फलाम/आइरनको कमीले हुने रक्तअल्पता (Iron deficiency anaemia)
फलाम/आइरन को कमीले हुने रक्तअल्पता भनेको शरीरमा पर्याप्त फलाम/आइरन तत्व नहुँदा स्वस्थ खालको हेमोग्लोबिन बन्न नसक्ने वा हेमोग्लोबिन कम हुने अवस्था हो। हेमोग्लोबिन भनेको रातो रक्तकोष भित्र रहेको एक पदार्थ हो जसले रगतलाई रातो रङ दिन्छ, र फोक्सोबाट अक्सिजन लिएर शरीरका विभिन्न अङ्ग पुर्याउन मद्दत गर्छ।। धेरै महिनावारी हुनु, गर्भावस्था, पेट वा आन्द्राबाट रगत बग्नु, खानामा फलाम/आइरन कम हुनु, वा शरीरले फलाम राम्ररी सोस्न नसक्नु यसको सामान्य कारण हुन सक्छन्। सबै रक्तअल्पता फलामको कमीका कारण हुँदैनन्, त्यसैले कारण पत्ता लगाउन रगत परीक्षण आवश्यक पर्छ।
लक्षणहरू
लक्षणहरु बिस्तारै देखिन सक्छन्। जसमा:
धेरै थकान, जाँगर नलाग्नु, वा सामान्य काम गर्दा पनि बढी थकाइ लाग्नु
विशेष गरी हिँड्दा वा काम गर्दा सास फेर्न गाह्रो हुनु
चक्कर लाग्नु, हल्का महसुस हुनु, वा टाउको दुख्नु
मुटु छिटो वा जोडले धड्किएको महसुस हुनु
छाला, ओठ, वा आँखा भित्रको भाग फिक्का देखिनु
हातखुट्टा चिसो हुनु
ध्यान दिन गाह्रो हुनु वा असामान्य रूपमा झर्को लाग्नु
जिब्रो दुख्नु, मुखको कुनामा चिरा पर्नु, कपाल झर्नु, वा नङ नाजुक हुनु
बरफ, माटो, कागजजस्ता नखाने वस्तु खान मन लाग्नु
विशेष गरी राति खुट्टा चलाइरहन मन लाग्नु वा राति खुट्टा असहज हुनु
केही व्यक्तिमा आइरनको कमी भए पनि लक्षणहरु स्पष्ट नहुन सक्छन्।
खतराका संकेत

तलका कुनै लक्षण भएमा तुरुन्त नजिकको अस्पताल जानुहोस्, वा एम्बुलेन्स सेवा उपलब्ध भएमा १०२ मा फोन गर्नुहोस्:
छाती दुख्नु, धेरै सास फेर्न गाह्रो हुनु, वा आराम गर्दा पनि सास फेर्न गाह्रो हुनु
बेहोस हुनु, ढल्नु, अलमलिनु, वा अत्यधिक कमजोरी हुनु
चक्कर वा अस्वस्थतासँगै मुटु धेरै छिटो वा अनियमित रूपमा धड्किनु
बान्तामा रगत आउनु, दिसा कालो वा दिसामा रगत देखिनु, वा धेरै रगत बगिरहनु
धेरै महिनावारी हुनु, प्याड छिट्टै भिजिरहनु, वा रगतका ठूला चोक्टा आउनु
गर्भावस्थामा, बच्चा जन्माएपछि, वा धेरै रगत बगेपछि गम्भीर लक्षण देखिनु
बच्चा धेरै निद्रालु हुनु, छिटो सास फेरिरहेको हुनु, दूध वा खाना कम खानु, वा बच्चाको रंग धेरै फिक्का वा अस्वस्थ देखिनु
यी लक्षण गम्भीर रक्तअल्पता, धेरै रक्तस्राव, वा अन्य गम्भीर समस्याको संकेत हुन सक्छन्। एम्बुलेन्स नेपालका लागि १०२ उपलब्ध छ।
घरमै गर्न सकिने हेरचाह
मासु, माछा, अण्डा, दाल, गेडागुडी, चना, हरियो सागसब्जी, र फलाम/आइरन मिसाइएका खाद्य पदार्थ नियमित खानुहोस्।
फलाम/आइरन शरीरले राम्रोसँग सोस्न मद्दत गर्न कागती, सुन्तला, अम्बा, गोलभेँडा, खुर्सानी, तथा अन्य भिटामिन C युक्त फलफूल र तरकारी खानुहोस्।
आइरन युक्त खाना वा चिकित्सकले दिएको आइरन को औषधिसँगै चिया, कफी, कोक, वा धेरै दूधजन्य पदार्थ नलिनु राम्रो हुन्छ, किनकि यसले फलाम सोसिने मात्रा घटाउन सक्छ।
