समीक्षित मार्गदर्शिका
Impetigo

इम्पेटाइगो / छालाको सर्ने ब्याक्टेरियल संक्रमण (Impetigo)

इम्पेटाइगो छालाको माथिल्लो सतहमा हुने र एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्ने ब्याक्टेरियाको संक्रमण हो। यो विशेष गरी साना बालबालिकाहरूमा बढी देखिन्छ, तर यो जुनसुकै उमेरका मानिसहरुलाई पनि हुन सक्छ। प्रायजसो यो संक्रमण नाक वा मुखको वरिपरि सुरु हुन्छ। तर, कोट्याएको ठाउँ, कीराले टोकेको घाउ वा एक्जिमा (Eczema) भएको छालाका माध्यमबाट यो शरीरको जुनसुकै भागमा पनि फैलिन सक्छ। धेरैजसो अवस्थामा यो रोग गम्भीर हुँदैन, तर समयमै उपचार गर्दा यो छिटो निको हुन्छ र अरूलाई सर्ने जोखिम पनि कम हुन्छ।

लक्षणहरू

Impetigo - Symptoms

देखिन सक्ने लक्षणहरू:

सुरुमा सानो, रातो, चिलाउने वा दुख्ने दाग देखिनु

उक्त दाग छिट्टै फोका वा खुल्ला घाउमा बदलिनु

घाउबाट सफा पानीजस्तो तरल पदार्थ वा पिप निस्कनु

घाउ सुकेपछि त्यसमाथि महजस्तै पहेँलो-सुनौलो रङको पाप्रा (खपटा) बस्नु

साना-साना दागहरू जोडिएर ठूलो हुँदै जानु वा वरिपरि फैलिनु

विशेष गरी जिउ वा छाला दोब्रिने भागहरूमा ठूला र नरम फोकाहरू आउनु

हल्का चिलाउने, दुख्ने वा घाउ नजिकका ग्रन्थिहरू (लिम्फ नोड) सुन्निनु

गहुँगोलो वा कालो छालामा यो रातोपन प्रष्ट नदेखिन सक्छ। यो संक्रमण विशेष गरी अनुहार, हात र खुट्टामा बढी देखिए पनि शरीरको जुनसुकै भागमा पनि हुन सक्छ।

खतराका संकेत

निम्न अवस्थामा ढिलो नगरी तुरुन्तै स्वास्थ्यकर्मीकहाँ गई जाँच गराउनुहोस्:

ज्वरो आउनु, अत्यधिक थकान हुनु वा बिरामी निकै अस्वस्थ देखिनु

छाला रातो हुने, दुख्ने, तातो हुने वा सुन्निने समस्या छिट्टै फैलिँदै जानु

असह्य दुखाइ हुनु, धेरै फोकाहरू आउनु वा छालाको ठूलो भागमा संक्रमण हुनु

संक्रमण आँखाको वरिपरि वा नजिक हुनु

नवजात शिशु (भर्खरै जन्मेको बच्चा) मा फोका वा इम्पेटाइगोको शंका हुनु

रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी) कमजोर हुनु, मधुमेह नियन्त्रणमा नहुनु वा संक्रमण कडा हुने जोखिम हुनु

उपचार सुरु गरेपछि पनि संक्रमण झन् फैलिनु वा सुधारको कुनै संकेत नदेखिनुयो

समस्या पटक-पटक दोहोरिरहनु

यी लक्षणहरू संक्रमण छालाको गहिरो भागसम्म पुगेको, अन्य कुनै जटिल छालाको रोग भएको वा स्वास्थ्यमा थप जटिलता निम्तिन सक्ने संकेत हुन्।

घरमै गर्न सकिने हेरचाह

प्रभावित भागलाई साबुन र सफा पानीले हल्का धुनुहोस् र बिस्तारै सुकाउनुहोस्।

घाउ वा दाना नकोट्याउनुहोस्, पाप्रा नउप्काउनुहोस् र फोकाहरू नफुटाउनुहोस्।

घाउ छोएपछि वा औषधि लगाएपछि सधैँ साबुनपानीले राम्ररी हात धुनुहोस्।

नङलाई छोटो र सफा राख्नुहोस्।

तौलिया, कपडा, सिरानीको खोल र ओछ्यान छुट्टै प्रयोग गर्नुहोस् र तिनलाई नियमित रूपमा धुनुहोस्।

