REVIEWED
Zika virus

जिका भाइरस (Zika Virus)

जिका भाइरस मुख्यतः संक्रमित Aedes जातको लामखुट्टेको टोकाइबाट सर्ने संक्रमण हो। यही जातको लामखुट्टेले डेंगु र चिकुनगुनिया पनि सार्न सक्छ। जिका भाइरस यौन सम्पर्कबाट पनि सर्न सक्छ र गर्भवती व्यक्तिबाट गर्भमा रहेको बच्चासम्म पुग्न सक्छ।

धेरै मानिसहरुमा जिका भाइरसको संक्रमण हुँदा पनि कुनै लक्षण नदेखिन, वा हल्का लक्षण मात्र देखिन सक्छ। तर गर्भावस्थामा जिका संक्रमण भएमा गर्भमा रहेको बच्चाको मस्तिष्क वा आँखासम्बन्धी गम्भीर जन्मजात समस्या गराउन सक्छ।

लक्षणहरू

Zika virus - Symptoms

संक्रमण भएपछि प्रायः ३ देखि १४ दिनभित्र लक्षण सुरु हुन सक्छन्। लक्षणहरू प्रायः केही दिनदेखि एक हप्तासम्म रहन सक्छन्। सामान्य लक्षणहरूमा:

हल्का ज्वरो

छालामा दाना आउनु

पिप नआउने रातो आँखा

जोर्नीहरु दुख्नु विशेष गरी हात र खुट्टाका

मांसपेशी दुख्नु

टाउको दुख्नु

थकान वा अस्वस्थ महसुस हुनु

जिका भाइरसका लक्षण डेंगु, चिकुनगुनिया, मलेरिया, वा अन्य संक्रमणसँग मिल्न सक्छन्। त्यसैले हालैको यात्रा र लामखुट्टेको टोकाइको इतिहास महत्त्वपूर्ण हुन्छ।

खतराका संकेत

तलका कुनै लक्षण भएमा तुरुन्त स्वास्थ्यकर्मीको सल्लाह लिनुहोस् वा नजिकको अस्पताल जानुहोस्:

धेरै टाउको दुख्नु, अलमलिनु, झट्का आउनु, कमजोरी हुनु, वा हिँड्न गाह्रो हुनु

धेरै पेट दुख्नु, बारम्बार बान्ता हुनु, बेहोस हुनु, वा धेरै चक्कर लाग्नु

नाक वा गिजाबाट रगत आउनु, बान्तामा रगत आउनु, दिसामा रगत देखिनु, वा कालो दिसा हुनु

शरीरमा पानीको गम्भीर कमी हुनु, जस्तै पिसाब धेरै कम हुनु, धेरै तिर्खा लाग्नु, वा असामान्य रूपमा निद्रालु हुनु

सास फेर्न गाह्रो हुनु, छाती दुख्नु, वा धेरै अस्वस्थ महसुस हुनु

गर्भावस्थामा ज्वरो, दाना, वा जिका संक्रमण हुन सक्ने ठाउमा यात्रा वा मान्छे संग सम्पर्क भएको हुनु

यी लक्षण डेंगु, मलेरिया, अन्य गम्भीर संक्रमण, वा जटिलताको संकेत हुन सक्छन्।

घरमै गर्न सकिने हेरचाह

Zika virus - Self-care

आराम गर्नुहोस् र पर्याप्त पानी वा झोलिलो पदार्थ पिउनुहोस्।

लामखुट्टेको टोकाइबाट जोगिने उपाय अपनाउनुहोस् ।

सम्भव भए लामो बाहुलाको कपडा र लामो पाइन्ट लगाउनुहोस्।

प्रभावकारी लामखुट्टे भगाउने पदार्थ प्रयोग गर्नुहोस्।

सम्भव भए झ्यालढोकामा जाली भएको, एयर कन्डिसन भएको, वा झुल प्रयोग गर्न मिल्ने ठाउँमा सुत्नुहोस्।

घर वरिपरि पानी जम्ने भाँडा, टायर, ड्रम, गमला, वा अन्य कन्टेनर खाली गर्नुहोस्, ढाक्नुहोस्, वा नियमित सफा गर्नुहोस्।

