REVIEWED
Flu/ Influenza

फ्लु / इन्फ्लुएन्जा (Flu / Influenza)

फ्लु (flu), जसलाई इन्फ्लुएन्जा (Influenza) पनि भनिन्छ, नाक, घाँटी, र फोक्सोमा असर गर्ने भाइरसको संक्रमण हो। यो प्रायः अचानक सुरु हुन्छ र सामान्य यसले सामान्य रुघाखोकीभन्दा बढी अस्वस्थ महसुस पनि गराउन सक्छ।

धेरैजसो व्यक्तिहरुमा यो संक्रमण को लक्षणहरू करिब एक हप्ताभित्र सुधार हुन सुरु हुन्छ। तर साना बालबालिका, वृद्धवृद्धा, गर्भवती व्यक्ति, दीर्घकालीन रोग भएका व्यक्ति, वा प्रतिरक्षा शक्ति कमजोर भएका व्यक्तिमा फ्लुका कारण निमोनियाजस्ता गम्भीर समस्या हुन सक्छन्।

लक्षणहरू

फ्लुका सामान्य लक्षणहरूमा:

अचानक ज्वरो आउनु, शरीर तातो हुनु, चिसो लाग्नु, वा काँप्नु

सुख्खा खोकी लाग्नु

घाँटी दुख्नु

नाकबाट पानी बग्नु वा नाक बन्द हुनु

टाउको दुख्नु

मांसपेशी वा जोर्नी दुख्नु

धेरै थकान वा कमजोरी महसुस हुनु

भोक कम लाग्नु

निद्रा लाग्न गाह्रो हुनु

वाकवाकी लाग्नु, बान्ता हुनु, पखाला हुनु, वा पेट दुख्नु, विशेष गरी बालबालिकामा

फ्लुका लक्षण प्रायः छिट्टै सुरु हुन्छन् र सामान्य रुघाखोकीभन्दा बढी गम्भीर हुन सक्छन्।

खतराका संकेत

Flu/ Influenza - Red flags

तलका कुनै लक्षण भएमा तुरुन्त नजिकको अस्पताल जानुहोस्, वा एम्बुलेन्स सेवा उपलब्ध भएमा १०२ मा फोन गर्नुहोस्:

धेरै सास फेर्न गाह्रो हुनु, सास छिटो चल्नु, वा ओठ निलो देखिनु

छाती दुख्नु, छाती धेरै कस्सिनु, वा खोकीमा रगत आउनु

धेरै निद्रालु हुनु, अलमलिनु, ढल्नु, झट्का आउनु, वा उठाउन गाह्रो हुनु

शरीरमा पानीको गम्भीर कमी हुनु, जस्तै पिसाब धेरै कम हुनु, पानी पिउन नसक्नु, मुख धेरै सुख्खा हुनु, वा धेरै चक्कर लाग्नु

ज्वरोसँगै धेरै टाउको दुख्नु, घाँटी कडा हुनु, rash / दाना आउनु, वा बारम्बार बान्ता हुनु

केही सुधार भएजस्तो भएपछि पनि लक्षण अचानक धेरै बिग्रिनु

बच्चा धेरै लुलो हुनु, असामान्य रूपमा निद्रालु हुनु, दूध वा खाना नखानु, सास फेर्न गाह्रो हुनु, वा पिसाब धेरै कम हुनु

गर्भावस्थामा गम्भीर फ्लुका लक्षण, सास फेर्न गाह्रो, छाती दुख्ने, वा बच्चाको चाल कम भएको महसुस हुनु

घरमै गर्न सकिने हेरचाह

फ्लुका हल्का लक्षण भएमा:

पर्याप्त आराम गर्नुहोस् र पानी वा झोलिलो पदार्थ पिउनुहोस्।

तपाईंका लागि सुरक्षित भएमा ज्वरो र शरीर दुखाइ कम गर्न प्यारासिटामोल वा आइबुप्रोफेन प्रयोग गर्न सकिन्छ। प्याकेटको निर्देशन पालना गर्नुहोस् वा फार्मासिस्टसँग सोध्नुहोस्।

भोक कम भएमा हल्का खाना खानुहोस्, तर पर्याप्त झोल पिउनु अधिक महत्त्वपूर्ण हुन्छ।

ज्वरो हुँदा वा सामान्य काम गर्न नसक्ने गरी अस्वस्थ हुँदा घरमै बस्नुहोस् र अरूसँग नजिकको सम्पर्क कम गर्नुहोस्।

