REVIEWED
Measles

दादुरा / मिजल्स (Measles)

दादुरा, जसलाई अंग्रेजीमा मिजल्स भनिन्छ, भाइरसको कारण हुने र धेरैनै छिटो सर्न सक्ने संक्रमण हो। संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा निस्कने साना थोपाबाट यो रोग अरूमा सर्न सक्छ। दादुराको खोप नलगाएका वा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा यो सजिलै सर्न सक्छ।

दादुरा प्रायजसो ज्वरो र रुघाखोकीजस्ता सामान्य लक्षणहरुबाट सुरु हुन्छ, त्यसपछि शरीरमा साना साना दानाहरु आउँछ। धेरैजसो व्यक्तिहरुमा यो रोग बिना उपचार नै निको हुन्छन्, तर कसै कसैमा दादुराले निमोनिया, कानको संक्रमण, पखाला, शरीरमा पानीको कमी, झट्का/दौरा (seizure) , मस्तिष्क सुन्निने समस्या, र कहिलेकाहीँ ज्यान जाने जटिलता पनि गराउन सक्छ। प्रायगरी नवजात शिशु, गर्भवती र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा यो जोखिमहरु बढी हुन्छ।

लक्षणहरू

Measles - Symptoms

दादुराका लक्षण सामान्यतया संक्रमित व्यक्तिसँग सम्पर्क भएको करिब ७ देखि १४ दिनपछि सुरु हुन सक्छन्। लक्षणहरूमा:

ज्वरो आउनु

खोकी लाग्नु

नाकबाट पानी बग्नु वा नाक बन्द हुनु

आँखा रातो, दुख्ने, वा पानी आउनु

उज्यालो प्रकाशतर्फ़ हेर्दा अप्ठ्यारो हुनु

धेरै थकान वा अस्वस्थ महसुस हुनु

मुखभित्र साना सेतो दागहरु देखिनु

दाना अनुहार वा कानपछाडिबाट सुरु भएर शरीरतिर फैलिनु

कालो वर्ण छाला भएकोहरुमा दाना कम स्पष्ट देखिन सक्छ। दाना स्पष्ट नदेखिए पनि बच्चाहरु धेरै अस्वस्थ हुन सक्छन।

खतराका संकेत

तलका कुनै लक्षण भएमा तुरुन्त स्वास्थ्यकर्मीको सल्लाह लिनुहोस् वा नजिकको अस्पताल जानुहोस्:

सास फेर्न गाह्रो हुनु, सास छिटो छिटो चल्नु, छाती दुख्नु, वा ओठ/औलाहरु निलो देखिनु

धेरै निद्रालु हुनु, अलमलिनु, झट्का/दौरा (seizure) आउनु, वा उठाउन गाह्रो हुनु

धेरै टाउको दुख्नु, घाँटी कडा हुनु, बारम्बार बान्ता हुनु, वा उज्यालोमा हेर्न नसक्नु

पिसाब धेरै कम हुनु, मुख सुख्खा हुनु, रुँदा आँसु नआउनु, वा अत्यधिक निद्रालु हुनु

ज्वरो धेरै हुनु, लामो समयसम्म रहनु, वा सुधार भइसकेपछि फेरि ज्वरो आउनु

कान दुख्नु, कानबाट पिप आउनु, वा घाँटी धेरै दुख्नु

दानासँगै धेरै अस्वस्थ हुनु, रगतजस्ता दाना देखिनु, वा लक्षण छिट्टै बिग्रिनु

शिशु, गर्भवती, वा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा दादुराको लक्षणहरु देखिनु

लक्षण गम्भीर भएमा वा व्यक्ति धेरै अस्वस्थ भएमा एम्बुलेन्स सेवा उपलब्ध भएको ठाउँमा १०२ मा फोन गर्नुहोस्।

घरमै गर्न सकिने हेरचाह

दादुराको शङ्का भएमा स्वास्थ्य संस्था जाँदा मास्क लगाउनुहोस् र अरूसँग नजिकको सम्पर्क सकेसम्म कम गर्नुहोस्। सम्भव भएसम्म भीडभाड भएको ठाउँ जस्तै बस, प्रतीक्षालय, वा सार्वजनिक ठाउँमा लामो समयसम्म नबस्नुहोस्, किनकि तपाइको दादुरा सजिलै अरूमा सर्न सक्छ।

आराम गर्नुहोस् र पर्याप्त पानी वा झोलिलो पदार्थ पिउनुहोस्।

ज्वरो वा असहजताका लागि उपयुक्त भएमा प्यारासिटामोल वा आइबुप्रोफेन प्रयोग गर्न सकिन्छ। प्याकेटको निर्देशन पालना गर्नुहोस् वा फार्मासिस्टसँग औषधिको मात्रा सोध्नुहोस्।