सम्भावित संक्रमणपछि, विशेष गरी तपाईं वा तपाईंको श्रीमती गर्भवती हुनुहुन्छ वा गर्भधारणको योजना बनाउँदै हुनुहुन्छ भने, कन्डमको प्रयोग गर्नुहोस् वा यौन सम्पर्कबाट टाढा रहनुहोस्।

डेंगु छैन भनेर स्वास्थ्यकर्मीले पुष्टि नगरेसम्म एस्पिरिन, आइबुप्रोफेन, नेप्रोक्सेन, वा डाइक्लोफेनाक नखानुहोस्। डेंगुमा यी औषधिले रगत बग्ने जोखिम बढाउन सक्छन्।

उपचार

जिका भाइरसका लागि हाल कुनै विशेष भाइरसविरुद्ध औषधि वा खोप उपलब्ध छैन। उपचार मुख्यतः आराम, पर्याप्त तरल पदार्थ, र लक्षण कम गर्ने उपायमा आधारित हुन्छ।

तपाईंका लक्षण, हालैको यात्रा, गर्भावस्थाको अवस्था, र स्थानीय रोगको जोखिमअनुसार डाक्टरले जिका, डेंगु, चिकुनगुनिया, मलेरिया, वा अन्य संक्रमणका लागि परीक्षण गर्न सक्छन्।

तपाईं गर्भवती हुनुहुन्छ, हालै जिका संक्रमणको जोखिम भएको ठाउँमा यात्रा गर्नुभएको छ, वा सम्भावित रूपमा जिका सम्पर्क भएको व्यक्तिसँग यौन सम्पर्क भएको छ भने, व्यक्तिगत सल्लाहका लागि चाँडै डाक्टर वा प्रसूति जाँच केन्द्रमा सम्पर्क गर्नुहोस्।

डाक्टरलाई सोध्न मिल्ने प्रश्नहरू

Zika virus - Questions to ask doctor
  • मेरा लक्षण जिका, डेंगु, चिकुनगुनिया, मलेरिया, वा अन्य संक्रमणका कारण हुन सक्छन्?
  • के मलाई रगत परीक्षण वा अन्य जाँच आवश्यक छ?
  • ज्वरो वा दुखाइका लागि प्यारासिटामोल खान सुरक्षित छ की नाई?
  • के म एस्पिरिन, आइबुप्रोफेन, नेप्रोक्सेन, वा डाइक्लोफेनाकबाट बच्नुपर्छ?
  • के मबाट यौन साथीलाई जिका भाइरस सर्न सक्छ?
  • के मैले कन्डम प्रयोग गर्नुपर्छ वा केही समय यौन सम्पर्कबाट टाढा रहनुपर्छ?
  • म गर्भवती छु वा गर्भधारणको योजना बनाउँदै छु - अहिले मैले के गर्नुपर्छ?
  • मलाई गर्भावस्थामा थप निगरानी वा विशेषज्ञको सल्लाह आवश्यक पर्छ?
  • लामखुट्टेको टोकाइबाट जोगिन मेरो लागि कुन उपाय उपयुक्त छन्?
  • कुन लक्षण देखिएमा तुरुन्त अस्पताल जानुपर्छ?

नेपालमा उपचारको बाटो

नेपालमा लक्षण गम्भीर, बढ्दै गएको, चिन्ताजनक वा निको नभएको छ भने नजिकको स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, क्लिनिक वा अस्पतालमा स्वास्थ्यकर्मीसँग सल्लाह लिनुहोस्। अघिल्ला prescription, test report, allergy जानकारी र हाल खाइरहेका औषधि साथमा लैजानुहोस्। खतराका संकेत छन् भने तुरुन्त स्वास्थ्य संस्था वा अस्पताल जानुहोस्।

महत्त्वपूर्ण सूचना

यो जानकारी सामान्य स्वास्थ्य जानकारीका लागि मात्र हो। यसलाई डाक्टरको सल्लाह, जाँच, निदान, उपचार वा आपतकालीन सेवाको विकल्पका रूपमा प्रयोग गर्नु हुँदैन।