरू उपयोगी हुन सक्छन्:
मेरो रोगबारे
आज मेरो रक्तचाप कति छ, र यसले मेरो लागि के अर्थ राख्छ?
मेरो रक्तचाप अहिले नै उपचार सुरु गर्नुपर्ने स्तरमा छ कि पहिले केही समय निगरानी गर्नुपर्छ?
अरू कुनै स्वास्थ्य समस्या वा मैले खाइरहेको औषधिका कारण रक्तचाप बढेको हुन सक्छ?
रक्तचाप जाँचबारे
मैले कति-कति समयमा रक्तचाप जाँच गर्नुपर्छ? के म घरमै सही तरिकाले जाँच गर्न सक्छु?
मेरो रक्तचाप कति हुनुपर्ने हो? कस्तो नतिजा आएमा डाक्टर वा स्वास्थ्यकर्मीलाई सम्पर्क गर्नुपर्छ?
उपचारबारे
औषधि दिइयो भने मैले कति समयसम्म खानुपर्छ?
औषधिका सामान्य असर वा समस्या के-के हुन सक्छन्?
मैले नखानुपर्ने औषधि, सप्लिमेन्ट वा जडीबुटीजन्य औषधि छन्?
मेरो समग्र स्वास्थ्यबारे
उच्च रक्तचापले मेरो मुटु, मिर्गौला वा शरीरका अन्य अंगमा असर गरिसकेको हुन सक्छ?
जटिलता वा अन्य जोखिमका कारण जाँच गर्न कुनै परीक्षण आवश्यक छ?
मेरो अरू स्वास्थ्य समस्या वा परिवारमा भएको रोगको इतिहासका कारण मैले थप ध्यान दिनुपर्ने कुरा छन्?
पुनः जाँचबारे
अर्को जाँचका लागि म कहिले आउनुपर्छ?
स्वास्थ्यमा कस्तो परिवर्तन आएमा निर्धारित समयभन्दा अगाडि नै सम्पर्क गर्नुपर्छ?
नेपालमा उपचारको बाटो
नेपालमा लक्षण गम्भीर, बढ्दै गएको, चिन्ताजनक वा निको नभएको छ भने नजिकको स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, क्लिनिक वा अस्पतालमा स्वास्थ्यकर्मीसँग सल्लाह लिनुहोस्। अघिल्ला prescription, test report, allergy जानकारी र हाल खाइरहेका औषधि साथमा लैजानुहोस्। खतराका संकेत छन् भने तुरुन्त स्वास्थ्य संस्था वा अस्पताल जानुहोस्।
महत्त्वपूर्ण सूचना
यो जानकारी सामान्य स्वास्थ्य जानकारीका लागि मात्र हो। यसलाई डाक्टरको सल्लाह, जाँच, निदान, उपचार वा आपतकालीन सेवाको विकल्पका रूपमा प्रयोग गर्नु हुँदैन।