REVIEWED
Tonsillitis

टन्सिलाइटिस (Tonsillitis)

टन्सिलाइटिस भनेको घाँटीको पछाडिपट्टि रहेका दुईवटा टन्सिल ग्रन्थि सुन्निने वा संक्रमण हुने अवस्था हो। यो छोटो समयका लागि हुने तीव्र टन्सिलाइटिस (acute tonsillitis) हुन सक्छ, वा केही व्यक्तिमा पटकपटक दोहोरिन सक्छ।

धेरैजसो अवस्थामा यो भाइरसका कारण हुन्छ र करिब एक हप्ताभित्र आफैं सुधार हुन सक्छ। केही अवस्थामा स्ट्रेपजस्ता ब्याक्टेरियाको संक्रमण (streptococcal infection) हुन सक्छ र स्वास्थ्यकर्मीको जाँच आवश्यक पर्न सक्छ। टन्सिलाइटिस धेरै गम्भीर वा बारम्बार दोहोरिएमा कहिलेकाहीँ विशेषज्ञको सल्लाह वा टन्सिल निकाल्ने शल्यक्रियाबारे विचार गर्न सकिन्छ।

लक्षणहरू

Tonsillitis - Symptoms

सामान्य लक्षणहरूमा:

घाँटी दुख्नु

निल्दा दुख्नु वा निल्न गाह्रो हुनु

टन्सिल रातो हुनु र सुन्निनु

टन्सिलमा सेतो दाग वा पिपहरु देखिनु

ज्वरो आउनु

टाउको दुख्नु

खोकी लाग्नु

कान दुख्नु

थकान महसुस हुनु

घाँटीका ग्रन्थी सुन्निनु वा दुख्नु

मुख गन्हाउनु

वाकवाकी लाग्नु वा बान्ता हुनु

यी लक्षण भाइरल फ्लु, घाँटीको दुखाइ, ग्रन्थी ज्वरो (Mononucleosis - Glandular Fever), COVID-19, स्कार्लेट फिभर, वा घाँटी वरिपरि पिप जम्ने समस्या (abscess) सँग पनि मिल्न सक्छन्।

खतराका संकेत

तलको कुनै लक्षण देखिएमा तुरुन्त नजिकको अस्पताल जानुहोस्, वा एम्बुलेन्स सेवा उपलब्ध भएमा १०२ मा फोन गर्नुहोस्:

सास फेर्न गाह्रो हुनु

थुक निल्न नसक्नु वा मुखबाट थुक बगिरहनु

पर्याप्त पानी वा झोल पिउन नसक्नु

घाँटीको दुखाइ छिट्टै धेरै बढ्दै जानु

मुख वा घाँटीभित्र धेरै सुन्निनु

मुख खोल्न गाह्रो हुनु

बोल्न गाह्रो हुनु, बोली अस्पष्ट वा मुखमा केही राखेर बोलेको जस्तो आवाज आउनु

घाँटी धेरै सुन्निनु, घाँटी कडा हुनु, वा घाँटी सामान्य रूपमा चलाउन नसक्नु

धेरै निद्रालु हुनु, अलमलिनु, ढल्नु, वा शरीरमा पानीको कमीका लक्षण देखिनु

ओठ निलो हुनु, धेरै फिक्का देखिनु, वा गम्भीर रूपमा सास फेर्न गाह्रो हुनु

यी लक्षण गम्भीर संक्रमण, शरीरमा पानीको कमी, वा टन्सिल वरिपरि पिप जमेको (abscess ) अवस्था अर्थात् quinsy- क्विन्सीको संकेत हुन सक्छन्।

घरमै गर्न सकिने हेरचाह

लक्षणहरु हल्का भएमा:

पर्याप्त आराम गर्नुहोस् र झोलिलो पदार्थ पिउनुहोस्।

चिसो पेय, आइस गोला, वा नरम खाना खाँदा घाँटीलाई आराम मिल्न सक्छ।

तपाईं वा बच्चाका लागि सुरक्षित भएमा प्यारासिटामोल वा आइबुप्रोफेन प्रयोग गर्न सकिन्छ। प्याकेटको निर्देशन पालना गर्नुहोस् वा स्वस्थाकर्मीसँग सोध्नुहोस्।