१६ वर्षभन्दा कम उमेरका बालबालिकालाई एस्पिरिन नदिनुहोस्।

आँखा दुखेको वा उज्यालोमा गाह्रो भएको छ भने कोठा आरामदायक र धेरै उज्यालो नहुने गरी राख्नुहोस्।

आँखामा फोहोर वा पाप्रा जमेको छ भने सफा पानी र सफा कपडा हल्का सफा गर्न सकिन्छ।

संक्रमण फैलिन सक्ने अवधिभर विद्यालय, काम, सार्वजनिक ठाउँ, र जोखिम बढी भएका व्यक्तिबाट टाढा बस्नुहोस्।

शिशु, गर्भवती व्यक्ति र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिसँग नजिकको सम्पर्कबाट बच्नुहोस्।

डाक्टरले नदिएसम्म एन्टिबायोटिक प्रयोग नगर्नुहोस्। दादुरा भाइरसका कारण हुन्छ, त्यसैले एन्टिबायोटिकले दादुरा निको पार्दैन।

उपचार

Measles - Treatment

दादुरा निको पार्ने कुनै विशेष औषधि हुँदैन। उपचार प्रायजसो आराम गर्ने, पर्याप्त तरल पदार्थ पिउने, ज्वरो कम गर्ने, र जटिलता छ कि छैन भनेर निगरानी गर्नेमा आधारित हुन्छ।

डाक्टरले कानको संक्रमण, निमोनिया, पखाला, शरीरमा पानीको कमी, वा आँखासम्बन्धी समस्या छ कि छैन भनेर जाँच गर्न सक्छन्। केहि ब्याक्टेरियाको जटिलता भएकोमा मात्र एन्टिबायोटिक आवश्यक पर्न सक्छ।

शिशु, गर्भवती व्यक्ति र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिले दादुरा भएको व्यक्तिसँग सम्पर्क भएको छ वा लक्षण सुरु भएको छ भने तुरुन्त स्वास्थ्यकर्मीसँग सल्लाह लिनुपर्छ। जोखिम बढी भएका केही व्यक्तिलाई सम्पर्कपछि विशेष खालको उपचार आवश्यक पर्न सक्छ, जुन स्वास्थ्यकर्मीले मूल्याङ्कन गरेर ऊपचार गर्छन्।

दादुरा रोग खोपको माध्यमबाट रोकथाम गर्न सकिन्छ। नेपालमा दादुरा-रुबेला खोप राष्ट्रिय खोप तालिकामा पर्छ, जसमा ९ महिना र १५ महिनामा खोप दिइने उल्लेख गरिएको छ। बच्चाको खोप छुटेको छ भने नजिकको स्वास्थ्यकर्मीसँग भेटेर छुटेको खोपको (catch-up vaccine) बारे सोध्नुहोस्।

डाक्टरलाई सोध्न मिल्ने प्रश्नहरू

यो दादुरा हो कि दाना आउने अरू कुनै रोग हुन सक्छ?

परीक्षण गर्ने वा स्वास्थ्य निकायलाई जानकारी दिन आवश्यक छ कि नाई?

बच्चालाई विद्यालय वा अरू व्यक्तिबाट कति समयसम्म टाढा राख्नुपर्छ?

के घरका अरू सदस्यमा कसैको जोखिम बढी छ?

कसैलाई सम्पर्क (exposure) पछि विशेष उपचार वा छुटेको खोप चाहिन्छ?

ज्वरो, खोकी, वा आँखाको असहजताका लागि कुन औषधि सुरक्षित हुन्छ?

निमोनिया, शरीरमा पानीको कमी, कानको संक्रमण, वा अन्य जटिलताको संकेतहरु के के हुन्?

म गर्भवती छु वा मेरो रोग प्रतिरोधात्मक क्षमता कमजोर छ र दादुरासँग सम्पर्क भएको छ - अब के गर्ने?

कुन कुन लक्षणहरु देखिएमा तुरुन्त अस्पताल जानुपर्छ?

नेपालमा उपचारको बाटो

नेपालमा लक्षण गम्भीर, बढ्दै गएको, चिन्ताजनक वा निको नभएको छ भने नजिकको स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, क्लिनिक वा अस्पतालमा स्वास्थ्यकर्मीसँग सल्लाह लिनुहोस्। अघिल्ला prescription, test report, allergy जानकारी र हाल खाइरहेका औषधि साथमा लैजानुहोस्। खतराका संकेत छन् भने तुरुन्त स्वास्थ्य संस्था वा अस्पताल जानुहोस्।

महत्त्वपूर्ण सूचना

यो जानकारी सामान्य स्वास्थ्य जानकारीका लागि मात्र हो। यसलाई डाक्टरको सल्लाह, जाँच, निदान, उपचार वा आपतकालीन सेवाको विकल्पका रूपमा प्रयोग गर्नु हुँदैन।