हात नियमित धुनुहोस्, खोकी वा हाछ्युँ गर्दा मुख छोप्नुहोस्, र कप, बोतल, वा चम्चा अरूसँग शेयर नगर्नुहोस।

धूम्रपान र भेपबाट बच्नुहोस्, किनकि यसले साससम्बन्धी लक्षण बढाउन सक्छ।

१६ वर्षभन्दा कम उमेरका बालबालिकालाई एस्पिरिन नदिनुहोस्। फ्लु भाइरसका कारण हुन्छ, त्यसैले एन्टिबायोटिकले फ्लु निको पार्दैन।

उपचार

धेरैजसो फ्लुमा आराम, पर्याप्त तरल पदार्थ, र ज्वरो वा दुखाइ कम गर्ने औषधि मात्र आवश्यक हुन्छ।

ओसेल्टामिभिर (oseltamivir) जस्ता एन्टिभाइरल औषधि केही उच्च जोखिम भएका वा गम्भीर रूपमा बिरामी व्यक्तिलाई आवश्यक पर्न सक्छ। यी औषधि सुरुको समयमा दिँदा बढी प्रभावकारी हुन्छन् र योग्य स्वास्थ्यकर्मीको प्रेस्क्रिप्सन लिएर मात्र यो औसधि प्रयोग गर्नु आवश्यक हुन्छ।

एन्टिबायोटिक फ्लुका लागि प्रयोग हुँदैन। निमोनियाजस्ता अर्को थपिएको ब्याक्टेरियाको संक्रमण (secondary infection) भएको शङ्का भएमा मात्र डाक्टरले एन्टिबायोटिक दिन सक्छन्।

फ्लुको खोपले फ्लु लाग्ने र गम्भीर जटिलताको जोखिम घटाउन मद्दत गर्न सक्छ। खोप उपलब्धता र तपाईंका लागि उपयुक्त छ कि छैन भनेर डाक्टर, क्लिनिक, वा स्थानीय स्वास्थ्य निकायसँग सोध्नुहोस्।

डाक्टरलाई सोध्न मिल्ने प्रश्नहरू

Flu/ Influenza - Questions to ask doctor
  • यो फ्लु, कोभिड-१९, निमोनिया, डेंगु, मलेरिया, वा अन्य संक्रमण हुन सक्छ?
  • के मलाई फ्लुका कारण गम्भीर समस्या हुने जोखिम बढी छ?
  • के मलाई एन्टिभाइरल औषधिको आवश्यकता छ?
  • छाती जाँच, अक्सिजनको मात्राको जाँच, वा छातीको एक्स-रे आवश्यकता छ कि नाई?
  • के मलाई निमोनिया वा थपिएको ब्याक्टेरिया (secondary infection) को संक्रमण भएको हुन सक्छ?
  • ज्वरो र शरीर दुखाइका लागि कुन औषधि प्रयोग गर्न सुरक्षित हुन्छ?
  • म कहिले काम, विद्यालय, वा सामान्य गतिविधिमा फर्कन सक्छु?
  • भविष्यमा फ्लुको खोप लगाउनुपर्छ?
  • कुन खतरा संकेत देखिएमा तुरुन्त अस्पताल जानुपर्छ?

नेपालमा उपचारको बाटो

नेपालमा लक्षण गम्भीर, बढ्दै गएको, चिन्ताजनक वा निको नभएको छ भने नजिकको स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, क्लिनिक वा अस्पतालमा स्वास्थ्यकर्मीसँग सल्लाह लिनुहोस्। अघिल्ला prescription, test report, allergy जानकारी र हाल खाइरहेका औषधि साथमा लैजानुहोस्। खतराका संकेत छन् भने तुरुन्त स्वास्थ्य संस्था वा अस्पताल जानुहोस्।

महत्त्वपूर्ण सूचना

यो जानकारी सामान्य स्वास्थ्य जानकारीका लागि मात्र हो। यसलाई डाक्टरको सल्लाह, जाँच, निदान, उपचार वा आपतकालीन सेवाको विकल्पका रूपमा प्रयोग गर्नु हुँदैन।