धेरै महिनावारी, गर्भावस्था, पेटसम्बन्धी समस्या, दिसामा परिवर्तन, वा खानपानको समस्या छ भने स्वास्थ्यकर्मीसँग कुरा गर्नुहोस्।
लक्षण मात्र हेरेर आफैं आइरनको कमी ठान्नु र लामो समयसम्म डाक्टर लाई नदेखाई आइरनको औषधि मात्र खाइरख्नु ठीक हुँदैन। धेरै आइरन पनि शरीरको लागि हानिकारक हुन सक्छ।विशेष गरी बालबालिकामा धेरै आइरन हानिकारक हुन्छ, आइरनको औषधि बच्चाको पहुँचबाट टाढा राख्नुहोस्।
उपचार
उपचारमा आइरनको कमी पूर्ति गर्नुका साथै यसको कारण पत्ता लगाएर उपचार गर्नु आवश्यक हुन्छ।
डाक्टरले सामान्यतया रगतको पूर्ण जाँच र आइरनसम्बन्धी परीक्षण गर्न सक्छन्। आइरन को कमी पुष्टि भएमा आइरन को ट्याब्लेट वा झोल औषधि दिइन सक्छ। उपचार धेरै महिनासम्म चल्न सक्छ र सुधार तथा शरीरमा आइरनको भण्डार भरिएको छ कि छैन हेर्न रगत परीक्षण दोहोर्याउन सकिन्छ।
आइरनको औषधिले कब्जियत, पखाला, वाकवाकी, पेट दुख्ने, छाती पोल्ने, वा दिसा पहिलेभन्दा गाढा हुने हुन सक्छ। साइड इफेक्टले समस्या भए स्वास्थ्यकर्मीलाई भन्नुहोस्; सल्लाहबिना औषधि बन्द नगर्नुहोस्।
ट्याब्लेट सहन नसकेमा, शरीरले फलाम सोस्न नसकेमा, औषधिले काम नगरेमा, वा छिटो सुधार आवश्यक भएमा नसाबाट आइरन दिनुपर्ने हुन सक्छ। धेरै महिनावारी, गर्भावस्थासम्बन्धी समस्या, पेट वा आन्द्राबाट रगत बग्नु, खानपान, वा शरीरले फलाम नसोस्ने समस्या भए त्यसको छुट्टै उपचार पनि आवश्यक पर्न सक्छ।
डाक्टरलाई सोध्न मिल्ने प्रश्नहरू

यो वास्तवमै आइरनको कमीले भएको रक्तअल्पता हो कि अन्य कारण पनि हुन सक्छ?
मेरो शरीरमा आइरनको कमी किन भयो?
धेरै रक्तस्राव, पेट वा आन्द्राबाट रगत बग्ने, सिलिएक रोग (coeliac), संक्रमण, वा अन्य समस्याको जाँच आवश्यक छ?
मेरो लागि कुन आइरनको उपचार उपयुक्त हुन्छ र कति समयसम्म लिनुपर्छ?
रगत परीक्षण कहिले दोहोर्याउनुपर्छ?
औषधिबाट कस्ता साइड इफेक्टहरु हुन सक्छन्, र भएमा के गर्ने?
मैले अहिले खाइरहेको नियमित औषधिले रगत बग्ने वा फलाम सोसिने समस्यामा असर गरेको त छैन?
के मलाई नसाबाट आइरन (iron infusion) दिन आवश्यक छ?
कुन लक्षणहरु देखिएमा म तुरुन्तै अस्पताल जानुपर्छ?
नेपालमा उपचारको बाटो
नेपालमा लक्षण गम्भीर, बढ्दै गएको, चिन्ताजनक वा निको नभएको छ भने नजिकको स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, क्लिनिक वा अस्पतालमा स्वास्थ्यकर्मीसँग सल्लाह लिनुहोस्। अघिल्ला prescription, test report, allergy जानकारी र हाल खाइरहेका औषधि साथमा लैजानुहोस्। खतराका संकेत छन् भने तुरुन्त स्वास्थ्य संस्था वा अस्पताल जानुहोस्।
महत्त्वपूर्ण सूचना
यो जानकारी सामान्य स्वास्थ्य जानकारीका लागि मात्र हो। यसलाई डाक्टरको सल्लाह, जाँच, निदान, उपचार वा आपतकालीन सेवाको विकल्पका रूपमा प्रयोग गर्नु हुँदैन।