सुरक्षित रूपमा कुल्ला गर्न सक्ने वयस्क वा ठूला बालबालिकाले मनतातो नुनपानीले कुल्ला गर्न सक्छन्। साना बालबालिकालाई नुनपानीले कुल्ला नगराउनुहोस्।

धूम्रपान, धुवाँ, वा घाँटी पोल्ने खाना वा पेयपदार्थ बाट बच्नुहोस्।

हात राम्ररी धुनुहोस्, खोकी वा हाछ्युँ आउँदा मुख छोप्नुहोस्, र कप वा चम्चा अरूसँग शेयर नगर्नुहोस।

१६ वर्षभन्दा कम उमेरका बालबालिकालाई एस्पिरिन (Aspirin)नदिनुहोस्।

उपचार

Tonsillitis - Treatment

धेरैजसो टन्सिलाइटिस भाइरसका कारण हुन्छ र एन्टिबायोटिकबिना आफैं सुधार हुन्छ। भाइरसका कारण भएको टन्सिलाइटिसमा एन्टिबायोटिकले कुनै फाइदा गर्दैन।

लक्षण, घाँटीको जाँच, र कहिलेकाहीँ FeverPAIN वा Centor जस्ता चिकित्सकीय मूल्याङ्कनका आधारमा ब्याक्टेरियाको संक्रमण हुने सम्भावना जाचिन्छ र बढी देखिएमा डाक्टरले एन्टिबायोटिकबारे विचार गर्न सक्छन्। लक्षण धेरै गम्भीर, असामान्य, वा सुधार नभएमा घाँटीको स्वाब वा रगत परीक्षण आवश्यक पर्न सक्छ।

टन्सिलाइटिस धेरै गम्भीर रूपमा बारम्बार दोहोरिएमा नाक-कान-घाँटी विशेषज्ञले टन्सिल निकाल्ने शल्यक्रियाबारे कुरा गर्न सक्छन्, तर धेरैजसो व्यक्तिलाई यसको आवश्यकता पर्दैन।

पुरानो बाँकी रहेको एन्टिबायोटिकहरु नखानुहोस् र अरूलाई दिइएको एन्टिबायोटिक शेयर नगर्नुहोस्।

डाक्टरलाई सोध्न मिल्ने प्रश्नहरू

  • यो भाइरसका कारण भएको हो कि ब्याक्टेरियाका कारण?
  • मलाई वा मेरो बच्चालाई एन्टिबायोटिक आवश्यक पर्छ कि पर्दैन?
  • Glandular fever, Scarlet फिभर, वा अन्य संक्रमणको सम्भावना कत्तिको छ?
  • घाँटीको स्वाब वा रगत परीक्षण आवश्यक पर्छ कि पर्दैन?
  • दुखाइ र ज्वरोका लागि कुन औषधि सुरक्षित हुन्छ?
  • शरीरमा पानीको कमी हुन नदिन के गर्न सकिन्छ?
  • कुन कुन लक्षण देखिएमा तुरुन्तै अस्पताल जानुपर्छ?
  • लक्षण कति दिनमा सुधार हुनुपर्छ?
  • पटकपटक टन्सिलाइटिस भए नाक-कान-घाँटी विशेषज्ञलाई देखाउनुपर्छ?

नेपालमा उपचारको बाटो

नेपालमा लक्षण गम्भीर, बढ्दै गएको, चिन्ताजनक वा निको नभएको छ भने नजिकको स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, क्लिनिक वा अस्पतालमा स्वास्थ्यकर्मीसँग सल्लाह लिनुहोस्। अघिल्ला prescription, test report, allergy जानकारी र हाल खाइरहेका औषधि साथमा लैजानुहोस्। खतराका संकेत छन् भने तुरुन्त स्वास्थ्य संस्था वा अस्पताल जानुहोस्।

महत्त्वपूर्ण सूचना

यो जानकारी सामान्य स्वास्थ्य जानकारीका लागि मात्र हो। यसलाई डाक्टरको सल्लाह, जाँच, निदान, उपचार वा आपतकालीन सेवाको विकल्पका रूपमा प्रयोग गर्नु हुँदैन।