REVIEWED
Chickenpox

ठेउला/चिकेनपक्स (Chickenpox)

चिकेनपक्स, जसलाई नेपालिमा ठेउला पनि भनिन्छ, varicella zoster भाइरसका कारण हुने र धेरै नै छिटो एक बाट आर्कोमा सर्न सक्ने भाइरसको संक्रमण हो। यसमा प्रायजसो छाला चिलाउने, सानो सानो दाना आउने जुन पानी भरिएका फोका जस्तो हुन्छन, ज्वरो आउने, र शरीर अस्वस्थ महसुस हुन हुन्छ। यो प्रायजसो बालबालिकाहरुमा धेरै देखिन्छ, तर वयस्कलाई पनि यो संक्रमण हुन सक्छ र वयस्कमा यो संक्रमण कहिलेकाहीँ बढी गम्भीर हुन सक्छ।

धेरै जसो स्वस्थ बालबालिहरुमा घरमै हेरचाह गरेरै यो निको हुन्छन्। तर नवजात शिशु, गर्भवती व्यक्ति, वयस्क, र रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनु भएका व्यक्तिमा चिकेनपक्स गम्भीर हुन सक्छ। जोखिम बढी भएका व्यक्तिले सम्पर्क भएको वा लक्षण सुरु भएको छ भने चाँडै स्वास्थ्यकर्मीसँग सल्लाह लिनुपर्छ।

लक्षणहरू

चिकेनपक्समा दाना आउनुअघि वा दाना आउने समयमा शरीर अस्वस्थ महसुस हुन सक्छ। निम्न लक्षणहरू देखिन सक्छन:

ज्वरो आउनु

थकान, टाउको दुखाइ, वा शरीर दुखाइ

भोक कम लाग्नु

चिलाउने रातो दाना आउनु, जुन पछि पानी भरिएका फोकामा बदलिन सक्छ

फोका सुक्दै गएर पाप्रा बन्नु

केही दिनपछि पनि नयाँ दाना पटकपटक आइराख्नु

अनुहार, छाती, ढाड, टाउकोको छाला, हातखुट्टा, वा मुखभित्र दाना पनि आउनु

छालाको रङअनुसार दाना फरक देखिन सक्छ। कसैलाई केही सामान्य मात्रामा मात्र दाना आउन सक्छ, कसैमा एकदमै धेरै पनि आउन सक्छ।

खतराका संकेत

तलका कुनै लक्षण भएमा तुरुन्त स्वास्थ्यकर्मीको सल्लाह लिनुहोस् वा नजिकको अस्पताल जानुहोस्:

सास फेर्न गाह्रो हुनु, छाती दुख्नु, धेरै खोकी लाग्नु, वा खोकीमा रगत आउनु

धेरै टाउको दुख्नु, घाँटी कडा हुनु, अलमलिनु, धेरै निद्रालु हुनु, दौरा पर्नु ( Seizure), वा उठाउन गाह्रो हुनु

दाना वरिपरि छाला धेरै रातो, तातो, सुन्निएको, धेरै दुख्ने, वा पिप आउने हुनु

ज्वरो धेरै हुनु, लामो समयसम्म रहनु, वा सुधार भइसकेपछि फेरि ज्वरो आउनु

बारम्बार बान्ता हुनु, शरीरमा पानीको कमी हुनु, वा पानी/झोल पिउन नसक्नु

नवजात शिशुमा कुनै पनि दाना वा अस्वस्थता देखिनु

गर्भावस्थामा चिकेनपक्स हुनु

वयस्कमा चिकेनपक्स भएर धेरै अस्वस्थ हुनु

रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनु, क्यान्सर उपचार, अंग प्रत्यारोपणपछि औषधि, उच्च मात्रा स्टेरोइड, वा रोग प्रतिरोधात्मक क्षमता कम गर्ने औषधि प्रयोग गरिरहेको हुनु

आँखामा दुखाइ, आँखा रातो हुनु, वा आँखाको नजिक दाना आउनु

लक्षण गम्भीर भएमा वा व्यक्ति धेरै अस्वस्थ भएमा एम्बुलेन्स सेवा उपलब्ध भएको ठाउँमा १०२ मा फोन गर्नुहोस्।

घरमै गर्न सकिने हेरचाह

Chickenpox - Self-care

आराम गर्नुहोस् र पर्याप्त पानी वा झोलिलो पदार्थ पिउनुहोस्।

नङ छोटो र सफा राख्नुहोस्, ताकि चिलाउँदा छाला मा घाउ नहोस।

सकेसम्म ठेउला दाना नकोट्याउने प्रयास गर्नुहोस्, किनकि यसले दाग (scar) बस्ने र संक्रमण हुने जोखिम बढाउन सक्छ।

खुकुलो र चिसो रहने /सुतीको कपडा लगाउनुहोस्।

चिलाउन कम गर्ने लोसन वा एन्टिहिस्टामिन (antihistamin) प्रयोग गर्नुअघि उमेर र स्वास्थ्य अवस्थाको अनुसार यो सुरक्षित छ कि छैन भनेर डाक्टरसँग सोध्नुहोस्।