रुमाल, रेजर, लुगा वा अन्य व्यक्तिगत सामग्रीहरू अरूसँग साझा नगर्नुहोस्।

सम्भव भए घाउलाई सफा र खुकुलो लुगा वा पट्टीले ढाकेर राख्नुहोस्।

घरमा धेरै छोइने सतहहरू र धुन मिल्ने खेलौनाहरू नियमित सफा गर्नुहोस्।

घाउ पूर्ण रूपमा निको भएर पाप्रा नझरेसम्म, वा एन्टिबायोटिक औषधि खान सुरु गरेको कम्तीमा ४८ घण्टा नपुगेसम्म बच्चालाई विद्यालय वा नर्सरी नपठाउनुहोस्। संक्रमण पूर्ण रूपमा निको नभएसम्म शरीर जोडिने वा छोइने खालका खेलकुदहरूबाट पनि बिरामीलाई टाढा राख्नुहोस्।

उपचार

Impetigo - Treatment

इम्पेटाइगोको उपचार यो संक्रमण शरीरको थोरै भागमा मात्र छ कि धेरै फैलिएको छ, ठूला फोकाहरू आएका छन् कि छैनन्, र बिरामी समग्रमा कत्तिको अस्वस्थ छ भन्ने कुरामा भर पर्छ।

थोरै भागमा मात्र फैलिएको र ठूला फोका नभएको अवस्थामा स्वास्थ्यकर्मीले छालामा लगाउने एन्टिसेप्टिक वा एन्टिबायोटिक मलम सिफारिस गर्न सक्छन्। तर, संक्रमण धेरै फैलिएको, ठूला फोका आएको वा बिरामी बढी अस्वस्थ भएको अवस्थामा भने खाने एन्टिबायोटिक औषधि नै आवश्यक पर्छ। सामान्यतया छालामा लगाउने मलम र खाने एन्टिबायोटिक औषधि एकैपटक प्रयोग गरिँदैन।

सबै बिरामीमा छालाको नमुना (Lab Test) परीक्षण गरिरहनु पर्दैन। तर संक्रमण पटक-पटक दोहोरिएमा, औषधिले सुधार नभएमा वा कडा खालको ब्याक्टेरियाको शंका लागेमा घाउको साना नमुना लिएर जाँच गर्न सकिन्छ। त्यसैले, एन्टिबायोटिक औषधि स्वास्थ्यकर्मीले तोकेको तरिका र अवधिसम्म पूरा मात्रा खानुपर्छ। बिनाकारण वा बारम्बार एन्टिबायोटिक प्रयोग गर्दा पछि गएर शरीरमा औषधिले काम नगर्ने जोखिम (Antibiotic Resistance) बढ्न सक्छ।

डाक्टरलाई सोध्न मिल्ने प्रश्नहरू

  • के यो इम्पेटाइगो नै हो कि छालाको अन्य कुनै समस्या?
  • यो पाप्रा बन्ने प्रकारको हो कि ठूला फोका आउने खालको?
  • यसका लागि छालामा लगाउने मलम मात्र पुग्छ कि खाने एन्टिबायोटिक नै चाहिन्छ?
  • प्रभावित छालालाई कसरी सफा राख्ने र कसरी ढाक्ने?
  • यो संक्रमण अरूलाई सर्ने जोखिम कहिलेसम्म रहन्छ?
  • बच्चा कहिलेदेखि विद्यालय वा नर्सरी जान सक्छ?
  • के यो घाउको नमुना लिएर ल्याब टेस्ट (परीक्षण) गर्न आवश्यक छ?
  • यो संक्रमण मलाई/बच्चालाई किन पटक-पटक दोहोरिरहेको छ?
  • कुन-कुन लक्षण देखिएमा संक्रमण शरीरमा झन् फैलिएको बुझ्नुपर्छ?

नेपालमा उपचारको बाटो

नेपालमा लक्षण गम्भीर, बढ्दै गएको, चिन्ताजनक वा निको नभएको छ भने नजिकको स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, क्लिनिक वा अस्पतालमा स्वास्थ्यकर्मीसँग सल्लाह लिनुहोस्। अघिल्ला prescription, test report, allergy जानकारी र हाल खाइरहेका औषधि साथमा लैजानुहोस्। खतराका संकेत छन् भने तुरुन्त स्वास्थ्य संस्था वा अस्पताल जानुहोस्।

महत्त्वपूर्ण सूचना

यो जानकारी सामान्य स्वास्थ्य जानकारीका लागि मात्र हो। यसलाई डाक्टरको सल्लाह, जाँच, निदान, उपचार वा आपतकालीन सेवाको विकल्पका रूपमा प्रयोग गर्नु हुँदैन।

थप जानकारी

इम्पेटाइगोका थप Clinical तस्बिरहरू हेर्न DermNet को यो पृष्ठमा जानुहोस्:

https://dermnetnz.org/topics/impetigo

यो निर्देशिका सुधार्न सहयोग गर्नुहोस्

के तपाईंले यस निर्देशिकामा कुनै त्रुटि देख्नुभयो वा यसबारे हामीलाई कुनै सुझाव दिन चाहनुहुन्छ? HamroSwasthya टोलीलाई सन्देश पठाउनुहोस्।