ज्वरो वा दुखाइका लागि उपयुक्त भएमा प्यारासिटामोल प्रयोग गर्न सकिन्छ। प्याकेटको निर्देशन अनुसार कति दिने पालना गर्नुहोस् वा फार्मासिस्टसँग सोध्नुहोस्।

डाक्टरद्वारा सुरक्षित भनिएको छैन भने आइबुप्रोफेन प्रयोग नगर्नुहोस्।

सबै फोका सुकेर खपटा नबनेसम्म बच्चालाई विद्यालय/नर्सरी नपठाउनु होला वा आफु काममा नजानुहोला, र अरूसँगको नजिकको सम्पर्कबाट टाढा रहनुहोस्।

सबै फोकाहरु नसुक्दासम्म गर्भवती व्यक्ति, नवजात शिशु, र प्रतिरक्षा शक्ति कमजोर भएका व्यक्तिसँग नजिकको सम्पर्कबाट बच्नुहोस्।

उपचार

स्वस्थ बालबालिकाहरुमा प्रायजसो चिकेनपक्सका लागि भाइरसविरुद्धको विशेष औषधिको आवश्यकता पर्दैन। पर्याप्त तरल पदार्थ, आराम र लक्षणहरु कम गर्ने उपायले नै निको हुन्छन्।

तर जोखिम बढी भएका केही व्यक्तिलाई तुरुन्त जाँच वा एन्टिभाइरल औषधिको आवश्यकता पर्न सक्छ। यसमा विशेष गरी वयस्क, गर्भवती, नवजात शिशु, र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरू पर्छन्।

यस्तो अवस्थामा उपचार सुरुमै सुरु गर्दा बढी प्रभावकारी हुन सक्छ। त्यसैले जोखिम बढी भएको व्यक्तिलाई ठेउला भएको व्यक्तिसँग सम्पर्क भएको छ, वा ठेउलाका लक्षण सुरु भएका छन् भने तुरुन्त डाक्टरसँग सल्लाह लिनुहोस्।

चिकेनपक्स भाइरसका कारण हुन्छ, त्यसैले एन्टिबायोटिकले चिकेनपक्स आफैं निको पार्दैन। दानामा ब्याक्टेरियाको संक्रमण वा अन्य ब्याक्टेरियल जटिलता भएमा मात्र डाक्टरले एन्टिबायोटिक दिन सक्छन्।

चिकेनपक्स वा shingles भएको व्यक्तिसँग सम्पर्क भएपछि केही उच्च जोखिम भएका व्यक्तिलाई post-exposure treatment (एक्सपोजर पछिको उपचार) को आवश्यकता पर्न सक्छ। यो स्वास्थ्यकर्मीले मूल्याङ्कन गरेर उपचार गर्ने कुरा हो।

डाक्टरलाई सोध्न मिल्ने प्रश्नहरू

Chickenpox - Questions to ask doctor

यो चिकेनपक्स नै हो कि अरू कुनै दाना आउने रोग हुन सक्छ?

के म वा मेरो बच्चा जटिलताको उच्च जोखिममा पर्छौं कि नाई?

के मलाई एन्टिभाइरल औषधि आवश्यक छ?

ज्वरो र चिलाउने कम गर्नका लागि कुन कुन औषधि मेरोलागि सुरक्षित छ?

के आइबुप्रोफेन बाट बच्नुपर्छ?

विद्यालय, काम, वा जोखिम बढी भएका व्यक्तिबाट कति समय टाढा रहनुपर्छ?

दानामा संक्रमण वा जटिलता भएको कसरी थाहा पाउने?

म गर्भवती छु वा रोग प्रतिरोधात्मक क्षमता कमजोर छ र चिकेनपक्ससँग सम्पर्क भएको छ, अब के गर्ने?

घरका अरू कसैलाई post-exposure सल्लाह वा खोप आवश्यक पर्छ?

कुन कुन लक्षणहरु देखिएमा म तुरुन्त अस्पताल जानुपर्छ?

नेपालमा उपचारको बाटो

नेपालमा लक्षण गम्भीर, बढ्दै गएको, चिन्ताजनक वा निको नभएको छ भने नजिकको स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, क्लिनिक वा अस्पतालमा स्वास्थ्यकर्मीसँग सल्लाह लिनुहोस्। अघिल्ला prescription, test report, allergy जानकारी र हाल खाइरहेका औषधि साथमा लैजानुहोस्। खतराका संकेत छन् भने तुरुन्त स्वास्थ्य संस्था वा अस्पताल जानुहोस्।

महत्त्वपूर्ण सूचना

यो जानकारी सामान्य स्वास्थ्य जानकारीका लागि मात्र हो। यसलाई डाक्टरको सल्लाह, जाँच, निदान, उपचार वा आपतकालीन सेवाको विकल्पका रूपमा प्रयोग गर्नु हुँदैन।